जबर्जस्ती भुक्तानीको दबाब दिँदै पातारासीका इन्जिनियरमाथि हातपात, कर्मचारीले ठप्प पारे काम – Nepal Press

जबर्जस्ती भुक्तानीको दबाब दिँदै पातारासीका इन्जिनियरमाथि हातपात, कर्मचारीले ठप्प पारे काम

सुर्खेत । जुम्लाको पातारासी गाउँपालिकाका प्रमुख इन्जिनियर नविन शाहीमाथि स्थानीय एक युवकले कुटपिट गरेका छन् । ६ नम्बर वडामा सडक बनाएको रकम जबर्जस्ती भुक्तानीका लागि दबाब दिँदै शाहीलाई हातपात गरेको भन्दै कर्मचारीहरूले काम ठप्प पारेका छन् ।

गाउँपालिकाका कर्मचारीले सामूहिक विज्ञप्ति निकालेर दोषीमाथि कानूनी तथा न्यायिक उपचार नहुँदासम्म काम नगर्ने अडान राखेका छन् ।

बुधबार गाउँपालिका अध्यक्षको कार्यकक्षमै उर्थुका विष्णु विष्टले अपशब्द प्रयोग गर्दै हातपात गरेको बताइएको छ । विष्टले बेला बेलामा कार्यालयमा आएर कर्मचारीलाई धम्क्याउने गरेको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रावलले बताए ।

विष्टले आफूलाई सडक योजनाको २ लाख जबर्जस्ती भुक्तानीका लागि दबाब दिएको इन्जिनियर शाहीले नेपाल प्रेसलाई जानकारी दिए ।

`वडाले बजेट छुट्याएको रहेछ । प्राविधिकलाई केही जानकारी छैन र सम्झौता पनि छैन् । कहिले कतिबेला काम गरेको केही जानकारी छैन । अन्तिममा आएर मैले यति काम गरेको भन्दै रकम माग्दै आउनु हुन्छ । प्राविधिकले हेर्दा ४०/५० हजारभन्दा बढीको काम देखिन्न । यो भन्दा धेरै बजेट पाउनु हुन्न भन्दा अपशब्द बोल्दै हातपात गर्नुभयो ।`

गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले सामान्य विवादमात्रै भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *