‘धूलोकाण्ड’ को अन्तर्य: न्यूरोडमा सडक काट्न रोक्दा रिसाएका बालेन – Nepal Press

‘धूलोकाण्ड’ को अन्तर्य: न्यूरोडमा सडक काट्न रोक्दा रिसाएका बालेन

काठमाडौं । काठमाडौं महानगरपालिका र सडक डिभिजन काठमाडौं कार्यालय सडकको विषयलाई लिएर आमनेसामने भएका छन् । शनिबार साँझ काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा भिडिओसहित एउटा पोस्ट गरेपछि विवाद सतहमा आएको हो ।

सडक विभाग र सडक डिभिजन काठमाडौंको गेट अगाडि ट्रकबाट फोहोर र धूलो झार्दै गरेको भिडिओ मेयर शाहले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यससँगै लेखेको स्टाटसमा उनले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई एक ट्रक धूलो उपहार पठाएको उल्लेख गरेका थिए । आगामी दिनमा पनि दिनदिनै उपहार पठाउने भन्दै ‘प्रेमपूर्वक स्वीकार्न’ आग्रह गरेका छन् ।

बालेनको स्टाटसमा १५ वर्षयता कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तार नहुँदा काठमाडौंका जनताले धूलो खानुपरेको र काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको उल्लेख छ । यसैको असन्तुष्टिवस आफूले धूलो उपहार पठाएको उनको भनाइ छ ।

‘यो धूलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म काम अगाडि बढाउँदैन, तबसम्म हरेक दिन पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने छु’, उनले लेखेका छन् ।

बालेनको यो पोस्टलगत्तै सडक डिभिजन काठमाडौंले राति नै विज्ञप्ति जारी गरेर आपत्ति जनायो । कार्यालयले यस्तो अराजक व्यवहार सह्य नहुने र प्रतिकार गर्न बाध्य हुने चेतावनीसमेत दियो ।

शनिबार साँझ करिब ५ बजे सडक डिभिजन काठमाडौं कार्यालयको गेटमा महानगरको मिनि टिपरबाट कार्यालय परिसर छिर्नसमेत अवरोध हुनेगरी धूलो खन्याइएको थियो । मेयर शाहले उठाएको कलंकी-चक्रपथ सडक खण्ड सडक डिभिजनको क्षेत्राधिकारभित्र भने पर्दैन । यस कार्यालयको क्षेत्राधिकार भनेको काठमाडौं जिल्लाभित्रका सडक निर्माण तथा मर्मतसम्भार हो ।

बालेनले सडक डिभिजनसँग रिस पोख्नुको अन्तर्य भने अर्कै छ । शुक्रबार काठमाडौं महानगरका मेयर शाह र डिभिजनका प्रमुख नारायणदत्त भण्डारीबीच महानगरभित्रका सडक सुधारका विविध विषयमा छलफल भएको थियो । नियमबमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाइ महानगरभित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउन दुवै तयार भएका थिए । यसअघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भएकोमा सबै अनुमति दिइएको थियो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडमा पार्किङ खाली गराएपश्चात त्यहाँको सडक साँघुरो बनाएर सडक पेटी बढाउन खोजेको छ । त्यसैका लागि शनिबार दिउँसो करिब १२ बजे डिभिजनको जिम्मामा रहेको न्यूरोड क्षेत्रमा महानगर कर्मचारीले धमाधम सडक काटिरहेका थिए । विनाअनुमति सडक काटिएको भन्दै सडक डिभिजनले उक्त कार्यमा रोक लगायो । उपकरणसमेत नियन्त्रणमा लिएर पछि फर्काइएको डिभिजन कार्यालयले जनाएको छ । यसबाट आक्रोशित बालेनले विषयान्तर गर्दै कलंकी-महाराजगञ्ज सडक खण्डको धूलोको मुद्दा उठाएको कार्यालयको भनाइ छ । यो सडक डिभिजनको कार्यक्षेत्र बाहिर पर्छ ।

महानगरले आफ्नै बजेटबाट न्यूरोडमा सौन्दर्यकरण गरी फुटपाथ बढाउन लागेको छ । अहिले ११ मिटर लम्बाइ कालोपत्रे सडक रहेको न्यूरोड क्षेत्रमा दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ रहेको छ । सो फुटपाथ साढे एक मिटर बढाउन लागिएको हो । ११ मिटर फराकिलो कालोपत्रे सडक सात मिटरमा खुम्च्याउने महानगरको तयारी छ । दुवैतिर डेढ मिटर थप गरी ३.९ मिटरको फुटपाथ बढाउने र आधाआधा मिटर ड्रेनेजका लागि छुट्याइने गरी महानगरले डीपीआर तयार गरेको छ ।

गत मंसिर ८ मा नयाँसडक, धर्मपथ र गंगापथको पेटीको चौडाइ बढाउने र सडकको चौडाइ घटाउने योजना तयार गरी टेन्डर आह्वान गर्‍यो । सीके जेभी कम्पनीले निर्माणका लागि तीन करोड १९ लाख २० हजारमा टेण्डर पाएको थियो । यो आयोजना कार्य एक वर्षभित्र सक्ने महानगरको दाबी छ, तर महानगरको योजनाप्रति असन्तुष्ट २२ नम्बरका वडाध्यक्ष चिनीकाजी महर्जनले बैशाख २८ मा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ गुहारे ।

योजना कार्यान्वयन भएमा त्यसबाट नयाँसडक क्षेत्रका जनताको दैनिक जनजीवन र व्यापार व्यवसायमा दूरगामी नकारात्मक असर पर्ने वडाध्यक्ष महर्जनको भनाइ थियो । स्थानीय बासिन्दा तथा व्यापारीहरुले आफूहरुलाई ध्यानाकर्षण गराएको जनाउँदै महर्जनले योजनाबारे वडा कार्यालय र वडाका जनप्रतिनिधिहरुलाई कुनै औपचारिक जानकारी नगराइएको गुनासो गरेका छन् ।

उक्त योजना पुनः कार्यान्वयन हुन लागेको जानकारी प्राप्त भएपछि वडाध्यक्षसहित स्थानीय र व्यवसायीहरुले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यस क्षेत्रमा गुड्ने सवारीसाधनको तुलनामा सडकको चौडाइ कम भएको हुँदा अहिले नै ट्राफिक जामको समस्या छ । सडकको चौडाइ अझ कम गर्दा ट्राफिक जामले भयावह रुप लिने र पछि यसैलाई बहाना बनाइ समग्र नयाँ सडक क्षेत्रमा सवारीसाधनको प्रवेश नै निषेध गर्ने मनसाय राखिएको भन्दै वडाध्यक्ष महर्जनले मन्त्री महासेठलाई पत्र पठाएका थिए ।

सवारीसाधनको प्रवेश संकुचन वा निषेध भएमा यस क्षेत्रमा आवतजावत गर्न नै कठिनाइ हुने तथा स्थानीय जनताको दैनिक जीवन अत्यन्त कष्टकर हुने तर्क वडाध्यक्ष महर्जनले गरेका छन् । साथै यहाँ रहेको ऐतिहासिक र ठूलो बजारको व्यापार व्यवसाय पनि सुक्न जाने भन्दै उनी व्यापारीको पक्षमा उभिएका हुन् ।

हाल ८ मिटरभन्दा कम चौडा सडक काठमाडौं महानगरपालिका र त्यसभन्दा बढी चौडाइका सडक सडक विभागको क्षेत्राधिकारभित्र पर्छ । वडाध्यक्ष महर्जनले पेटीबाहेक ११ मिटर चौडाइ भएको नयाँ सडकमा क्षेत्राधिकार नै नभएको काठमाडौं महानगरपालिकाले कसरी यो योजना लागू गर्नसक्छ भनेर प्रश्न तेर्साएका छन् ।

वैधानिक व्यवस्था र आफूहरुको अनुरोधलाई बेवास्ता गरी बलपूर्वक यो योजना लागू गरिएमा सडकबाटै प्रतिकार गर्न बाध्य हुने र यसबाट कुनै अप्रिय परिस्थिति सिर्जना भएमा त्यसको जिम्मेवारी काठमाडौं महानगरपालिकाकै हुने उनको पत्रमा उल्लेख छ ।

वडाध्यक्षले मन्त्रीलाई पत्र लेखेपछि सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकालाई जेठ ३ मा पत्र लेखेको थियो । महानगरबाट कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सडकहरुमा कुनै पनि काम गर्दा अनिवार्य रुपमा कार्यालयको पूर्वसहमति लिएरमात्र गर्न पत्रमा अनुरोध गरिएको थियो । न्यूरोडमा सडक पेटी फराकिलो पारी सडक चौडाइ घटाउन लागेको सम्बन्धमा गत असोज ४ गतेको पत्रबाट जानकारी आएको जनाउँदै सडक विभागको मापदण्ड विश्लेषण गरेरमात्र सहमति दिन सकिने पत्रमा उल्लेख छ ।

तर डिभिजन कार्यालयको पत्रको बेवास्ता गर्दै महानगरले न्यूरोडमा एकतर्फी रुपले काम अगाडि बढाएको थियो । त्यसमा सडक डिभिजनले हस्तक्षेप गरेपछि साँझ मेयर शाहले आक्रोशित हुँदै डिभिजनको गेटमा धूलो फाल्न लगाए । मन्त्री महासेठले नै न्यूरोडको काम रोक्न लगाएको जानकारी पाएपछि बालेनले उनलाई पनि मुछेका छन् ।

महानगर र सडक डिभिजनका आआफ्ना तर्क

काठमाडौं महानगरले विनाअनुमति न्यूरोड क्षेत्रमा सडकको चौडाइ घटाउन खोजेको सडक डिभिजन काठमाडौंमा सूचना अधिकारी इ. प्रमोद खतिवडाले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘उहाँहरुलाई अनुमति नलिई न्यूरोडमा सडकसम्बन्धी काम नगर्नुस् भनेर सचेत गराएका थियौं । त्यसपछि काम रोकिएको पनि थियो । पछि फेरि राति काम गरेको पाइयो । त्यसपछि हामीले मेसिन जफत गरेका थियौं । त्यही विषयमा मेयर सा’बले निहुँ खोज्नुभएको हो ।’

खतिवडाका अनुसार स्थानीयवासीले नै बाटो साँघुरो बनाउन नहुने भन्दै प्रतिकार गरिरहेका छन् । सडक ऐन २०३१ अनुसार कसुर के हो हेरेर अगाडि बढ्ने तयारी भइरहेको उनले बताए ।

काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख सुरज शाक्यले न्यूरोडको सडक कसको हो भनेर व्याख्या गर्नुपर्ने बताए । एउटा पत्र पठाउँदैमा सडक उनीहरुको नहुने शाक्यको भनाइ छ ।

उनले नेपालप्रेससँग भने, ‘डिभिजन कार्यालयले आफ्नो दाबी गरेको सडक पहिले कसको भनेर व्याख्या गर्नुपर्छ । पिचलगायत सबै काम हामीले नै गरिराखेका छौं । सडकले एउटा चिठी पठाउँदैमा उहाँहरुको बाटो हुन्छ ?’

महानगरले फुटपाथ बढाउन ८ महिनाअघि नै पत्र पठाए पनि कुनै प्रतिक्रिया नआएको उनी बताउँछन् ।

‘हामीले २०८० असोज ४ मै पत्र लेखेका थियौं । यदि काम गर्न मिल्दैन भने उहाँहरुले समयमै जवाफ दिनुपर्दैन ? सडकको चिठी जेठ ३ गते आउँछ । काम सुरु भइसकेपछि लेख्ने हो त ? त्यतिबेलासम्म हाम्रो टेन्डर भएर स्वीकृत भएर सडक काटिसकेको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *