‘शुद्धीकरण अभियान’को राजनीतिक अचानोमा परेको मेरो २७ वर्षे पत्रकारिता – Nepal Press

‘शुद्धीकरण अभियान’को राजनीतिक अचानोमा परेको मेरो २७ वर्षे पत्रकारिता

हरेक व्यक्तिले समाजमा आफूलाई स्थापित गर्दा र पहिचान बनाइरहँदा पृष्ठभूमिमा ऊ के काम गर्थ्यो र समाज विकास र रुपान्तरणमा के भूमिका निर्वाह गरेको थियो भन्ने कुरा ठूलो महत्वपूर्ण हुँदोरहेछ । उसले जीविकोपार्जन गर्न अपनाउने पेसा, व्यवसायले उसको भविष्यको लागि पृष्ठभूमि तयार गर्दोरहेछ । हो, यही सिलसिलामा म २०५३ सालतिरको कुरा सम्झन्छु, जुन समयमा व्यवस्थापन संकायको स्नातक तह अध्ययन गरिरहेकी थिएँ । म एक किसानकी छोरी, अहिले जस्तो तत्कालीन समयमा पढाइको सवालमा छोरीलाई भन्दा पनि छोरालाई बढी प्राथमिकता दिइन्थ्यो । बुवाआमाको अब बिबाह गर्नुपर्छ भन्ने सल्लाह थियो । मैले पढाइ नसकी विवाहको कुरा नगर्न बुवाआमासँग आग्रह गरें ।

उहाँहरुले सबै छोराछोरीलाई उत्तिकै लगानी गर्नुपर्ने र आर्थिक अवस्था सामान्य भएकोले स्नातकोत्तर तहको पढाइको लागि घर बाहिर पढाउन थप लगानी गर्न गाह्रो हुने भएपछि म पेसाको खोजीमा भौतारिँदै थिएँ । त्यही समयमा हाम्रो छिमेकी दाइले दमकमा भर्खरै शुरु गरेको कम्प्युटर प्रशिक्षणका लागि आवश्यक पर्ने शुल्क कम लिएर सस्तो सिकाइदिने बचन दिएपछि मैले कम्प्युटरको आधारभूत सीप सिकें । उक्त कम्प्युटर इन्स्टिच्युटमा सीप सिक्दैगर्दा म तत्कालीन समयमा दमकबाट निस्कने जनज्योति साप्ताहिकमा केही समाचार लेख्न सिक्दै थिएँ । पत्रिकाका सम्पादक दाइ गञ्जबहादुर दहालले यदि मैले उहाँको प्रेसमा कम्प्युटरको काम गरिदिए कम्प्युटर ल्याउने प्रस्ताव गर्नुभयो । उहाँको प्रस्तावलाई मैले खुशीसाथ स्वीकार गर्दै काम गर्ने अवसरका रुपमा लिएँ र दमकमा पहिलो कम्प्युटर प्रेस २०५४ सालमा स्थापना भयो । त्यसपछि मैले समाचार लेखन सँगसँगै जनज्योति साप्ताहिकको कम्प्युटर अपरेटरको रुपमा काम गर्न थालें । केही समयपश्चात मेरा पत्रकारका गुरु गञ्जबहादुर दहालले मलाई कम्प्युटर अपरेटरमात्रै नभएर समाचार संकलन र सम्पादन गर्न सिकाउँदै सम्पादनको जिम्मेवारी निर्वाह गर्ने अवसर दिनुभयो ।

पत्रकारिता क्षेत्रमा प्राप्त अवसरलाई उपयोग गर्दै म अघि बढें । मलाई यो पेसामा लाग्न प्रेरित गर्ने दाइ गञ्जबहादुर दहालप्रति म हार्दिक कृतज्ञता ज्ञापन गर्छु । त्यस्तैगरी मेरा अर्का प्रेरक व्यक्तित्व स्व. मदन ढकाललाई श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु, जसले मलाई पत्रकारिता क्षेत्रमा लाग्न प्रेरणा दिनुभयो । बिर्तामोडबाट प्रकाशन हुने पूर्वाञ्चल दैनिकमा २०५५ सालदेखि नै मेरा फिचर लेखहरु प्रकाशन हुँदै आएको छ । त्यसताका उहाँहरुले मलाई यस क्षेत्रमा प्रवेश गर्न, टिकिरहन आँट, हौसला र मार्गदर्शन प्रदान गर्नुहुन्थ्यो । त्यस समयमा थुप्रै अग्रज व्यक्तित्वहरुको साथ, सहयोग, प्रेरणा र हौसला मलाई थियो ।

जुन समयमा म पत्रकारितामा काम गरिरहेकी थिएँ, त्यस समयमा यस क्षेत्रमा महिलाहरुको उपस्थिति अत्यन्तै न्यून थियो । झापामा पत्रकारिता क्षेत्रमा क्रियाशील महिला पत्रकारहरुको संख्या तुलनात्मक रुपमा निक्कै न्यून थियो । हाम्रा अग्रज महिला पत्रकारहरु र हामी औंलामा गन्न सकिने थियौं । अहिलेको जस्तो प्रशस्त सञ्चारमाध्यम र सञ्चार संस्थाहरु त्यसबेला थिएनन्, विद्युतीय सञ्चारमाध्यमको झापामा सुरुवात भएको थिएन । यातायातका साधन र प्रविधिमा समेत अहिलेको जस्तो सहज पहुँच र सुविधा थिएन । सञ्चार क्षेत्रमा समेत महिलामैत्री वातावरण थिएन । राज्यले सञ्चार संस्था र सञ्चारकर्मीलाई अहिलेको जस्तो सुविधा पनि दिँदैनथ्यो ।

पत्रकारितालाई अघि बढाउने क्रममा २०६२ सालमा सम्पन्न नेपाल पत्रकार महासंघ झापाको सातौं जिल्ला अधिवेशनबाट कृष्ण हुमागाईंको नेतृत्वमा मोहनकाजी सचिव र तारामणि सापकोटा कोषाध्यक्ष रहेको जिल्ला कार्यसमितिमा म सदस्यमा निर्विरोध निर्वाचित भएँ ।

यसको अतिरिक्त तत्कालीन समयमा व्यवस्थापन संकायको स्नातक तह उत्तीर्ण गरिसकेको मेरा लागि पेसाका अन्य महत्वपूर्ण अवसर पनि थिए, तर पनि पत्रकारितालाई मूल पेसा बनाएर समाज रुपान्तरणमा आफ्नो योगदानलाई सक्रिय बनाउने सोच मैले राखें र पेशागत जीवन प्रवेशको पूर्वार्द्धको सम्पूर्ण समय पत्रकारितामा खर्चिएँ । परिणामस्वरुप २०५६ सालमा दमकबाट निस्कने जनज्योति साप्ताहिकको सहसम्पादकको जिम्मेवारी प्राप्त गरें । सोही समयमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरबाट फिचर लेखहरु प्रकाशन हुन्थे । मैले लेखेर पठाएका अधिकांंश फिचरहरुले उचित स्थान पाउँथे ।

उक्त फिचरको विषयवस्तुलाई समाचार वा रेडियो सामग्री बनाउन राष्ट्रियस्तरका पत्रकारहरु झापासम्म आइपुग्थे । मैले लेखेका फिचरहरुलाई विशेष स्थान दिँदै राष्ट्रिय स्तरका पत्रिकाहरु नेपाल समाचारपत्र, हिमालय टाइम्स जस्ता पत्रिकाले क्षेत्रीय सञ्चार स्रोत केन्द्रमा छापिएका फिचरहरु साभार गरेर छाप्थे । रेडियो सामग्री बनाउन रेडियो नेपालमा कार्यरत पत्रकारहरु क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरको सम्पर्कमार्फत मेरो सम्पर्कमा आउँथे । अहिले जस्तो व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गर्ने मोबाइल थिएन । उनीहरु झापामा आएर रेडियो सामग्री उत्पादन गरेर फर्कन्थे । कान्तिपुरको ‘साप्ताहिक’ भन्ने म्यागेजिन निस्कन्थ्यो र त्यसमा मेरा लेख र फिचर छापिन्थे । समाचार र सामग्री पठाउन अहिले जस्तो मोबाइल र ई-मेल पनि थिएन, त्यस समयमा हातले लेखेर फ्याक्स पठाउनु पर्थ्यो । वरिष्ठ पत्रकार बबिता बस्नेत सञ्चारिका समूहको सचिव भएको बेला म झापाबाट फिचर रिर्पोटिङ गर्थे ।

पत्रकारितालाई अघि बढाउँदै मैले स्नातकोत्तर तह पनि सकेकी थिएँ । व्यवस्थापन संकायको स्नातकोत्तर तह, उसबेलाको समयमा, त्यसमा पनि महिला, प्रविधि पनि जानेको मेरा लागि अरु पनि अवसर थिए होलान्, तर अरुभन्दा फरक र विशिष्ट पेसा जस्तो लाग्थ्यो मलाई पत्रकारिता । धेरै अग्रज पत्रकारिता सँगसँगै शिक्षण पेसामा क्रियाशील हुनुहुथ्यो । जसले गर्दा मलाई पनि अन्य पेसासँगै पत्रकारिता गर्न सकिन्छ भन्ने हिम्मत आएको थियो ।

जीवनका हरेक उतारचढाव सँगसँगै २०५७ सालमा स्नातकोत्तर तह अध्ययन सक्दैगर्दा मेरो विवाह भयो । विवाहपश्चात पनि मैले पत्रकारितालाई निरन्तरता दिएँ । पत्रकारितालाई अघि बढाउने क्रममा २०६२ सालमा सम्पन्न नेपाल पत्रकार महासंघ झापाको सातौं जिल्ला अधिवेशनबाट कृष्ण हुमागाईंको नेतृत्वमा मोहनकाजी सचिव र तारामणि सापकोटा कोषाध्यक्ष रहेको जिल्ला कार्यसमितिमा म सदस्यमा निर्विरोध निर्वाचित भएँ । त्यसताका कृष्ण हुमागाईंसँगै मोहन काजी र तारामणि सापकोटा तीनै जना महासंघको झापा जिल्ला अध्यक्ष भइसक्नु भयो ।

म जस्ता कैयौं पत्रकार, जसले इतिहासमा नेपाल पत्रकार महासंघको स्थापना, सञ्चालन र विकासमा महत्वपूर्ण वा अतुलनीय योगदान गरेका छन्, धेरै अग्रजलाई शुद्धीकरणका नाममा सदस्यता निष्क्रिय गर्ने दुस्प्रयास नेपाल पत्रकार महासंघले गरिरहेको छ ।

समयक्रम सँगसँगै मानिसले योग्यता र क्षमताअनुसार अवसरको खोजी गर्नु उसको मानवीय चरित्र हो । यही कुरा ममा पनि लागू हुन्छ । त्यसबेलाको पढेको बुहारी सानो नानी छोडेर कमाउन भनी घर बाहिर जान्छे, तर न समयमा घर आउँछे न त राम्रो कमाइ नै हुन्थ्यो । मलाई परिवारिक, सामाजिक र आर्थिक दबाब थेग्न निक्कै सकस थियो । योग्यता र क्षमताअनुसारको पारिश्रमिक पत्रकारिता पेसाबाट पाउन नसक्ने भएपछि वैकल्पिक पेसा रोज्न बाध्य थिएँ । त्यसैले पत्रकारिता सँगसँगै अन्य पेसा पनि गर्नुपर्छ भन्ने अठोट गरें । अरु अग्रजहरु पनि पेसा सँगसँगै पत्रकारिता गर्नुहुन्थ्यो । त्यो वेला मैले पनि सोहीअनुसार आफ्ना गतिविधि अघि बढाएँ ।

समयक्रमसँगै दिनहरु अघि बढ्दै गए । योग्यता र क्षमता राम्रो भए पनि पत्रकारिताका अवसर र सुविधाबाट महिला र बच्चाको आमा भएकै कारण वञ्चित हुनपर्दाको पीडाले मलाई पोलिरहन्थ्यो । अवसरको लागि आरक्षणको व्यवस्था त्यसताका लागू थिएन । नेतृत्वमा महिलाको पहुँच पुर्‍याउन अहिले पनि यो क्षेत्र त्यति उदार छैन । त्यसैले महिलाहरुको अवसर, वृत्ति विकास र अस्तित्व रक्षाको लागि एउटा छुट्टै संस्थाको स्थापना गर्ने परिकल्पना र अठोट गरेर साथीहरुसँग सल्लाह गरें । उहाँहरुकै सल्लाहमा त्यसताका पत्रकारितामा सक्रिय झापाली महिला पत्रकारहरुलाई संगठित गर्ने र उनीहरुको क्षमता अभिवृद्धि गर्दै पेसाप्रति उत्साहित बनाउन महिलाहरु मात्रैको नेतृत्वमा २०६९ सालमा ‘नारी सञ्चार गृह’ संस्था स्थापना गर्‍यौं ।

यस संस्थाले अहिले ४४ लाख हाराहारीको अक्षयकोषको व्यवस्था गरेको छ । संस्थाले प्रत्येक २-२ वर्षमा वितरण गर्नेगरी मोफसलमै सबैभन्दा बढी राशी १ लाख १ हजार १११ रुपैयाँको अग्रज महिला पत्रकारिता पुरस्कार र २५ हजार राशीको उदीयमान पत्रकारिता पुरस्कारसमेत स्थापना गरेको छ । यसले पत्रकारिताको इतिहासमा एउटा नौलो आयाम कायम गर्नुका साथै महिलाहरुले चाहे भने गर्न सक्छन् भन्ने उदाहरणसमेत पेश गरेको छ । हामी यसै संस्थामार्फत पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा अहिले पनि निरन्तर लागिरहेका छौं । मैले लेखेका थुप्रै लेख र समाचार स्थानीय तथा राष्ट्रियस्तरका पत्रपत्रिकामा अहिले पनि छापिरहेका छन् ।

अहिले नेपाल पत्रकार महासंघले चलाएको अभियानमा शुद्धीकरणको सूचीमा मेरो नाम देख्दा अत्यन्तै दुःख लागेको छ । एक वर्ष भएको छैन, झापाको पत्रकार महासंघका अध्यक्षलगायतको समितिले मलाई अग्रज र सक्रिय पत्रकार भनेर १ लाख रुपैयाँ राशीको पुरस्कारको हकदार बनाएको । त्यसको खुशी बाँड्न नपाउँदै यसरी निर्णय गरेको देख्दा अत्यन्तै दुःख पनि लागेको छ । म त एउटा पात्रमात्र हुँ । म जस्ता कैयौं पत्रकार, जसले इतिहासमा नेपाल पत्रकार महासंघको स्थापना, सञ्चालन र विकासमा महत्वपूर्ण वा अतुलनीय योगदान गरेका छन्, धेरै अग्रजलाई शुद्धीकरणका नाममा सदस्यता निष्क्रिय गर्ने दुस्प्रयास नेपाल पत्रकार महासंघले गरिरहेको छ ।

विश्वव्यापी महामारी कोभिड १९ र विश्व अर्थतन्त्रमा आएको संकट र उतारचढावका कारण संकटमा परेको पत्रकारिता पेसाको सुरक्षा गर्न र कोभिडको कारणले पत्रकारिता छोड्न बाध्य भएका पत्रकारहरुलाई पेसामा पुनःस्थापना गराउन महासंघले के भूमिका निर्वाह गर्‍यो ? सक्रिय बनाउन कति योगदान गर्‍यो ?

म आफू निर्वाचित भएको २०६२ साल वैशाख ७ गतेको सातौं जिल्ला कार्यसमितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष उहाँहरु तीनैजना नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष हुनुहुन्छ । सोही कार्यसमितिको म र हामीभन्दा अघि नै महासंघको अध्यक्ष र पदाधिकारी रही नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रज, समकालीन मित्रहरु र मूल पेसा पत्रकारिता गरेका अधिकांश सशक्त पत्रकारहरुलाई शुद्धीकरणका नाममा पत्रकार महासंघले गरेको व्यवहार खेदपूर्ण र पूर्वाग्रही छ । अरुको पेसा नै परिवर्तन गरिदिएर र नेतृत्वलाई गलत सूचना प्रवाह गरेर महासंघको शुद्धीकरण अभियन्ताहरुले जुन हर्कत गरेका छन्, त्यो खेदपूर्ण छ । शिक्षकको गर्वबाट जन्मिएको पत्रकार महासंघ अहिले वयस्क सन्तानले अभिभावकलाई वृद्धाश्रममा पुर्‍याए झैं गरिरहेको छ ।

महासंघलाई मेरो प्रश्न

१) लामो समय पत्रकारितामा योगदान गरेका र आफ्नो जीवनको ऊर्जाशील समय यस क्षेत्रमा लगानी गरेर यही पेसाको मर्यादा र सुरक्षामा लागिपर्ने सदस्यको सदस्यता खारेजी कति सान्दर्भिक छ ?

२) पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन के के भूमिका निर्वाह गर्‍यो, यसको अक्षरसः पालना र कार्यान्वयन भएको छ वा छैन, कति मूल्याङ्कन गरेको छ ?

३) विश्वव्यापी महामारी कोभिड १९ र विश्व अर्थतन्त्रमा आएको संकट र उतारचढावका कारण संकटमा परेको पत्रकारिता पेसाको सुरक्षा गर्न र कोभिडको कारणले पत्रकारिता छोड्न बाध्य भएका पत्रकारहरुलाई पेसामा पुनःस्थापना गराउन महासंघले के भूमिका निर्वाह गर्‍यो ? सक्रिय बनाउन कति योगदान गर्‍यो ?

४) पत्रकारिताको बहस अब सक्रियता र पूर्णकालीनभन्दा पनि गुणस्तरीय र विश्वसनीय पत्रकारितामा हुनुपर्छ कि पर्दैन ?

५) के देशभर रहेका पत्रकार महासंघका सबै सदस्यहरुले पत्रकारिताबाट मात्र जीविकोपार्जन सम्भव छ ?

६) पत्रकारको योग्यता र क्षमताअनुसारको पारिश्रमिक राजधानी र मोफसलका सञ्चार संस्था वा माध्यमहरुले दिन सक्छन् ?

८) पूर्णकालीन पत्रकारिताका नाममा पत्रकारलाई भ्रष्टाचारी र दुई नम्बरी गर्न नेतृत्वले नै उत्साहित त गरेको हैन ?

यी र यस्ता कैयौं विषयमा नेपाल पत्रकार महासंघ अझ बढी स्पष्ट र व्यवहारिक हुनु जरुरी छ । पत्रकारिता समाज रुपान्तरणको एक सशक्त औजार हो । वर्तमान समयमा समाजले गुणस्तरीय पत्रकारिता खोजिरहेको छ । व्यवसायिकता र आचारसंहिता मापनमा हाम्रो पत्रकारिताको स्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कस्तो छ ? यसतर्फको बहस र समीक्षामा नेतृत्वले बढी ध्यान दिन ढिलो भइसक्यो । गुणस्तरीय पत्रकारिताकै लागि होला महासंघको पोखरा भेलाले ‘शुद्धीकरण’ अभियान सञ्चालन गर्ने निर्णय गरेको ।

के हो महासंघको शुद्धीकरण अभियान ?

लामो समयसम्म निष्क्रिय रहेका र निश्चित मापदण्डभित्र नपरेका व्यक्तिहरुको सदस्यता नवीकरण नगर्ने नेपाल पत्रकार महासंघको यो कदम स्वागतयोग्य नै छ । किनकि यसले पत्रकारिता क्षेत्रलाई निष्क्रिय बनाउनुको साथै ख्यातिमा समेत समस्या भएको भन्ने यस क्षेत्रका नेतृत्वकर्ताहरुको भनाइ छ, तर सक्रियता र निष्क्रियताको स्पष्ट मापदण्ड नभएकाले देशभर जिल्ला नेतृत्वले पक्षपाती ढङ्गले विभिन्न दृष्टिमा आफूसँग मत नमिल्ने पत्रकारलाई पाखा लगाउने एउटा सशक्त औजारको रुपमा शुद्धीकरण अभियानलाई प्रयोग गरेका छन् । यो निक्कै खेदपूर्ण कार्य हो ।

अहिले कति सञ्चार संस्थाहरुले पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराएका छन् भन्ने तथ्याङ्क महासंघसँग छ ? उचित पारिश्रमिक नदिने कति वटा सञ्चार संस्थालाई कारबाही गर्न महासंघले पहल गर्‍यो ? अन्त कतै केही नगर्ने व्यक्तिमात्र नेपाल पत्रकार महासंघको सदस्य बन्ने भन्ने निर्णय व्यवहारिक हुँदैन ।

महासंघले अभियान चलाउन प्रयोग गरेको शब्द ‘शुद्धीकरण’ को अर्थ नेपाली शब्दकोशअनुसार ‘निर्मल बनाउने, पवित्र बनाउने वा चोखो बनाउने कार्य’ भन्ने बुझिन्छ । यसको अर्थ अहिलेसम्म नेपाल पत्रकार महासंघले सदस्यता दिएका र शुद्धीकरणका सूचीमा परेका सबै पत्रकारहरु फोहोरी, अपवित्र थिए ? इतिहासमा नेपाल पत्रकार महासंघको स्थापना, सञ्चालन र विकासमा महत्वपूर्ण योगदान गरेका व्यक्तिहरु, जसले आफ्नो जीवनको उर्बर समय, श्रम र सीप यसै क्षेत्रमा खर्च गर्‍यो र वर्तमानमा विविध कारणले ऊ अन्य सामान्य पेसाका अतिरिक्त पत्रकारिता पनि गर्दैछ वा केही समय निष्क्रिय भएको छ, यस्ता अग्रज र योगदानकर्ताहरुलाई तपाईंहरु भएकै कारण यो पेसा फोहोरी भयो, अशुद्ध भयो भन्नु कति न्यायसंगत छ ? यो शब्द प्रयोगप्रति मेरो कडा आपत्ति छ । यसको विकल्पमा ‘सदस्यता अद्यावधिक’ वा यस्तै कुनै शब्द प्रयोग गर्दा राम्रो हुने सुझावसमेत दिन चाहन्छु ।

हो, विगतको नेतृत्वले केही स्वार्थरहित व्यक्तिहरु, जसले कलम पनि चलाउन जान्दैनन्, अहिलेसम्म कुनै दिन समाचार लेखेको, सम्पादन गरेको वा वाचन गरेको छैन, राजनैतिक दलको नेतृत्वमा रहेको छ, व्यापार व्यवसायमात्रै गर्छ भने स्वाभाविक रुपमा त्यस्ता व्यक्तिलाई केबल भोटको लागि मात्र सदस्यता दिएर त्रुटि गरेको छ । यसलाई सच्याउनु जरुरी थियो र छ, तर विगतमा घरपरिवार, आम्दानी केही नभनी यो क्षेत्रमा योगदान गरेका योगदानकर्ताहरुलाई गलत तरिकाले बुझ्ने, व्याख्या गर्ने र सक्रियता वा निष्क्रियताको नाममा एउटै श्रेणीमा राखेर गलत तरिकाले परिभाषित गर्ने र एउटै प्रकृतिका फरक फरक संस्थामा काम गर्ने दुई सदस्यलाई आफ्नो तरिकाले व्याख्या गरेर कसैलाई काखा र कसैलाई पाखा गरेर निर्णय गर्ने विभेदकारी दृष्टिकोण सच्याउन आवश्यक छ ।

गुणस्तरीय पत्रकारिताको लागि परिभाषा बदलौं

नेपाल पत्रकार महासंघले अब गुणस्तरीय पत्रकारिताको लागि यसको परिभाषा बदल्न आवश्यक छ । आसन र भाषणले मात्र राशन पाइँदैन । अरुले गरेको भाषणको पछि पछि कुद्ने र पर्चाकारिता गर्नेमात्र पत्रकार हो भन्ने पत्रकारिताको अवधारणा र परिभाषा पुरानो भइसक्यो । अहिले कति सञ्चार संस्थाहरुले पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराएका छन् भन्ने तथ्याङ्क महासंघसँग छ ? उचित पारिश्रमिक नदिने कति वटा सञ्चार संस्थालाई कारबाही गर्न महासंघले पहल गर्‍यो ? अन्त कतै केही नगर्ने व्यक्तिमात्र नेपाल पत्रकार महासंघको सदस्य बन्ने भन्ने निर्णय व्यवहारिक हुँदैन । विशुद्ध पत्रकारिताले आफ्नो र परिवारको जीविकोपार्जन हुने अवस्था नेपालमा बनिसकेको छैन । परिणामस्वरुप पत्रकारिता र अर्थतन्त्रको विकासमा समेत यसले नकारात्मक अवस्था सिर्जना गर्छ ।

पत्रकारको भेषमा नेता, व्यापारी र कर्मचारीसँग मिलेर कमाउ धन्दामा लाग्ने र उनीहरुका गलत कर्मको ढाकछोप गर्ने, सञ्चारमाध्यमको दुरुपयोग गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने महासंघले शुद्धीकरण अभियानको नाउँमा श्रमजीवी पत्रकारलाई सके पेसाबाटै विस्थापित गर्ने र नसके त्यही दिशामा लाग्ने अवस्था बनाइदिन लागेको त होइन ? प्रश्न अनुत्तरित छ ।

त्यसैले अब समयक्रम सँगसँगै गुणस्तरीय पत्रकारिताको लागि यसको परिभाषा नै बदल्न आवश्यक छ । पत्रकारिता पेसा र क्षेत्रलाई आवश्यक पर्ने समयबाहेक अन्य समय अन्यत्र श्रम र सीप लगानी गरेर इमानदार र कर्तव्यनिष्ठ भएर गरिखान नेपाल पत्रकार महासंघले कसैलाई बाधा हाल्न वा रोक्न पाउँदैन । यो अधिकार महासंघलाई छैन पनि । पत्रकारको भेषमा नेता, व्यापारी र कर्मचारीसँग मिलेर कमाउ धन्दामा लाग्ने र उनीहरुका गलत कर्मको ढाकछोप गर्ने, सञ्चारमाध्यमको दुुरुपयोग गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने महासंघले शुद्धीकरण अभियानको नाउँमा श्रमजीवी पत्रकारलाई सके पेसाबाटै विस्थापित गर्ने र नसके त्यही दिशामा लाग्ने अवस्था बनाइदिन लागेको त होइन ? प्रश्न अनुत्तरित छ ।

अन्त्यमा, मैले त्यसवेला अँगालेको पेसा र प्राप्त गरेको जिम्मेवारीका कारण आज म समाजमा सावित्रा दहाल भएर चिनिन पाएकी छु, पत्रकारिताको क्षेत्रबाट आफ्नो पहिचान बनाएकी छु । म मेरो लेखन कर्मको जहिल्यै पनि सम्मान गर्छु । मलाई यस पेसामा लाग्न प्रेरणा, हौसला, मार्गदर्शन, साथ र सहयोग गर्ने सबैप्रति सदैव ऋणी रहनेछु र अग्रजहरुले देखाउनु भएको बाटोबाट कत्ति पनि विचलित नभई आगामी दिनमा पनि पेसाको मर्यादा कायम गरी निष्ठाको पत्रकारिता गर्ने प्रण गर्छु ।

जीवनमा कोरिएका कति विम्बहरु बादल जस्तै हुँदारहेछन् । हरेकको दृष्टिकोणमा फरक स्वरुप हुन्छ । जसरी बादलले आफैंलाई आफ्नो हरक्षण परिवर्तन हुँदा हुने नयाँ नयाँ स्वरुपमा कुनै पश्चाताप वा खुशी हुँदैन, त्यो उसको नियति हो भन्ने उसलाई थाहा छ । हो, हामीले पनि आफू बाँचेको जिन्दगी र यसले भोगेको परिवर्तनप्रति पश्चाताप वा घमण्ड गर्नुको कुनै तुक छैन । सपनाको सार परिवर्तन हुँदै जान्छ, वस सही समायोजन गर्नुको केही विकल्प छैन । समयले सबै कुराको मूल्याङ्कन गर्ने नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *