प्रतिश जिसी रिजर्भमा परेपछि आमा प्रतिभाको स्टाटास- सबै खेलाडीहरु हाम्रै छोरा हुन्, देशले जित्नुपर्छ – Nepal Press

प्रतिश जिसी रिजर्भमा परेपछि आमा प्रतिभाको स्टाटास- सबै खेलाडीहरु हाम्रै छोरा हुन्, देशले जित्नुपर्छ

आमाछोराबीच ८ वर्षपछि भयो अमेरिकामा भेट

काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकप खेल्ने नेपालको स्क्वाडमा स्पीनर सन्दीप लामिछाने टीममा जोडिएसँगै युवा फास्ट बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको छ । क्यानले वेस्टइन्डिजमा हुने दुई खेलका लागी लेगस्पीनर सन्दीपलाई टीममा समावेश गरेको हो ।

सन्दीपको आगमनसँगै टीममा रहेका लेफ्टआर्म मिडियम फास्ट बलर प्रतिशलाई प्रतिस्थापन गरिएको हो । नेपाली टिममा फास्ट बलर धेरै भएकाले उनलाई बाहिर राखिएको क्यानले जनाएको छ । यद्यपि, उनी विश्वकपभरि टिमसँगै रहने छन् र अभ्यासमा संलग्न हुनेछन् ।

प्रतिशकी आमा अमेरिकामा नै बस्दै आएकी छन् । विश्वकप खेल्न अमेरिका जानासाथ उनी आमालाई भेट्न पुगेका थिए । आमाछोराको ८ वर्षपछि भेट भएको बताइएको छ । आमा अमेरिकामा भए पनि प्रतिश सानैदेखि नेपालमै थिए ।

प्रतिश टीमबाट बाहिरिएको समाचारपछि आमा प्रतिभा जिसीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो भावना पोखेकी छन् । उनले सन्दीपको आगमनमा खुशी व्यक्त गर्दै छोराले भन्दा देशले जित्नुपर्ने उल्लेख गरेकी छन् । यद्यपि, स्पिनरका लागि किन फास्ट बलरलाई प्रतिस्थापन गरियो भन्ने उनको प्रश्न छ ।

हेर्नुस प्रतिभाको भावुक स्टाटसः

जुन ११ फ्लोरिडा मा हुनगइरहेको नेपाल र श्रीलंकाको गेम हेर्न जाँदै थिएँ । यो न्युज आउँदा म प्लेनमा थिएँ । ल्यान्ड भइसकेपछि मोबाइल पनि हेर्न पाएको थिइनँ । राति निकै ढिला भइसकेको थियो । ढिला समाचार सुनेँ । बाबुले पनि केही भनेको थिएन ।

एकैचोटि समाचार सुन्दा मन भारी भयो । फेरि सन्दीप टिममा हुँदा मन खुसी भयो । मैले नबुझेको पनि हुनसक्छु, मनमा लागेको कुरा चाहीँ स्पिनर बलरको रिप्लेसमेन्टमा लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छ ? त्यो चाहीँ बुझ्न सकिन । तर यहाँ मेरो छोरो तेरो छोरो भन्दा पनि सबै खेलाडीहरु हाम्रै छोरा हुन् । यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ । जुन खेलाडी टिममा भए पनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्छ ।

हामी देशले जितेको हेर्न चाहन्छौँ । सन्दिप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु । नेपाल क्रिकेट टिम एउटा परिवार हो । यहाँ दाइ र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो । सन्दिपलाई शुभकामना ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर