सिंहदरबार छिर्न गेटमा ढुक्नुपर्ने अवस्थाको अन्त्य हुँदै, पहिलो चरणमा गृहबाट परीक्षण – Nepal Press

सिंहदरबार छिर्न गेटमा ढुक्नुपर्ने अवस्थाको अन्त्य हुँदै, पहिलो चरणमा गृहबाट परीक्षण

आफैँले पासका लागि अनलाइनबाट आवेदनको व्यवस्था मिलाइँदै

काठमाडौं । तपाईँ कुनै कामले सिंहदरबार छिर्नुभएको छ ? सिंहदरबारभित्र प्रवेश गर्दा कतिको सास्ती व्यहोर्नुपरेको छ ? वा पासका लागि कति जनालाई कति पटक भनसुन गर्नुभएको छ ? पहुँच नहुने आम सर्वसाधारणले सिंहदरबार प्रवेश त टाढाको कुरा पासका लागि समेत भनसुन गर्न नसक्ने अवस्था थियो । तर अब त्यो समस्या हट्ने भएको छ ।

सरकारले सिंहदरबार प्रवेश गर्न सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको हो । यसको सुरुवात गृह मन्त्रालयले अनलाइनबाट सिंहदरबार प्रवेश पासका उपलब्ध गराएर परीक्षण गर्न लागेको छ ।

सुरुमा गृह मन्त्रालयमा काम विशेषले आउने सर्वसाधारण तथा जो सुकैले मन्त्रालय प्रवेशका लागि अनलाइन प्रणालीबाट आवेदन दिनुपर्ने र त्यसलाई मन्त्रालयले स्वीकृत गरेपछि प्रवेश पास प्रिन्ट गरेर बोकेर आउने व्यवस्था मिलाउन लागिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले नेपाल प्रेससँग भने, ‘सिंहदरबार प्रवेश सबैका लागि खुला गर्न लागिएको होइन । काम विशेषले आउनेले अनलाइनबाट मन्त्रालयको वेबसाइटमा गएर अनलाइन आवेदन दिन पाउँछ । त्यसपछि मन्त्रालयले स्वीकृत गरेपछि त्यो व्यक्तिले पास प्रिन्ट गरेर प्रवेश पाउँछ ।’

अहिले यो व्यवस्था गृह मन्त्रालय प्रवेशको हकमा मात्रै परीक्षण कालका रूपमा लागू गर्न लागिएको र सफल भएपछि अन्य मन्त्रालय र पुरै सिंहदरबार प्रवेश गर्ने व्यवस्था अनलाइनबाटै गरिने प्रवक्ता भट्टराईले बताए ।

उनका अनुसार गृह मन्त्रालयमा काम पर्ने व्यक्तिले अनलाइनबाट पास प्राप्त गरेर आउने व्यवस्था एक दुई दिनमै लागू गर्न लागिएको छ ।

‘एक दुई दिन अघिबाटै यसको परीक्षण सुरु भइसकेको छ । यद्यपि सर्वसाधारणका लागि खुला भइसकेको छैन । अबको एक दुई दिनमा सुरु गर्ने तयारी छ ।’

अहिले कसरी सिंहदरबार प्रवेश गर्न पाइन्छ त ?

अहिलेसम्म सिंहदरबार सर्वसाधारणका लागि बन्द जस्तै छ । यद्यपि सिंहदरबार भित्र आफ्ना मान्छे जागिरे छन्, सुरक्षाकर्मी छन्, मन्त्री वा सांसद छन् भने उनीहरू नजिकका सर्वसाधारणले मात्रै सिंहदरबार प्रवेश पास पाउँछन् । यदि कोही कसै सर्वसाधारणको सिंहदरबार भित्रका मान्छेसँग चिनजान छैन र पहुँच छैन भने कुनै पनि हालतमा त्यो सर्वसाधारणले सिंहदरबार प्रवेश पास पाउँदैन ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सुरक्षा निकाय, सरकारी संस्थान, निकाय वा कार्यालयमा कार्यरत कर्मचारीको परिचयपत्र तथा पत्रकारले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पास पाउँछन् ।

यसको मतलब व्यवस्थापिका, कार्यपालिका र न्यायपालीकासँगै विभिन्न संवैधानिक आयोग तथा निकायका पदाधिकारी एवं कर्मचारीले पनि परिचयपत्रका आधारमा सहजै सिंहदरबार प्रवेश पास पाउँछन् ।

मन्त्री एवं सांसदको सचिवालयको सहयोगका कतिपयले तीन महिनासम्मका लागि अस्थायी पास लिएर पनि सिंहदरबार प्रवेश गर्न पाउँछन् ।

तर, अरू सर्वसाधारण नागरिकले भने सिंहदरबार प्रवेश गर्नका लागि सिंहदरबार भित्र रहेका निकायमा कार्यरत व्यक्तिलाई फोन गरेर नाम र जन्मेको जिल्लाको ठेगाना टिपाउनुपर्छ ।

त्यसपछि सम्बन्धित निकायले सिंहदरबार प्रवेश गर्नका लागि सिंहदरबारको दक्षिणी गेटमा रहेको झ्यालमा अनलाइनबाट नाम पठाइदिन्छन् ।

त्यसपछि सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र, राहदानी, प्यान नम्बर वा मतदाता परिचयपत्रको सक्कलप्रति झ्यालमा रहेका सुरक्षाकर्मीलाई देखाएर एउटा सानो कागजको चिर्कटो लिएर सिंहदरबार प्रवेश पाउँछन् ।

त्यो पनि एक पटक छिर्नका लागि मात्रै हो । कथमकदाचित तुरुन्तै सिंहदरबार बाहिर काम परेर बाहिर आउनुपर्‍यो भने फेरी सिंहदरबार छिर्नका लागि त्यही यस अघिकै प्रक्रिया पुरा गरेर प्रवेश पास पाइन्छ ।

एक पटक लिएको पास एक एक पटकका लागि मात्रै प्रयोगमा आउँछ । दक्षिणी गेटमा रहेका सुरक्षाकर्मीले भित्र प्रवेश गर्दाका बखत उक्त दिइएको पास च्यातेर हातमा थमाउँछन् । जबकि त्यो पास त्यो दिन पुन प्रयोग नहोस् भनेर ।

प्रधानमन्त्री कार्यालय, गृह र परराष्ट्र मन्त्रालयमा अन्य मन्त्रालयको पास चल्दैन

यसैबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा ती मन्त्रालयबाटै उपलब्ध गराइएको पास बाहेक अन्य मन्त्रालय तथा निकायबाट उपलब्ध गराइएको पासले प्रवेश गर्न पाइँदैन ।

यति मात्रै होइन, ती मन्त्रालयमा सूचना विभागले जारी गरेको पत्रकार परिचयपत्रका आधारमा समेत प्रवेश गर्न दिइँदैन् । तर, त्यो बाहेकका अन्य मन्त्रालय तथा निकायमा भने जुनसुकै निकायबाट उपलब्ध गराइएको पासले प्रवेश गर्न पाउने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर