क्यान महासंघका महासचिव चिरञ्जीवी ‘आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित – Nepal Press

क्यान महासंघका महासचिव चिरञ्जीवी ‘आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ ‘क्यान महासंघ’ का महासचिव चिरञ्जीवी अधिकारी ‘आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित भएका छन् ।

नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा योगदान पुर्‍याएकाले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई आईसीटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित गरिएको हो ।

चन्द्रलोक फाउन्डेशनद्वारा आयोजित समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई उक्त अवार्डले सम्मान गरेका हुन् ।

आईसीटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले पुर्‍याएको योगदानलाई कदर गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुन् । प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका उनले इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् ।

साइबर सुरक्षाको शिक्षा र जागरूकता बढाउने गरी उनी देशभरि आयोजित गरिएका ५०० भन्दा बढी कार्यक्रममा सक्रिय सहभागी हुँदै आएका छन् ।

क्यान महासंघमा महासचिवको भूमिकाका अतिरिक्त अधिकारी नेपालको आईसीटी क्षेत्रका केही प्रमुख संस्थाहरूका प्रेरणादायी व्यक्तित्व समेत हुन् ।

उनी इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम ‘एनपी सर्ट’ र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन ‘सीएसआरआई’ का संस्थापक अध्यक्ष हुन् ।

त्यसैगरी, उनी नेपालको चर्चित साइबर सुरक्षा कम्पनी वनकभर प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर