एमाले महिला भेलाको संकल्प- पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्यमा पूर्ण रूपमा लाग्छौँ – Nepal Press

एमाले महिला भेलाको संकल्प- पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्यमा पूर्ण रूपमा लाग्छौँ

चुनावी गठबन्धनको नाममा कानूनी छिद्रको दुरुपयोग गरेर महिलाको सहभागिता घटाइएको भन्दै खोजे सुनिश्चितता

काठमाडौं । नेकपा एमालेको दुई दिने ‘राष्ट्रिय महिला भेला’ सकिएको छ। कमलादीस्थित प्रज्ञा भवनमा भएको भेलाले २१ बुँदे प्रस्तावहरू पारित गरेको छ।

भेलाले पार्टी, जनसंगठन, समुदाय र राज्यका निकायमा पुगेका महिलाको गुणात्मक सहभागिता सुनिश्चित गर्न दक्षता अभिवृद्धिको विशेष कार्यक्रम सञ्चालन गर्न पार्टीलाई आग्रह गरेको छ।

चुनावी गठबन्धनको नाममा कानूनी छिद्रको दुरुपयोग गर्दै महिलाका लागि निर्धारण गरिएको प्रतिनिधित्व समेत घटाउने काम भइरहेको भेलाले निष्कर्ष निकालेको छ।

प्रस्तावमा भनिएको छ, ‘यस किसिमको छिद्रहरू समेत हटाउँदै अव बन्ने प्रक्रियामा रहेको निर्वाचन सम्बन्धी कानूनलाई संविधानको धारा ३८ को मर्म अनुसार सबै तह र पदमा समानुपातिक उम्मेदवारीका आधारमा प्रतिस्पर्धा गर्न पाउने प्रावधानको सुनिश्चितता हुनुपर्दछ । उक्त प्रावधानसहितको कानून बनाउने प्रक्रियामा नेकपा एमालेले अग्रणी भूमिका निर्वाह गर्न यो भेला हार्दिक आग्रह गर्दछ ।’

भेलाले महिला सहभागितालाई गुणात्मक र अर्थपूर्ण बनाउँदै तहगत रूपमा प्रमुख पदको जिम्मेवारी निर्वाह गर्ने क्षमता विकासको लागि महिला केन्द्रित उचित अवसर, सहज वातावरण र थप लगानीको आवश्यकता महसुस गरेको निष्कर्ष निकालेको छ।

प्रस्तावमा भनिएको छ, ‘हामी सबै संगठनभित्र नेतृत्व विकासका विशेष कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध छौं । साथै पार्टी नेतृत्व र निर्वाचन समेतलाई ध्यानमा राखी नेतृत्व विकास र निरन्तरताको साथै प्रतिस्पर्धी क्षमता विकासका लागि यो भेला पार्टी नेतृत्व र राज्यको समेत ध्यानाकर्षण गर्दछ ।’

भेलाले एमालेले अगाडि सारेको पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्यमा पूर्णरुपमा ऐक्यबद्धता जनाउँदै आ(आफ्नो ठाउँबाट सकेको योगदान गर्न प्रतिबद्धता जनाएको छ ।

भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब ५ हजारको जमघट थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर