ट्रोल भएपछि सजनको प्रष्टीकरण- फ्री स्पोन्सर पाएपछि कपाल रोपेको हुँ, श्रीकेशले कपाल पलाउँछ भनेको छुइनँ – Nepal Press

ट्रोल भएपछि सजनको प्रष्टीकरण- फ्री स्पोन्सर पाएपछि कपाल रोपेको हुँ, श्रीकेशले कपाल पलाउँछ भनेको छुइनँ

काठमाडौं । ‘श्रीकेश तेल’ को चर्चा तपाईँहरूले पछिल्ला दिनमा निकै सुन्नुभएको होला । यो नेपाली उत्पादन यति बेला सामाजिक सञ्जालमा ट्रोलको विषय बनिरहेको छ ।

टाउकोमा कपाल उमार्ने र झर्न रोक्ने भनेर प्रचारित गरिएको तेलको विज्ञापन गरिएको थियो । थुप्रै चर्चित सेलिब्रिटीदेखि युट्यूवरसम्मले यो तेलको विज्ञापन गरेका छन् । अहिले उनीहरूमाथि पनि ट्रोल भइरहेको छ ।

श्रीकेश तेलको विज्ञापन गर्नेमध्येका एक हुने कमेडियन सजन श्रेष्ठ । उनले युट्युबमा चलाउने आफ्नो कार्यक्रममा यो तेललाई मुख्य स्पोन्सर राखेका छन् । कपाल झर्न रोक्ने तेल भन्दै प्रचार गरिरहेका सजन आफैँ कपाल प्रत्यारोपण गर्न धाइरहेको खुलासा भएपछि ट्रोलको पात्र बनेका हुन् ।

सजनले आफ्नो अफिसियल युट्युब च्यानलमा ‘द लास्ट क्वेसन’ नामक कार्यक्रम चलाउँदै आएका छन् । आफ्नो शोमा उनी सेलिब्रिटीहरु बोलाएर लामो कुराकानी गर्छन् । केही दिन अघिबाट मात्रै श्री केशले सजनको कार्यक्रममा स्पोन्सर सुरु गरेको थियो ।

सजन आफैले दुई हप्ता अगाडी अनएयर भएको कार्यक्रममा श्रीकेश तेलले आफूलाई स्पोन्सर गरेको बताएका थिए । हुन त अरू थुप्रै कार्यक्रमका होस्टले श्रीकेशको विज्ञापन लिएर प्रचार गरिरहेका छन् । तर विज्ञापन गर्ने व्यक्ति आफैँ कपाल रोप्न जानुले उनी खिसिट्यूरीका पात्र बने । श्री केशको ‘झुटो विज्ञापन’ गरेको भन्दै धेरैले उनको आलोचना गरिरहेका छन् ।

सजन यसबारे मिडियामा बोल्न खासै उत्साहित छैनन् । तथापि उनले आफूले कपाल प्रत्यारोपण गराएको स्वीकार गरे । सजनका अनुसार श्रीकेशको विज्ञापन आउनुअघि नै उनले हेयर ट्रान्सप्लान्ट गराएका हुन् ।

‘खै, के बोल्नु र ? श्री केशको विज्ञापन मेरोमा २, ३ हप्ता अगाडी आएको हो । जबकि मैले हेयर ट्रान्सप्लान्ट त्यो भन्दा अगाडी नै गरेको हुँ,’ उनी भन्छन्, ‘अझ ट्रान्सप्लान्ट त १, २ महिना अगाडि नै गर्ने कुरा थियो तर मेरो मुभीको काम भएकाले गर्न सम्भव भएन । ट्रान्सप्लान्ट गर्नुअघि अरू प्रक्रिया पनि गर्नुपर्ने रहेछ । त्यसैले काम सकेरै गरौँ भनेर हो ।’

श्रीकेशले कपाल उमार्ने भनेर सुने पनि ७, ८ महिना लाग्ने भएकाले आफूले नपर्खेको उनले बताए ।

उनी भन्छन्, ‘त्यत्रो पर्खिने धैर्यता भएन । श्रीकेशको स्पोन्सर आउनुअघि ‘हेल्दी च्वाइस’ बाट स्पोन्सर आएको थियो । त्यसैले मैले गएर कपाल रोपेँ । त्यसमा मेरो के गल्ती भयो र रु’ उनले थपे ।

सजनसँग गरिएको थप प्रश्नोत्तर:

तपाईँको टाउकोमा कहिल्यै कपाल नआउने भएर हो कि श्रीकेशको नतिजा पर्खन नसक्ने भएर ट्रान्सप्लान्ट गर्नुभएको हो त ?

खासमा मेरो टाउकोको अगाडीको भागमा कपाल छैन । यो मेरो वंशाणुगत हो । तेलको रियाक्सन ढिलो आउने भन्ने थियो । मलाई यता ‘हेल्दी च्वाइस’ बाट व्यक्तिगत स्पोन्सर आयो, त्यसैले गएर कपाल रोपेँ । ‘हेल्दी च्वाइस’ सँग स्पोन्सर लिँदा गरेको कागज नै छ मसँग । त्यहाँ हेर्दा पनि थाहा भइहाल्छ मैले कहिले कपाल रोपेको हो भनेर । भिडियो ढिलो हालेकोले पछि गरेजस्तो देखियो ।

श्रीकेश तेलले कपाल उमार्छ भन्नेमा तपाई चाहिँ कत्तिको विश्वास गर्नुहुन्छ ?

हेर्नुस्, यसबारे म केही भन्न सक्दिनँ । मेरो श्रीमतीले पनि श्री केश प्रयोग गरिरहेको छ । यो तेल प्रयोग गरेपछि कपाल झर्न केही कम भयो भन्ने उनको भनाइ छ । कपाल झर्न कम हुन्छ भन्ने चाहिँ अरूको मुखबाट पनि सुनेको छु तर कपाल पुरै आउँछ भन्नेबारे मैले सुनेको छैन र थाहा पनि भएन । स्पोन्सर आउने कुरा भयो । म पनि ओके भए । पैसा आउने स्पोन्सर भएपछि कसले लिँदैन र ?

भनेपछि पैसा आउने भयो भने नपाई त्यो प्रोडक्ट्सबारे केही जानकारी राख्नुहुन्न ?

त्यस्तो हैन । श्री केश तेलको त्यसै पनि चौतर्फी चर्चा थियो । विवादकै कुरा गर्नुहुन्छ भने पनि मैले स्पोन्सर लिनुअघिदेखि नै केही यस्ता विवादित कुराहरू चलिरहेका थिए । मैले त अस्ति भर्खर त स्पोन्सर लिएको हो । मेरो श्रीमती र वरिपरिको साथी सर्कलबाट पनि कपाल झर्न चाहिँ रोक्दो रहेछ है भन्ने खालको प्रतिक्रिया सुनेकाले राम्रै रहेछ भनेर स्पोन्सर ओके भएको हो ।

आफूले त कपाल रोपेर आउनु भयो । अब आउने कार्यक्रमहरूमा श्रीकेशले कपाल उमार्छ भन्नुहुन्छ कि हुँदैन त ?

मैले अहिलेसम्म मेरो कुनै पनि कार्यक्रममा यसले कपाल उमार्छ, यो लगाउनुहोस् भनेर भनेको छैन । त्यो मेरो प्याटर्न नै होइन । म मेरो कार्यक्रमको स्पोन्सर यो हो भनेपछि आफ्नै कुरातर्फ लाग्छु । अरूहरूले पहिलेदेखि विज्ञापन गरिरहनु भएको छ । यो लगाउँदा कपाल आउँछ भनिराख्नु भएको छ । त्यसैले यो प्रश्न बरु मलाई भन्दा उहाँहरूलाई एकचोटि सोध्नुहोस् न ।

आफू बेलाबेला कन्ट्रोभर्सीमा पर्नुको कारण के जस्तो लाग्छ ?

यसपालि मैले कपाल रोपेँ, त्यहीँ कारण पर्याप्त भयो मलाई पोइन्ट गर्नलाई । जबकि यो मैले श्रीकेशको स्पोन्सर आउनु अघि नै गरेको हो । अगाडि पुरै चिल्लो भएकाले कपाल रोपेको थिएँ, अन्तिममा कपाल रोप्नु ठूलै गल्ती गरेजस्तो भयो । मलाई त घरीघरी स्पोन्सर नआएका कारण वा रिस निकाल्न कसैले श्रीकेशलाई बारम्बार गलत देखाउन पछि परेजस्तो लाग्छ । होइन भने, यत्रो मिडियाबाजी किन गर्नुपर्‍यो ? अफिस त्यहीँ नजिकै छ, मान्छे जतिखेरै त्यहीँ हुन्छन्, साच्चि कै फ्रड भए पुलिस कम्प्लेन गरेर समात्न गए भई गयो त ।

कन्ट्रोभर्सी आएपछि श्रीकेश तेल उद्योगीसँग कुरा भयो कि भएन ?

हिजो भएको थियो । उहाँले के भएको यस्तो भन्दै हुनुहुन्थ्यो । मैले यस्तो हल्ला चलिरहन्छ, बोल्नु भन्दा नबोल्नु बेस भनेँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर