कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष पक्राउ प्रकरण: वर्तमान अध्यक्ष जेलमा, ८५२ बचतकर्ताको उजुरी – Nepal Press

कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष पक्राउ प्रकरण: वर्तमान अध्यक्ष जेलमा, ८५२ बचतकर्ताको उजुरी

काठमाडौं । काठमाडौंको मीनभवनस्थित कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन् । एक महिनाअघि झन्डै २ अर्ब बिगो दाबी गरेर उक्त सहकारीका पूर्व र वर्तमान पदाधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

त्यतिबेला वर्तमान अध्यक्ष हिमालयविक्रम मल्लमात्र पक्राउ परेका थिए । अदालतले मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । प्रतिवादी बनाइएकामध्ये अन्य ११ जना भने फरार थिए । प्रहरीले पूर्वअध्यक्ष लामासहितलाई खोजी गरिरहेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई चितवनबाट पक्राउ गरेको छ । एसएसपी सानुराम भट्टराईले विशेष सूचनाका आधारमा लामालाई चितवनबाट नियन्त्रणमा लिइएको बताए । लामा हाल पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष हुन् । कान्तिपुरपछि उनी पशुपति पुगेका थिए । यी दुवै सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ ।

बचतकर्ताको अर्बौं रकम फिर्ता नभएपछि उनीहरु प्रहरीकहाँ पुगेका थिए । सहकारीमा जम्मा भएको रकम अपचलन गरी बचतकर्ताको रकम हिनामिना गरेको आरोप उनीहरुमाथि छ। कान्तिपुर सहकारी प्रकरणमा मात्र हालसम्म ८५२ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् ।

‘मुद्दा दायर गर्दा २ अर्ब बिगो भए पनि पछि उजुरी गर्नेको संख्या बढेको छ । त्यसैले बिगोको रकम बढ्न सक्छ’, बानेश्वर प्रहरी वृत्तका एक अधिकारीले भने ।

लामालाई अदालत पेश गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *