अन्तिम ३ ओभरमा नेपाली बलरको धुलाई, क्यानडाले जोडेको थियो ५५ रन – Nepal Press

अन्तिम ३ ओभरमा नेपाली बलरको धुलाई, क्यानडाले जोडेको थियो ५५ रन

काठमाडौं। आईसीसी टी-२० विश्वकपको अभ्यास खेलमा नेपालले सोमबार क्यानडासँग कमजोर प्रदर्शन गर्‍यो । टस जितेर पहिला बलिङ रोजेको नेपाल यो खेलमा ६३ रनले पराजित हुन पुग्यो । क्यानडाले एक सय ८४ रनको लक्ष्य दिएको थियो। नेपाली बलरले अन्तिम तीन ओभरमा ५५ रन खर्चिएका थिए ।

१८ औँ ‌ओभरमा सोमपाल कामीले १६, १९ औँ ओभरमा अविनाश बोहराले १८ र २० औँ ओभरमा करण केसीले २१ रन खर्चिएका थिए। यी तीन ओभरमा नेपालले ९ अतिरिक्त रन दिएको थियो ।

१७ ओभरको समाप्तिमा ६ विकेट गुमाएर एक सय २८ रनको स्थितिमा रहेको क्यानडाले अन्तिम तीन ओभरमा एक विकेट मात्र गुमाएको थियो भने ४ छक्का र तीन चौका प्रहार गरेको थियो । नेपालका अन्तिम ७ जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपाल कुनै समय ५७-१ को स्थितिमा थियो। तर त्यसपछि नेपालले ५ रनको अन्तरमा तीन विकेट गुमायो । चौथो नम्बरमा ब्याटिङमा आएका कुशल मल्ल आठौँ विकेटका रूपमा आउट हुनुअघि सर्वाधिक ३७ रन जोडे ।

नेपालका कप्तान रोहित पौडेलले १, सन्दीप जोराले ६, सोमपाल कामीले ४, करण केसीले ५ र सागर ढकालले ५ रन जोडे । गुल्सन झा र अविनाश बोहराले खाता खोल्न सकेनन् । कुशल भुर्तेलले १०, आसिफ शेखले २२ र अनिल शाहले २४ रन जोडेका थिए ।

नेपालले अब विश्वकप खेल्न थाल्नुअघि अमेरिकासँग वार्मअप खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर