कृष्ण चौहान, जसले रुपन्देहीमा चलाए विशेष रक्तदान अभियान – Nepal Press

कृष्ण चौहान, जसले रुपन्देहीमा चलाए विशेष रक्तदान अभियान

रुपन्देही । डेढ दशक लामो अध्यापन पेसा छाडेर स्वयंसेवी रक्तदान अभियानमा छन् बुटवलका कृष्ण चौहान । हालसम्म ८२ पटक नियमित रगत दिएर ४४ वर्षीय चौहान यस क्षेत्रमा सबैभन्दा धेरै रक्तदान गर्ने सूचीमा छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज नेपालको महासचिव तथा रूपन्देहीको अध्यक्ष रहेका चौहानको दैनिकी अहिले सर्वसाधारणको रगत व्यवस्थापनमै बित्छ ।

‘पहिले कलेजमा अध्यापन गर्थें, २०८० साउनबाट पढाउन छोडें, रक्तदान अभियानमा हिँडेपछि अरु काम सबै छाडेको हुँ’, चौहानले भने ।

हरेक बिहान स्वयंसेवी रक्तदाता समाजको म्यासेन्जर ग्रुपमा रगत चाहिएको म्यासेज हेर्ने र सोधीखोजी गर्ने अनि व्यवस्थापन गर्ने उनको दैनिकी हो । उनीसँग स्वयंसेवी रक्तदाताहरूको नाम र नम्बरसहितको लामो सूची छ, जसलाई रक्तदाताको रक्त समूहअनुसार अलग अलग राखेका छन् ।

आकस्मिक रूपमा कसैलाई रगत चाहियो भने मोबाइलमा रक्तदाताहरूको नाम हेर्छन् र कुन समूहको रगत चाहिएको हो, त्यही समूह भएको व्यक्तिलाई सम्पर्क गरेर बोलाउन गर्छन् चौहान । उनको संस्थामा ६ सयभन्दा बढी आजीवन सदस्य छन् । तीमध्येबाट पनि उनले रक्तदान गराउँछन् ।

‘रगत नपाए बुटवल जानू’ अभियान शुरू गरेका चौहानले मागअनुसार चितवन, पोखरा, काठमाडौं र दाङसम्म रगत पठाउने गर्छन् । उनी आत्मसन्तुष्टिका लागि समाजसेवामा लागेको र रक्तदानलाई अभियानकै रूपमा अघि बढाएको बताउँछन् ।

रक्तदानले मानिसलाई निरोगीसमेत बनाउने सन्देश सबैमाझ पुर्‍याउनुपर्ने उनी बताउँछन् । चौहानले रक्तदाताले निःशुल्क दिएको रगत बिरामीले पनि निःशुल्क पाउनुपर्छ भन्ने अभियान पनि सँगसँगै चलाएका छन् ।

अभियानबाट केही उपलब्धि पाइए पनि त्यो पूर्ण नभएको उनको भनाइ छ । अहिले लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई र केही पालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेका छन् । यसलाई सबै क्षेत्रमा कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ ।

देशभर ४४ वटा शाखा रहेको स्वंयसेवी रक्तदाता समाजको केन्द्रीय महासचिव रहेका चौहान भन्छन्, ‘पहाडमा उत्साह बढ्दै गएको छ । रक्तदान गर्नेको समूह नै तयार भएको छ, तर तराईमा कम छ । जनचेतनाको कमीले तराईमा अझै रक्तदान गर्ने कम छन् ।’

उनले विसं २०६१ पुस २३ गतेदेखि अहिलेसम्म हरेक ९०-९० दिनमा नियमित रक्तदान गर्दै आएका छन् । २०६९ सम्म २५ पटक नियमित रक्तदान गरेपछि चौहानलाई सम्मान गरिएको थियो । त्यसैबाट प्रभावित भएर २०६९ चैत १७ गते रुपन्देहीमा रक्तदाता स्वयंसेवी समाजको जिल्ला शाखा गठन गरेको उनी बताउँछन् ।

संस्थाले हरेक महिनाको अन्तिम शनिबार नियमित रक्तदान गर्दै आएका छन् । ‘अहिलेसम्म १३६ पटक नियमित रक्तदान भयो । त्यसैगरी आकस्मिक, विशेष अभियान चलिरहेको छ, रगत अभावमा कसैलाई समस्या नहोस् भन्ने अभियानको मुख्य लक्ष्य हो’, उनले भने ।

नेपाल रेडक्रसबाट गोल्ड मेडल सम्मान पाएका उनले संस्थालाई पनि हरेक वर्ष धेरै रक्तदान गर्ने संस्थामा अग्रणी बनाएका छन् । रक्तदान गर्नेको संख्या बढे पनि अझै रगत सहजा नभएको उनी बताउँछन् । जन्मदिन, विवाह उत्सवमा पहिले पनि रक्तदान गर्ने बानी रहे पनि अहिले यो संस्थागत बन्दै गएको उनको बुझाइ छ ।

‘रक्तसञ्चार नीति २०७१ पछि एकाधिकार हटेको छ । ठूला अस्पतालमा ब्लड बैंक जरुरी छ । अब रक्तसञ्चार केन्द्रमा मात्रै केन्द्रीकृत गर्नु हुँदैन’, चौहानले भने, ‘विदेशमा छिटो रगत दिने गरिन्छ, हामीकहाँ समस्या छ, प्रदेश सरकारले शुल्कमा केही सहुलियत दिएको छ । रुपन्देहीमा लुम्बिनी र भीमका बिरामीलाई निःशुल्क छ, १५ पालिकाले पनि निःशुल्क बनाउने योजना अघि सारेका छन् । यस्तो कार्य सबै क्षेत्रमा लागू गरिनुपर्छ ।’

उनले नेपाल रेडक्रस सोसाइटीबाट स्वर्ण पदक ५० र रजत पदक २५ पटक पाएका छन् । यसैगरी चौहानले बुटवल जेसीजबाट उत्कृष्ट युवा पुरस्कार, रोटरी तथा रोट्रयाक्ट क्लबबाट कोभिड हिरा र विश्व हिन्दू महासंघलगायतबाट गरी १०० भन्दा बढी पुरस्कार र सम्मान पाएका छन् ।

त्यस्तै एसियन थाई फुड्सले ‘तपाईंलाई केको भोक छ’ भन्ने विद्याअन्तर्गत १ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरेको छ । १७ वर्ष पूरा भएकालाई रक्तदानमा प्रेरित गरेको तथा भारतको दिल्ली र गोरखपुरसम्म समेत नेपाली बिरामीका लागि रगत व्यवस्थापन गरेको उनी सुनाउँछन् ।

रगत संकलन र व्यवस्थापनमा क्रियाशील उनी अहिले रुपन्देहीमा ब्लड बैंक स्थापना गर्न लागिपरेका छन् । विशेष रक्तदान अभियानको परिणामस्वरुप अहिले रूपन्देहीमा सामाजिक संघसंस्थाहरूले आफ्नो स्थापना, व्यक्ति विशेषले जन्मदिन, शुभविवाह उत्सवमा रक्तदान कार्यक्रम राख्ने लहर बढेको चौहानकाे दाबी छ ।

चौहानले यस क्षेत्रमा रक्तदान कल्चर विकास नै भएको बताउँछन् । ‘रक्तदान कल्चर विकास हुँदा रगत संकलन प्रभावकारी भएको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर