११ वर्षसम्म कमला पुल नबनेपछि स्थानीय आन्दोलित, सिरहा बजार बन्द – Nepal Press

११ वर्षसम्म कमला पुल नबनेपछि स्थानीय आन्दोलित, सिरहा बजार बन्द

जनकपुरधाम । हुलाकी सडकअन्तर्गत धनुषा-सिरहा जोड्ने कमला नदीको पुल पुनर्निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै सिरहामा आन्दोलन सुरू भएको छ ।

पुल पुनर्निर्माण गर्न निर्माण कम्पनीले गरिरहेको ढिलासुस्तीविरुद्ध कमला पुल निर्माण संघर्ष समिति सिरहाले आन्दोलन थालेको हो । समितिले बिहानदेखि नै सिरहा बजार बन्द गराएको छ ।

पुल निर्माण थालिएको करिब ११ वर्षपछि ९९ प्रतिशत काम सकेको बेला ०७८ असार १७ मा नदीमा आएको बाढीले दुईवटा पिलर भासियो । त्यसको केही दिनमै थप एउटा पिलर भासिएको थियो ।

पुलको पिलर भासिएको करिब दुई वर्षपछि पुनर्निर्माणको काम सुरु भयो । तर, निर्माण कम्पनीको ढिलासुस्तीले काम सम्पन्न अनिश्चित बनेको छ । सिरहा र धनुषाका बासिन्दाले कमलामा नयाँ पुल बनाउनुपर्ने माग छ ।

संघर्ष समितिका अध्यक्ष रवीन्द्र साहले पुलको पुनर्निर्माण गर्न निर्माण कम्पनीले विभिन्न बहाना बनाई एक वर्षदेखि ढिलासुस्ती गर्दै आएको बताए । उनका अनुसार निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादको कारण पुल छिटो बन्ने अवस्था छैन ।

उनले नयाँ पुल निर्माणका लागि अगामी आर्थिक वर्ष २०८१/०८२ को वजेटमा रकम विनियोजन गरी गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको पनि बताए ।

उनले भने, ‘हाम्रो अनुरोधलाई अगामी वर्षको बजेटमा कार्यान्यवन गराउन हामी विरोध कार्यक्रम गरिरहेका छौं ।’

समितिले भोलि सोमबार सिरहा बजारसँगै सरकारी कार्यालय बन्द गराउने र बिहान ८ बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *