सगरमाथा प्रथम आरोही दलका एक्ला जीवित ‘कान्छा शेर्पा’ का ७ सेक्रेट्स – Nepal Press
सन्दर्भः सगरमाथा दिवस

सगरमाथा प्रथम आरोही दलका एक्ला जीवित ‘कान्छा शेर्पा’ का ७ सेक्रेट्स

काठमाडौं । सन् १९५३ को आजकै दिनमा सगरमाथा शिखरमा प्रथमपटक मानव पाइला परेको थियो । नेपालका तेन्जिङ नोर्गे र न्यूजिल्याण्डका एडमण्ड हिलारी सन १९५३ मे २९ मा बिहान साढे ११ बजे सगरमाथा चुचुरोमा पुगेर १५ मिनेट रहेका थिए । त्यो आरोहण दलमा साउथ कोलसम्म भारी बोकेर पुगेका आरोही थिए कान्छा शेर्पा (९१) । शेर्पा नसकेर सगरमाथाको साउथ कोलभन्दा माथि गएका होइनन्, उनको काम नै त्यतिसम्म मात्रै थियो । उनै कान्छा शेर्पाको जीवनका सात रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ । सन् २०२१ मा प्रकाशनमा आएको प्याट्रिसिया मुनले लेखेको तथा जेन्नी लेले सम्पादन गरेको कान्छा शेर्पाको आधिकारिक जीवनी ‘टफ एण्ड चियरफुल’ मा आधारित भएर यो सामग्री तयार पारिएको हो ।

१. कान्छा आमाले दिएको नाम, खास नाम अकै छ

सन् १९३३ मा आमाबाबुमा आठ सन्तानमा दोस्रो सन्तान हुन् कान्छा शेर्पा । पाँच दाजुभाइ र दुई दिदीबहिनी भएका उनलाई विश्वभर कान्छा शेर्पाकै उपमा दिइएपनि वास्तविक नाम आङ फूर्वा हो । तर, अहिले उनलाई लामाले दिएको आङ फूर्वाभन्दा विश्वले चिन्दैन ।

२. नाम्चेका बजारका तीन पुस्ते रैथाने

कान्छा शेर्पा सगरमाथा प्रवेशद्वार नाम्चेका रैथाने हुन् । उनका हजुरबुबा नाम्चे आएर बस्ने प्रथम गैर लामा परिवार हुन् । कान्छा शेर्पाका हजुरबुबा आङ फुरी र लामा जाम्दे कुसाङ नाम्चेमा बस्ती बसाउने प्रथम पुस्ता हुन् । आङ फुरी र जाम्दे कुसाङ दुवै थामेबाट बसाइ आएका थिए । उनी सन् २०औं शताब्दीमा नाम्चे आएका थिए । अहिले झण्डै दुई हजारको आवादी भएको नाम्चेका वास्तविक रैथाने चाहिँ कान्छा र उनको परिवार हो ।

३. अक्सिजनविना तेन्जिङ र हिलारीको टोलीमा डेथ जोनमा

नाम्चेबाट भागेर दार्जीलिङ तेन्जिङको घरमा पुगेका उनी रोजाइ नभएर रोजगारीको कारण हिमालमा जोडिएका थिए । तेन्जिङ र कान्छाका पिता आङबाबु साथी भएकोले पनि उनलाई तेन्जिङसँग जोडिन सहज भएको थियो । सन् १९५३ को वसन्त आरोहण मौसममा भएको प्रथम सफल सगरमाथा आरोहणमा साउथ कोलसम्म पुगेका थिए कान्छा । उनीहरूले भारी बोकेर र डोरी टाँगेर त्यहाँसम्म पुगेका थिए । त्यहाँभन्दा माथि जाने उनीहरूले नसकेका होइनन् । तर, काम लगाउनेले नपठाएपनि उनीहरू ओर्लिएका थिए । अक्सिजनविना साउथ कोल अर्थात् डेथ जोनमा पुग्दा उनलाई श्वास फेर्न सकस भयो । तर, त्यहाँबाट देखिएको भोट र त्यहाँको रोङबुक हिमनदी देखेर दंग भएका कान्छाले आफ्नो जीवनीमा बताएका छन् ।

४. भारतीय सर्वसाधारणलाई भोटे कुकुर र चिनियाँ सेनालाई स्विस घडी बेच्ने कान्छा

हिमाल आरोहणबाहेक कान्छाका अरु परिचय पनि छन् । सगरमाथा चढ्नुअघि उनी भोटे कुकुर बेच्न भारतको जयनगरसम्म पुग्थे । भारतबाट चिनी लगेर तिब्बतको तिङ्ग्री बजारमा नुनसँग साटेर ल्याउने १२ दिने व्यापार मार्गमा ओहोरदोहोर गर्दा भारतमा भोटे कुकुरको बजार भएको उनले पत्तो पाए । र, घरगाउँका धेरै कुकुर दिनहुँ पैदल हिँडेर बिक्रीमा पुग्थे । एउटा कुकुरको ८ रूपैयाँ लिएर उनले बिक्री गरेका थिए । यो रकम भनेको कान्छाले सगरमाथा आरोहणको समयमा ‘डेथ जोन’ मा पुग्दा पाउने एक दिनको रकमसरह थियो ।

सगरमाथा प्रथम आरोही दलको सामूहिक तस्बिर । घेरामा कान्छा ।

हिमाल आरोहणबाट सन्‍‌न्यास लिएपछि पनि कान्छाले व्यापार गरे । उनको अर्को रोचक व्यापार कोलकाताबाट स्विस घडी ल्याएर चिनियाँ सेनालाई बिक्री गर्थे । ३०० रूपैयाँमा किनेको स्विस घडी चिनियाँ सेनालाई ३ हजारसम्ममा बेचेर नाफा खान्थे कान्छा । उनले भाँडामा लुकाएर घडी बेच्ने गरेको बताएका छन् ।

५. भोट आन्दोलनको क्रममा सन् १९५९ मा एक हप्ता पक्राउ

व्यापारको सिलसिलामा कान्छा शेर्पा खुम्बुबाट भोट पुगेका थिए । त्यहाँ आन्दोलन भइरहेको थियो । त्यसै क्रममा उनलाई पनि चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरे । पक्राउ परेर उनी सन् १९५९ ताका एक हप्ता थुनिएका थिए । तर, उनलाई चाँडै रिहाइ गरियो । कारण थियो- उनको नेपाली पासपोर्ट । सन् १९५९ मा २६ वर्षको हुँदा उनले नेपाली पासपोर्ट बनाएका थिए ।

६. सगरमाथा दुर्घटनाले श्रीमतीको सल्लाहबाट आरोहणबाट सन्‍न्‍यास

कान्छा शेर्पाको हिमाल आरोहणको कारण उनकी श्रीमती आङ ल्हाक्पा हुन् । सन् १९७१ मा उनले हिमाल आरोहणबाट सन्‍न्यास लिए । सन् १९७० मा सगरमाथाको हिम पहिरोमा परेर ८ शेर्पाको ज्यान गएपछि श्रीमतीले आरोहण बन्द गर्न आग्रह गरेपछि उनले सन्‍न्यास लिएका थिए । उसो त उनको सगरमाथा आरोहण कुनै सौख थिएन । यसबारेमा उनले आफ्नो जीवनीमा भनेका छन्, ‘मैले उच्च हिमाली क्षेत्रका शेर्पाको रूपमा बोनस पैसाको लागि मात्रै काम गरेको हो । मलाई चुचुरोमा पुग्ने चाहना कहिल्यै पलाएन ।’

आरोहणबाट सन्‍न्यास लिएपनि उनले ट्रेकिङ चाहिँ छाडेनन् । नेपालको प्रथम ट्रेकिङ कम्पनी माउन्टेन ट्राभल नेपालमा जोडिएर उनी मकालु, मनास्लु, मुस्ताङ र अन्नपूर्ण क्षेत्रहरूमा पुगिरहे ।
६ सन्तानका धनी कान्छा-आङ ल्हाक्पा दम्पतीले दुई सन्तानले अल्पायुमै छोडेर गए । पहिलो सन्तान पासाङ गेल्जेन १० वर्षमा र दोस्रो सन्तान आङ नाम्खा ७ वर्षकै उमेरमा बिते ।

७. विश्वको ब्राण्डेड नाम बनाएर पनि आफ्नो थातथलो नछोडेका कान्छा

विश्वमा ब्राण्ड बनाएका खुम्बु क्षेत्रका आरोहीहरूले थातथलो छोडे । जस्तै खुन्देमा जन्मिएका अन्नपूर्ण हिमालको प्रथम सफल आरोहण दलका शेर्पा सरदार आङ थार्केले गाउँ छाडेका थिए । थामेमा जन्मिएका तेन्जिङ नोर्गेले त जीवनको उत्तरार्द्धमा भारतीय नागरिकता लिएर बसे । कान्छाको पुस्तापछिका आरोही पनि थातथलोमा भेटिँदैनन् । तर, कान्छा सुन्दर अपवाद हुन् जसले आफ्नो हजुरबुबा आङ फुरिले बसाएको पुर्ख्यौली थलोमै छन् । उनको परिवारले चलाएको निर्वाणा लज होटलमा उनी भेटिन्छन् । विश्वले उनीसँग त्यही पुगेर भलाकुसारी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *