चर्चामा रहेको बजेटको ब्रिफकेस, अर्थमन्त्रीले किन तोडे परम्परा ? – Nepal Press

चर्चामा रहेको बजेटको ब्रिफकेस, अर्थमन्त्रीले किन तोडे परम्परा ?

काठमाडौ । अर्थमन्त्री वर्षमान पुनले लेदरको ब्रिफकेस बोकेर संसदमा बजेट भाषण गर्ने परम्परालाई मंगलबार तोडे । बजेट पढ्नुअघि क्याविनेट छिर्दै गर्दा उनले बोकेको ब्रिफकेसले सबैको ध्यान तान्यो । कतिपयले त सामाजिक सञ्जालमै लेखे- ‘बजेट जस्तो सुकै होस् ब्रिफकेस चाहिँ राम्रो छ ।’

आखिर वर्षौंदेखिको एकैखालको ब्रिफकेसको परम्परा किन फेरियो त भन्ने चासोलाई लिए बुधबार मन्त्रालयमा भएको अन्तरक्रियामा पत्रकारले जिज्ञासा राखे ।

पुनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर नेपालमै बनेको ब्रिफकेस लिएको बताए ।

उनले भने, ‘स्वदेशी वस्तु प्रयोग गरौं र सुरू आफैंले काम गर्ने ठाउँबाट गरौं भनेर हो । सुरूमा त सबै स्वदेशी बनाउन महँगो पर्ला तर त्यसले उत्पादनमा प्रोत्साहन थप्छ ।’

ब्रिफकेसको माथिल्लो भाग अल्लो र तल्लो भाग नेपाली ढाकाबाट बनेको हो । यसको मूल्य २५ सय रूपैयाँ रहेको छ । अर्थमन्त्रीका स्वकीय सचिव जीवनप्रकाश रोक्का मगरले युनिक लेदर ह्याण्डिक्राफ्ट प्रालिको ठमेल पसलबाट खरिद गरेको प्रोपाइटर नवराज अधिकारीले बताए । युनिक लेदर नेपाली उत्पादक कम्पनी हो यसको कारखाना नेपालटारमा छ ।

मन्त्री पुनले सरकारी कार्यालयमा स्वदेशी गलैँचा प्रयोग गर्नुपर्ने विषय बजेटमा उठान गरेका छन् । विभिन्न ठाउँका उत्पादनमा आधारित रहेर आर्थिक करिडोर पनि घोषणा गरेका छन् ।

हुन त यसअघि पनि सरकारले सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोगमा जोड दिएको विषय बजेटमा उठान गरेको थियो । सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका, २०७१ नै जारी गरिएपनि प्रयोगको प्रभावकारिता भने अझै हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर