कांग्रेसले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दै – Nepal Press

कांग्रेसले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै सदन चर्काइरहेको कांग्रेस आजबाट सडकमा निस्कन लागेको हो ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार सरकारको ज्यादती र सहकारी ठगीविरुद्ध काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजेदेखि प्रदर्शन हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

कांग्रेसका भ्रातृ संगठनहरु नेविसंघ, तरुण दल, महिला संघलगायत यसअघि नै सडकमा आइसकेका छन् ।

कांग्रेसले आजको प्रदर्शनलाई सरकारको अलोकतान्त्रिक र असंवैधानिक रवैया र सहकारी ठगीविरुद्ध भनेको छ ।

उनले भने, ‘आजको प्रदर्शनको कार्यक्रम काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिले आयोजना गर्ने हो । केन्द्रले समर्थन गर्ने र सहभागी हुने हो । त्यसका लागि प्रचारप्रसारको काम भइरहेको छ । जिल्ला समितिले गर्ने भएपछि केन्द्रले धेरै तयारी गर्नुपर्दैन । उहाँहरुले आआफ्नो ठाउँबाट गरिरहनुभएको छ ।’

सहकारी प्रकरणमा छानबिन गर्न बनाउने भनिएको समितिको कार्यादेशबारे छलफल चलिरहेको छ, तर यो सहमति भए पनि आफूहरुले तय गरेको प्रदर्शनको कार्यक्रम नरोकिने उनले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर