गृह मन्त्रालयका दुई महाशाखा प्रमुख र दुई महानिर्देशक फेरिए – Nepal Press

गृह मन्त्रालयका दुई महाशाखा प्रमुख र दुई महानिर्देशक फेरिए

काठमाडौं । गृह मन्त्रालयले आफू मातहतका दुई महाशाखा प्रमुख र दुइटा विभागका महानिर्देशक हेरफेर गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा सरुवा भएर आएका सहसचिव डा.भीष्मकुमार भुसाललाई विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएका छन् । भुसाल यसअघि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।

त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव गोगनबहादुर हमाललाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी अध्यागमन कार्यालयबाट मन्त्रालय सरुवा भएर आएका थिए ।

मन्त्रालयले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी तीर्थराज भट्टराईलाई दिएको छ । भट्टराई लामिछाने पहिलो पटक उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारीमा आउँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक थिए ।

भट्टराई त्यहाँ रहँदा राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा मुछिएपछि मोरङका प्रमुख जिल्ला अधिकारी रहँदा भट्टराई अनुसन्धानका लागि गृह मन्त्रालय तानिएका थिए ।

कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी भने सहसचिव जयनारायण आचार्यलाई दिइएको छ । यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक रहेका काशीराज दाहाल अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त थियो । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक महादेव पन्थको प्रदेशमा सरुवा भएपछि महानिर्देशकको पद रिक्च भएको थियो ।

यस्तै सहसचिव सुरेश पन्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय काठमाडौंको प्रमुखको जिम्मेवारी दिइएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको प्रमुखको जिम्मेवारी किरण थापाले पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *