सुदूरपश्चिममा खेलकुदले फड्को मार्दै छ, अब पूर्वाधार निर्माण हुन्छ : उद्योग मन्त्री भण्डारी – Nepal Press

सुदूरपश्चिममा खेलकुदले फड्को मार्दै छ, अब पूर्वाधार निर्माण हुन्छ : उद्योग मन्त्री भण्डारी

कैलाली । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय खेलकुदमा फड्को मारिरहेको बताएका छन् ।

नेपाल मै पहिलो पटक आयोजना गरिएको १७ वर्ष मुनिको रात्रिकालिन क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री भण्डारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुदूरपश्चिम प्रदेशबाट थुप्रै खेलाडीहरू उत्पादन भइरहेको बताएका थिए । मन्त्री भण्डारीले पूर्वाधार नहुँदा खेलाडीहरूलाई समस्या रहेको भन्दै सरकार संरचना निर्माणमा पनि लागिरहेको बताए ।

‘खेल क्षेत्रमा प्रदेशले फड्को मार्दै छ । पूर्वाधार अभाव छ तर पौरखमा सफलता हासिल गरिरहेको देखिन्छ’ उनले भने ‘संरचना निर्माण हुन्छन् । बजेट आएको छ । बजेटले खेलकुदलाई प्राथमिक राखेको छ। ’

नीति तथा कार्यक्रम र बजेटले नेपालमा सम्भावना रहेको विषयहरूलाई उजागर रहेको भन्दै मन्त्री भण्डारीले बिदेसिने युवाहरूको संख्या न्यूनीकरण गर्ने र यहि रोजगारीको अवसर सृजना गर्ने गरि सरकार लागि रहेको बताए ।
मन्त्री भण्डारीलाई आयोजक सहारा नेपाल क्लवले सम्मान स्वरूप ४१ किलोको माला लगाइलिएका थिए ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिम प्रदेशलाई खेलकुदको हब बनाउनु पर्नेमा जोड दिएका थिए ।उनले सुदूरपश्चिम प्रदेशका जय पृथ्वी बहादुर सिंह, बाँकावीर ,दशरथ चन्द लगायत सबैको नामबाट क्रिकेट एकेडेमी सुरु गर्नु पर्ने र क्रिकेटलाई अझै अगाडी बढाउनु पर्ने अवस्था रहेको बताए ।

देश र प्रदेशको नाम पनि क्रिकेटले राखेको भन्दै तीनै तहको सरकारले यस विषयमा चासो राख्न सुझाव दिए । उनले आफूले बिगतका क्रिकेटमा गरेको योगदानका विषयमा पनि चर्चा गरेका थिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा जेठ १६ देखि जेठ २५ गतेसम्म उक्त प्रतियोगिता चल्नेछ । प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहेको प्रतियोगिता संयोजक महेन्द्र सिंह धामीले बताए ।

समाजलाई खेलकुदको माध्यमबाट सकारात्मक बाटोमा डोर्‍याउन र क्रिकेट खेलाडी उत्पादनमा जोड दिन प्रतियोगिता आयोजना गरिएको सहारा नेपालका अध्यक्ष अनन्त बोहराले बताए ।
स्थानीय स्तरमा रहेका युवा खेलाडीलाई उत्पादन गर्दै उनीहरूलाई राष्ट्रिय टिममा जोड्ने अभियानमा लागिरहेको उनले बताए। प्रतियोगिताको विजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *