चुलाचुलीमा एमालेको अन्तिम चुनावी सभा– सुहाङलाई सघाउन इलाम र दमकमै ओलीको मुकाम – Nepal Press

चुलाचुलीमा एमालेको अन्तिम चुनावी सभा– सुहाङलाई सघाउन इलाम र दमकमै ओलीको मुकाम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाँदैछन् ।

इलामको चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्न ओली त्यस तर्फ जान लागेका हुन् । अध्यक्ष ओली अपराह्न १२ बजे जहाजबाट भद्रपुर झरेर इलाम जाने कार्यक्रम छ ।

बैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनको लागि आज एमालेले चुलाचुलीमा आयोजना गर्न लागेको अन्तिम चुनावी सभा हो । ओलीले बैशाख ६ गते इलामको मंगलबारेमा आयोजना गरिएको चुनावी सभालाई पनि सम्बोधन गरेका थिए ।

सो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य संविधान सभा अध्यक्ष, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको स्थानमा बैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । यहाँ एमालेका तर्फबाट सुहाङ नेम्वाङ उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्र, नेकपा माओवादी, परिवार दल लगायतको समर्थन छ । सुहाङ सुवासका छोरा छन् ।

नेकपा एमालेका नेता इलामा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सभा दिउँसो एक बजेबाट सुरु हुने जानकारी दिए । चुलाचुली सबैभन्दा धेरै मतदाता भएको क्षेत्रमात्र नभएर अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा ५ सँग पनि जोडिएको ठाउँ हो ।

ओलीले आज र भोलि इलामपछि झापामै मुकाम बनाएर भेटघाट कार्यक्रम बनाएको बताइएको छ ।

अध्यक्ष ओली सभा सकेर आज झापा नै बस्ने कार्यक्रम छ । साँझ दमकमा भेटघाट कार्यक्रम राखिएको छ । उनी बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर