लगानी सम्मेलनमा प्रदर्शन गर्न १४८ आयोजना स्वीकृत, कुनकाे कति लागत ? – Nepal Press

लगानी सम्मेलनमा प्रदर्शन गर्न १४८ आयोजना स्वीकृत, कुनकाे कति लागत ?

काठमाडौं । बैशाख १६ र १७ मा हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १४८ परियोजना प्रदर्शनी (सोकेस) हुने भएको छ । ती आयोजनाहरुमा अधिकांश जलविद्युतका छन् ।

सम्मेलनको प्राविधिक समितिले ती परियोजनाको अन्तिम सूची तयार गरेको छ । ती परियोजनाले लगानी सम्मेलनमा प्रदर्शनमा राख्न स्वीकृति पाएको छ । सम्मेलनको प्राविधिक समिति, कार्यान्वयन समिति र निर्देशक समिति हुँदै परियोजनाको सम्मेलनमा प्रदर्शन हुने लगानी बोर्डले जनाएको छ ।

सम्भाव्यता तथा पूर्वसम्भाव्यता अध्ययन, वातावरणीय मूल्यांकन अध्ययन, लागत, डीपीआर जस्ता अध्ययन भएको र नभएको गरी ८ वर्गमा विभाजन गरेर आयोजनाहरूलाई लगानी सम्मेलनमा प्रदर्शनीमा राखिने लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले नेपाल प्रेसलाई जानकारी दिए ।

पहिलो र दोस्रो वर्गका २० परियोजनालाई आशयपत्र आह्वान गर्न पाउने गरी प्रदर्शनीमा राखिनेछ । लगानी बोर्डले केहीको आशपत्र माग्नेछ भने केही सम्बन्धित मन्त्रालय वा विभागले आशयपत्र आह्वान गर्ने प्रवक्ता उपाध्यायले बताए ।

‘तेस्रो वर्गमा रहेका ७ वटा परियोजना मार्केटिङ (बजारीकरण)का लागि राखिनेछ । यो सेसनको परियोजना यस्ता छन्, लगानीकर्ताले यति नाफा लान पाउँछन् जस्ता विषयको व्याख्या गरेर विदेशी लगानीकर्तामाझ बजारीकरण गरिनेछ’, उनले भने ।

यता चौथो वर्गमा रहेका ३१ वटा परियोजना अध्ययन नभएको तर यस्तो हुनसक्छ भन्ने आइडिया भएका हुन् । पाँचौं वर्गमा १८ वटा आयोजनाको भने विकासकर्ता (डेभलपर) पहिचान भइसकेको लगानी बोर्डले जनाएको छ । तर, सो आयोजना बनाउन पैसा भने नभएकाले लगानी सम्मेलनमार्फत कसैले लगानी गरिदेलान् कि भनेर प्रदर्शनमा राख्न लागिएको बताइएको छ ।

यता छैटौं वर्गका १४ वटा परियोजना भने निजी लगानीका लागि राखिएको छ । निजी लगानी आकर्षित गर्न सम्मेलनमै बोलपत्र आह्वान गरिनेछ । यी आयोजनाहरुमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने भएकाले सम्मेलनमै बोलपत्र आह्वान गरिने उपाध्यायले बताए । यी निर्माणमा जान योग्य परियोजनाका लागि ठेकेदारको खोजी हुनेछ । यसको बोलकबोल कागजातमा शर्त राखिएको छ । यस वर्गका आयोजनामा लगानी गर्नेले कति प्रतिशत नाफा लैजान पाउँछ, निजी क्षेत्रले कति फाइदा राख्न पाउँछ भन्ने खुलाइन्छ ।

सातौं वर्गमा अध्ययन गरिएको तर गहिराइमा गएर नगरिएका आयोजनाहरु छन् । तथापि यी आयोजना देखाउँदा लगानी आकर्षित हुन्छन् कि भन्ने उद्देश्यले सम्मेलनमा राख्न लागिएको बोर्डले जनाएको छ । आठौं वर्गका ३० वटा आयोजना भने नेपालकै निजी क्षेत्रका छाता संगठनले प्रदर्शनीमा राख्नेछन् । तिनीहरुलाई आयोजना प्रदर्शन गर्ने ठाउँ दिइएकाले बाँकी निजी क्षेत्रले नै डिल गर्ने बोर्डले बताएको छ ।

आशयपत्र आह्वान गरिने २० वटा आयोजनाको लागत कति ?

पहिलो र दोस्रो वर्गका २० वटा आयोजनामा २ खर्ब २१ अर्बको चन्द्रागिरी-चित्लाङ/पालुङ/चितवन दु्रतमार्ग, २ अर्ब ३५ करोडको जानकी हेरिटेज होटेल, १० अर्ब २ करोडको बबरमहल प्रशासनिक भवन, ११ अर्बकोे धुलिखेल मेडिसिटी हस्पिटल, ३ अर्ब ७० करोडको पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, १ अर्ब ५७ करोडको पाँचखाल सेज, ८ अर्ब ६० करोडको दैजी औद्योगिक क्षेत्र, १ अर्ब ४७ करोडको कर्णाली चिसापानी वाइन्ड पावर प्रोजेक्ट, १ खर्ब ३३ अर्बको कालीगण्डकी २ स्टोरेज हाइड्रोपावर प्रोजेक्टको सम्झौता हुनसक्ने बोर्डले बताएको छ ।

यस्तै १ खर्ब २५ अर्बको नौमुरे मल्टिपर्पोज प्रोजेक्ट, ३१ अर्बको सुदूरपश्चिम सार्वजनिक आयोजना, १४ अर्ब ६८ करोडको हुम्ला कर्णाली हाइड्रोपावर प्रोजेक्ट, ६ अर्ब ४० करोडको कवाडी खोला हाइड्रोपावर प्रोजेक्ट, २ अर्ब ५० करोडको महादेव खोला वाटर इम्पाउण्डिङ पनि आशयपत्र आह्वानका लागि राखिनेछ । १३ अर्ब ९० करोडको तालतलैया मल्टिपर्पोज टुरिजम, ८ अर्ब ७२ करोडको टोम डोगर बुढीगण्डकी, २ खर्ब ८९ अर्ब खिम्ती ठोसे शिवालय, १ अर्ब ८५ करोडको बारभुङ स्टोरेज रहेको छ ।

वित्तीय व्यवस्थापन गर्न पेस गरिने आयोजनाको लागत कति ?

१०१.२५ मिलियन डलरको अरुण हब, ७४ अर्ब १५ करोडको बेतन कर्णाली पीआरओआर, १६३.७५ मिलियन डलरको बुढीगण्डकी करिडोर, १५१.२५ मिलियन डलरको इनरुवा अनारमनी ४०० केभीको वित्तीय व्यवस्थापनका लागि प्रदर्शनी हुनेछ ।

यस्तै ९३ अर्ब ८० करोडको किमाथान्का अरुण, ५ खर्ब ११ अर्बको मुगु कर्णाली स्टोरेज, १ खर्ब ७७ अर्बको नलगाढ स्टोरेज, २८.८८ मिलियन डलरको तमोर ढुंगेसाँघु, २८८.७५ मिलियन डलरको तिङ्गाल हब नयाँ खिम्तीलगायतका आयोजना वित्तीय व्यवस्थापनका लागि पेश गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर