६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम, सबैभन्दा बढी पोखराको – Nepal Press

६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम, सबैभन्दा बढी पोखराको

चितवन । ६ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शून्यजस्तै छ ।

कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलब ०१ प्रतिशतमात्रै छ । जुन रकमको हिसाबले पाँच लाख १५ हजारमात्रै हो । प्रतिवेदनअनुसार उक्त आवमा ८ अर्ब ५० करोड ९२ लाख ८७ हजारको लेखापरीक्षण गरिएको थियो ।

सबैभन्दा बढि पोखरा महानगरको बेरुजु छ । महालेखाको प्रतिवेदनअनुसार पोखराको सात दशमलव ९८ प्रतिशत अर्थात् ७९ करोड २३ लाख ७५ हजार बेरुजु रहेको छ ।

काठमाडौं महानगरको बेरुजु एक दशमलव ११ प्रतिशत अर्थात् २५ करोड ७० लाख ३४ हजार छ । यस्तै वीरगञ्जको सात दशमलव १४ प्रतिशत अर्थात् ५७ करोड ९४ लाख ८२ हजार, विराटनगरको एक दशमलव ०३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ५३ हजार र ललितपुरको शून्य ४६ अर्थात् ४ करोड ५१ लाख बेरुजु छ ।

भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले आर्थिक वर्ष २०७९/ ८० मा महानगरको बेरुजु गत वर्षहरुको तुलनामा अरु घटेको छ । आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०८ प्रतिशत थियो । आर्थिक वर्ष २०७७/०७८ मा पेश्कीबाहेक बेरुजुमा शून्य दशमलव २५ प्रतिशत थियो ।

असुल गर्नु पर्ने बेरुजु पनि घट्ने क्रममा रहेको छ । महानगरपालिकाले बेरुजु नहुने गरी कार्यसम्पादनमा कडाई गरेका कारण बेरुजु घटेको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताइन् ।

उनले भनिन्, ‘ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्छ्यौटलाई विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम बनाउन सकिएको हो ।’

गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको प्रमुख दाहालले भनाइ छ ।

उनले भनिन्, ‘हामी बेरुजुलाई शून्यमै झार्ने अभियानमा छौं ।’ भरतपुर महानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि अभियान नै सञ्चालन गरिरहेको छ । जवाफदेहीता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।’

उपप्रमुख चित्रसेन अधिकारीले सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको बताए ।

खर्चमा गरिएको मितव्ययिता, नियम कानुनको परिधिमा रहेर खर्च गर्ने पद्धतिको विकास, आन्तरिक नियन्त्रण पद्धतिमा सुदृढीकरणका कारण बेरुजु घटाउन सफल भएको अधिकारीले बताए ।

महानगरले तहगत रूपमा बलियो अनुगमन संयन्त्र बनाएको र मापदण्ड कार्यविधिको पूर्णपालना गरेको जनाएको छ । देशमै विकासका हिसाबले अग्रणी भरतपुर महानगरपालिकाले सुशासनलाई बिशेष ध्यानमा राखेको जनाउँदै आएको छ ।

-रासस


प्रतिक्रिया

One thought on “६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम, सबैभन्दा बढी पोखराको

  1. पोखराको पैसा सबै माधवलाई बुझाएकोहोला ।बेरूजु त हुने नै भयो नि । बुढा पैसा धेरैमागे भनेर मन्त्रीबाट हटन खोज्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *