हार्दिकमाथि लाग्यो टस फिक्सिङको आरोप, अनौठो तरिकाले फ्याकेका थिए सिक्का – Nepal Press

हार्दिकमाथि लाग्यो टस फिक्सिङको आरोप, अनौठो तरिकाले फ्याकेका थिए सिक्का

काठमाडौं । आईपीएलको यो सिजन सुरु भएदेखि आलोचनाको केन्द्रमा छन् मुम्बई इन्डियन्सका नयाँ कप्तान हार्दिक पाण्ड्या । रोहित शर्माको ठाउँमा हठात हार्दिकलाई कप्तान बनाइएकोमा समर्थक असन्तुष्ट थिए नै, उनको व्यक्तिगत प्रदर्शन र कप्तानी पनि सन्तोषजनक छैन ।

हार्दिकमाथि लगातार ट्रोल भइरहँदा अहिले उनी अर्को विवादमा परेका छन् । केही दिनअघि भएको एउटा म्याचमा उनले टसमै गडबडी गरेको आरोप लागेको छ । रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सबीचको म्याचको प्रसंग हो यो । मेनस्ट्रिम मिडियाले समाचार नबनाए पनि सामाजिक सञ्जालमा धेरैले हार्दिकमाथि प्रश्न उठाएका छन् ।

उक्त म्याचमा हार्दिकले अनौठो तरिकाले टस फ्याकेका थिए । कप्तानले सधैँ आफ्नो अगाडि क्वाइन फ्याक्ने गर्छन् र त्यसलाई म्याच रेफ्रीले उठाएर हेर्छन् । त्यस म्याचमा भने हार्दिकले आफ्नो टाउकोबाट उठाएर पछाडिपट्टि क्वाइन फ्याँके । अन अपोजिट टीमका कप्तान फाफ डुप्लेसिसको नजर नपर्दै म्याच रेफ्रीले टस उल्टाएर टिपेको चर्चा भइरहेको छ । रेफ्री जभागल श्रीनाथले क्वाइन उठाएपछि फाफ हाँसेको भाइरल भिडियोमा देखिन्छ । टस मुम्बईले जितेको थियो ।

वाङ्खडेमा सो म्याच भएको थियो, जहाँ टसलाई नै लगभग निर्णायक मानिन्छ । यहाँ टस जित्ने टीमले ९० प्रतिशत म्याच जितिरहेका हुन्छन् । यो म्याच पनि मुम्बई इन्डियन्सले एकतर्फी रुपमा जितेको थियो ।

यद्यपि, यो प्रसंग त्यति चर्चामा थिएन । तर, अर्को दिन सनराइजर्स हैदराबाद र आरसीबीको म्याचअघि टस हुँदा रोचक दृश्य देखियो । आरसीबीका कप्तान फाफले सनराइजर्सका कप्तान प्याट कुमिन्सलाई अघिल्लो म्याचमा हार्दिकले कसरी टसमा झेली गरे भनेर देखाइरहेका थिए । आवाज नसुनिए पनि उनको हाउभाउबाटै यो प्रस्ट भएको थियो । कुमिन्स आश्चर्यभावमा देखिएका छन् ।

त्यसो त यसअगाडि नै अन्य टीमहरु हार्दिकसँग सचेत थिए । चेन्नई सुपरकिङ्स र मुम्बई इन्डियन्सको म्याचमा पनि रोचक दृश्य देखिएको थियो । उक्त म्याचमा हार्दिकले टस फ्याकेपछि बाहिरबाट महेन्द्रसिंह धोनी आएर नजिकबाट क्वाइन हेरेका थिए, जबकि उनी टीमका कप्तान होइनन् ।

गुजरात र मुम्बईको म्याचमा गुजरातका कप्तान शुभमन गिलले पनि नजिकबाट टस नियालेर हेरेका थिए । स्मरणीय छ कि हार्दिक गुजरातका पूर्वखेलाडी हुन् । हार्दिकको ट्रिक थाहा पाएर नै शुभमनले सतर्कता अपनाएको दाबी गरिएको छ ।

त्यसो त भारतमा गत वर्ष भएको विश्वकप क्रिकेटमा भारतीय कप्तान रोहित शर्मामाथि पनि टसमा गडबडी गरेको आरोप लागेको थियो । उनले क्वाइनलाई निकै पर हुर्र्‍याउने गर्थे । विपक्षी कप्तानको आँखा छलेर अम्पायरले भारतलाई टस जिताउने गरेको चर्चा थियो । यद्यपि, फाइनल म्याचमा भने भारतले टस हारेको थियो र खेल पनि हार्‍यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर