कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले किन गरिन् गाइडको नाममा सगरमाथा आरोहण ? – Nepal Press

कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले किन गरिन् गाइडको नाममा सगरमाथा आरोहण ?

गाइड एसोसियसन अध्यक्ष भन्छन्- पूर्णिमा श्रेष्ठ आरोही हुन्, गाइड होइनन्

काठमाडौं । यो सिजनमा तीन पटक सगरमाथा आरोहण गरेकी पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले राजस्व तिर्नबाट जोगिन गाइड बनेर सगरमाथा आरोहण  गरेको पाइएको छ ।

नेपालको नियमअनुसार गाइड बनेर सगरमाथा आरोहण गर्दा आरोहीलाई जस्तो शुल्क लाग्दैन । नेपाल माउन्टेनियरिङ एसोसियसनले लिने सामान्य दस्तुरबाहेक रकम लाग्दैन ।

पूर्णिमाले त्यही जुक्ति प्रयोग गरेर गाइड बनेर सगरमाथा आरोहण गरेकी हुन् ।   अहिलेको जारी वसन्त आरोहण सिजनमा तीन पटक सगरमाथा चुचुरोमा पुगेकी थिइन् पूर्णिमा ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका अनुसार वसन्त आरोहण मौसममा नेपाली नागरिकले एक आरोहणको शुल्क ७५ हजार तिर्नुपर्ने व्यवस्था छ । त्यो आधारमा तीन पटक एकै मौसममा सगरमाथा आरोहण गरेकी पूर्णिमाले दुई पटक गाइड भएर आरोहण गरेकाले सरकारलाई शुल्क तिर्न परेन । ।

उनले पहिलो पटक मे १२ अर्थात् वैशाख ३० मा आरोहण गरेकी थिइन् । यस्तै मे १९ अर्थात् जेठ ६ मा दोस्रो पटक आरोहण गरेकी उनले तेस्रो पटक मे २५ अर्थात् जेठ १२ मा सगरमाथाकाे चुचुराेमा पाइला राखेकी थिइन् ।

पर्मिट नम्बर २० लिएर श्रेष्ठले सगरमाथा आरोहण गरेको पाइएको छ । उनको आरोहण दलको नाम एट के इन्टरनेसनल एभरेष्ट २०२४- स्पिङ १ नाम रहेको थियो ।

तर पूर्णिमा माउन्टेन गाइड नभएको माउन्टेन गाइडहरूको संस्थाका नेतृत्वले खुलाएका छन् । माउन्टेन गाइड एसोसियसन अफ नेपाल (पर्वतीय पथप्रदर्शक संघ नेपाल)का अध्यक्ष सञ्जीव गुरुङले नेपालमा महिला गाइडको तालिम लिनेहरू भए पनि यो सिजनमा काममा कोही नभएको बताए ।

उनले पूर्णिमा श्रेष्ठ गाइड नभएकोसमेत बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘पूर्णिमा श्रेष्ठ आरोही हुन्, माउन्टेन गाइड होइनन् ।’

यता पर्यटन विभागअन्तर्गतकाे साहसिक पर्यटन तथा पर्वतारोहण विभाग स्राेतले गाइड नभएको मान्छे गाइड भएर जान नमिल्ने बताए ।

यसै विषयमा आज मात्रै काठमाडौं आएकी कीर्तिमानी आरोही पूर्णिमाले नेपाल प्रेससँग कुरा गर्दै आफू दुई चोटी गाइड र एक चोटी आरोही भएर सगरमाथा चढेको बताइन् ।

आरोहीले गाइड भएर किन सगरमाथा चढ्नुभएको भन्ने प्रश्नमा उनले भनिन्, ‘आरोही भएर चढ्दा पैसा धेरै लाग्ने भएर ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *