तेस्रो दिन पनि हाउसफुल भएपछि दिनेश राउत -‘यति खुसी छु कि व्यक्त गर्न सक्दिन’ – Nepal Press

तेस्रो दिन पनि हाउसफुल भएपछि दिनेश राउत -‘यति खुसी छु कि व्यक्त गर्न सक्दिन’

काठमाडौं। बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले प्रदर्शनको पहिलो दिन ‘ग्रान्ड ओपनिङ’ गर्यो। दोस्रो दिन सार्वजनिक बिदा नभएता पनि शुक्रबार भएकाले दर्शक हलसम्म आए। चलचित्रले सुखद व्यापार कायम राख्यो। प्रदर्शनको तेस्रो दिन शनिवार पनि अधिकांश हलहरुमा चलचित्र हाउसफुल नै देखिएको छ।

मध्यान्हदेखिका प्राय: शो हाउसफुल भैरहेको वितरक रोहित कट्टेलले बताए। चलचित्रले राम्रो प्रतिक्रिया पाएपछि यता चलचित्रका निर्देशक दिनेश राउत पनि मख्ख छन। ‘चलचित्रलाई दर्शकले यति धेरै माया गर्दिनुहुन्छ भन्ने सोचेको पनि थिइन। यो लेभलको रेस्पोन्स आउँछ भन्ने आश थिएन,’खुसी हुँदै उनी भन्छन,’म त यति खुसी छु कि व्यक्त गर्न पनि सक्दिन।’

आज पनि ‘पुजार सार्की’का कलाकारहरू हल भिजिटमा हिँडिरहेका छन्। बिहान भक्तपुरको क्यूएफएक्स सिनेमाजमा पुगेका कलाकारहरू त्यसपछि एफक्युब सिनेमा, चाबहिल पुगेका थिए।

मध्यान्हमा कमलपोखरीस्थित बिग सिनेमा र बालाजुस्थित अष्टनारायण हलमा पनि चलचित्रको टिम पुगेको थियो। त्यस्तै, शनिवार नै फाइनल रहेको चर्चित रियालिटी शो ‘पोएट आइडल’मा पनि कलाकारहरू पुग्नेछन्। त्यहाँ अभिनेता प्रदीप खड्काले कविता सुनाउने कार्यक्रम रहेको निर्देशक दिनेश राउतको भनाइ छ।

विकास सुवेदीले लेखेको यो चलचित्रका निर्माता सुवास भुसाल हुन्। चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। चलचित्र जातीय विभेदमा आधारित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *