लडरहिलमा विश्वकपको पहिलो म्याच नेपाल र श्रीलंकाबीच हुँदै, कस्तो छ पीच ? – Nepal Press

लडरहिलमा विश्वकपको पहिलो म्याच नेपाल र श्रीलंकाबीच हुँदै, कस्तो छ पीच ?

टस जित्ने टिमले पहिले ब्याटिङ रोज्दा फाइदा, बिस्तारै विकेट स्लो हुँदै जाने दाबी

काठमाडौं । पहिलो पटक टी-२० विश्वकप आयोजना गरिरहेको अमेरिकामा वास्तविक क्रिकेट रङ्गशाला २ वटा मात्र छन् । बाँकी रङ्गशालाहरू विश्वकपलाई लक्षित गर्दै हतारमा ‘कन्भर्ट’ गरिएका हुन् ।

दुई वटामध्ये एउटा क्रिकेट रङ्गशाला हो लडरहिल । यहाँ विश्वकपको पहिलो म्याच भोलि नेपाल र श्रीलंकाले खेल्दैछन् । यो रङ्गशालामा यसअघि नै थुप्रै एकदिवसीय म्याचहरू भइसकेको हुँदा पीच र कन्डिसन रहस्यमय छैन ।

फ्लोरिडामा अवस्थित रंगशालाको पुरा नाम हो- द सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियम । ब्रोवार्ड काउन्टीको स्वामित्वमा रहेको रङ्गशाला सन् २००७ को नोभेम्बर ९ देखि सञ्चालनमा आएको हो । ७ करोड अमेरिकी डलरको लागतमा निर्मित रङ्गशालामा दर्शकका लागि १० हजार कुर्सीहरू छन् । थप १० हजार दर्शक अटाउन सक्ने क्षमता छ । कुल मिलाएर यो २० हजार दर्शक क्षमताको रङ्गशाला हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) अन्तर्राष्ट्रिय म्याच आयोजना गर्नका लागि अनुमति दिएको अमेरिकाको पहिलो रङ्गशाला यही नै हो । साथै, अमेरिकाले एकदिवसीय म्याचमा पहिलो जित पनि यही रङ्गशालामा प्राप्त गरेको थियो ।

लडरहिलमा पहिलो पटक सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलाइएको थियो । न्यूजिल्यान्ड र श्रीलंकाले यहाँ दुई म्याचको टी–२० सिरिज खेलेका थिए । अमेरिकाले सन् २०१९ को सेप्टेम्बरमा पहिलो एकदिवसीय सिरिज पपुवा न्यूगिनीविरुद्ध यहीँ खेलेको थियो । त्यसयता यहाँ थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट आयोजना भइरहेका छन् ।

लडरहिल भएको पहिलो अन्तर्राष्ट्रिय म्याचमा श्रीलका र न्यूजिल्यान्डले १–१ को बराबरी खेलेका थिए । दुवै खेलहरू लो स्कोरिङ थिए । उक्त सिरिजमा बनेको उच्च स्कोर भनेको पहिलो म्याचमा न्यूजिल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेट क्षतिमा १२० रन जोडेको थियो ।

सन् २०१२ मा न्यूजिल्यान्ड र वेस्ट इन्डिजले यहाँ २ टी–२० म्याच खेले । दुवै खेल वेस्ट इन्डिजले जितेको थियो । सन् २०१६ मा वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिगका केही म्याच यो रङ्गशालामा भएका थिए ।

सन् २०१६ मा भारतले वेस्ट इन्डिजविरुद्ध यो रङ्गशालामा पहिलो पटक टी–२० म्याच खेलेको थियो । दुईवटा म्याचको सिरिज भए पनि दोस्रो म्याच वर्षाका कारण रद्द भयो । पहिलो म्याचमा वेस्ट इन्डिजका एभिन लेभिस र भारतका केएल राहुलले विष्फोटक शतक हानेका थिए । एभिन लेविसले ४९ बलमा शतक हानेपछि वेस्ट इन्डिजले २४५ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा भारत मात्र एक रनले चुक्यो । राहुलले ४६ बलमा शतक हानेका थिए । उनले सो म्याचमा बनाएको ११० रन यो रङ्गशालामा बनेको सर्वाधिक व्यक्तिगत स्कोरका रूपमा रहेको छ ।

सन् २०१९ मा यहाँ वेस्ट इन्डिज र बङ्गलादेशले दुई टी-२० म्याच खेलेका थिए । यस्तै, सन् २०१९ मा भारतले वेस्ट इन्डिजविरुद्ध खेलेका ३ म्याचको सिरिजमध्ये २ म्याच लडरहिलमा भएको थियो । पहिलो म्याचमा भारतले पहिले बलिङ गर्दै वेस्ट इन्डिजलाई ९५ रनमा रोकेको थियो । दोस्रो इनिङमा भारतले पनि रनका लागि संघर्ष गर्नुपर्‍यो ४ विकेटले भारत विजयी बनेको थियो । दोस्रोमा भारतले डक वर्थ लुइसका आधारमा २२ रनले खेल जित्यो ।

सन् २०२९ मा अमेरिकाले यहाँ ट्राइ नेसन सिरिज आयोजना गर्‍यो जुन आइसीसी लिग २ को हिस्स थियो । अमेरिकामा भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच यही हो । यस शृङ्खलामा अमेरिकाले एक दिवसीय म्याचको पहिलो जित जित चाखेको थियो ।

अहिलेसम्म यो स्टेडियममा १३ वटा टी २० म्याच खेलाइएका छन् भने पहिलो ब्याटिङ गर्ने टीमले ९ खेलमा जित हासिल गरेका छन् । यहाँ पहिलो इनिङमा बनिरहेको औसत स्कोर १७७ हो । सर्वाधिक टीम स्कोर २४५÷६ (वेस्ट इन्डिज) हो भने सर्वाधिक न्यून स्कोर ८१÷१० (न्यूजिल्यान्ड) रहेको छ ।

लडरहिलको पीचले बलिङ र ब्याटिङ दुवै टीमलाई मौका दिन्छ । तर, सुरुमा ब्याटिङ गर्ने टीमलाई फाइदा छ । सुरुका केही ओभरमा राम्रो रन बन्न सक्छ । पावर प्लेमा ब्याट्सम्यानहरूले त्यसको फाइदा उठाउन सक्छन् । बिस्तारै पीच स्लो हुँदै जान्छ र बलरहरू हाबी हुन थाल्छन् । फास्ट बलरभन्दा स्पिनरहरुलाई यहाँ विकेटको मौका छ । फास्ट बलरले पनि बलिङमा विविधता अपनाएमा विकेट लिन सक्छन् ।

अहिले विश्वकपमा प्राय टस जित्ने टिमहरूले पहिले बलिङ रोजिरहेका छन् । हरेक पीचहरु ब्याटिङका लागि कठिन देखिएकाले दोस्रो इनिङमा लक्ष्य पछ्याउने टिमलाई फाइदा छ । तर, लडरहिलमा भने यो रणनीति गलत साबित हुन सक्छ । यहाँ टस जित्ने टिमले पहिले ब्याटिङ रोजेमा सुरुवाती ओभरमा राम्रो रन बटुल्न सक्नेछन् ।

नेपाल र श्रीलंका दुवै टीमका लागि भोलिको म्याच एकदमै महत्वपूर्ण छ । श्रीलंकाले अघिल्ला दुई म्याच हारिसकेकाले ‘गर या मर’ को स्थितिमा हुनेछ । नेपालले पनि पहिलो म्याचमा नेदरल्यान्ड्सविरुद्ध पराजय भोगेकाले जित्नै पर्ने दबाब छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर