देशप्रतिको नकारात्मक भाष्य चिर्न जरुरी छ : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

देशप्रतिको नकारात्मक भाष्य चिर्न जरुरी छ : प्रधानमन्त्री (भिडिओ)

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशप्रतिको नकारात्मक भाष्यले नेपालीहरूको देश भाव मर्दै गएको बताएका छन् ।

विराटनगरमा श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै दाहालले देशमा सम्भावना नै सम्भावना भए पनि यहाँ केही छैन भन्ने भाष्य सृजना भएकाले यसलाई चिर्नुपर्ने बताए । यहाँ बसेर के हुन्छ ? भनेर राज्यलाई गाली गर्ने चरित्र बदल्न जरुरी भएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले भने, ‘केही समयदेखि देशमा यति राम्रो सम्भावना हुँदा हुँदाहुँदै पनि देशमा केही हुँदैन भनेर नकारात्मक भाष्य सृजना गरिएको छ । यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।’

नेपाललाई प्रकृतिले धेरै थोक दिएको प्रधानमन्त्री दाहालले बताए ।

उनले भने, नेपालमा सम्भावना नै सम्भावना छ । यो सम्भावनाको सन्देश देश भरी फैलाउन जरुरी छ । यहाँ पर्यटन जडीवुटी , ऊर्जा र पर्यावरण र उद्योग धन्दाको सम्भावना छ । प्रधानमन्त्री दाहालले भने,‘यति राम्रो सम्भावना भएको देश हुँदा हुँदै पनि नेपालमा केही हुन सक्दैन भन्ने भाव बनाउन खोजिएको छ यसले राम्रो सन्देश गएको छैन ।’

देश पछाडि नै परेको भए पनि नेपाली गौरवशाली भएको बताए । उनले दृढ इच्छाशक्ति भए देशलाई विकसित देश बनाउन सक्ने दाबी गरे । विकसित देश बनाउन सरकारले लिएको लक्ष्य पूरा गर्न नकारात्मक भाष्य परिवर्तन गर्न जरुरी भएको प्रधानमन्त्रीको भनाइ छ ।

उनले भने, ‘जनतामा आत्मविश्वास बढाउन सके सरकारले लक्ष्य पूरा गर्न सकिन्छ । सरकारी र निजी साझेदारीमा देश अगाडि बढाउन सकिन्छ । यो पटकको बजेट, नीति तथा कार्यक्रमले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिएको छ ।’

रोजगारीको माग र आपूर्तिलाई समायोजन गर्ने गरी सरकार अगाडि बढेको सुनाउँदै उनले विदेशबाट आएका १ लाख जनालाई रोजगारी दिने गरी सरकार लागेको र यो बजेटमै उल्लेख भएको बताए ।

श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्यालले कोशी प्रदेशबाट सुरू भएको श्रमाधान रोजगार मेला अरु सबै प्रदेशमा आयोजना गर्ने जानकारी दिए । श्रमाधान रोजगार मेलाले दिने नतिजा सरकारका लागि महत्वपूर्ण हुने भन्दै उनले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने, विदेशबाट फर्किएका नागरिकहरुलाई स्वदेशमा सीपयुक्त बनाउने माध्यम र सुझावका लागि मेला आयोजना गरिएको बताए ।

सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । हरेक प्रदेशमा दुई/दुई दिन हुने मेला कोशी प्रदेशको विराटनगरमा सुरू भएर जेठ ३० गते बागमतीको ललितपुरमा सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर