विदेशमै किनबेच भएको टाइगर प्यालेसको स्वामित्व विवाद, होटल र क्यासिनोमा अर्कैको दाबी – Nepal Press

विदेशमै किनबेच भएको टाइगर प्यालेसको स्वामित्व विवाद, होटल र क्यासिनोमा अर्कैको दाबी

रुपन्देही । बिक्री तथा सञ्चालनको विवादमा परिरहेको रुपन्देहीको टाइगर प्यालेस होटलमा लगानीको वैधानिकता र यसको शेयर कायमबारेको नयाँ विवाद बाहिर आएको छ । ७ वर्षअघि रुपन्देहीको तिलोत्तमा नगरपालिका- १५ मा विदेशीको करिब ५ अर्ब लगानीको सो होटल भूमिगत शैलीमा आधा मूल्यमा देश बाहिर नै किनबेच भएपछि यसको वैधानिकता र नेपालले पाउने राजस्वका विषयमा प्रश्न उठेको थियो ।

होटल खरिदकर्ता सिल्भर हेरिटेजका अध्यक्ष अमेरिका बस्ने गैरआवासीय नेपाली बुद्धि सुवेदीले शेयर होल्डरमात्रै फेरिएको र बैंकमार्फत कर्जा नयाँ कम्पनीमा सारिएको गैरजिम्मेवार जवाफ दिएका थिए । तत्कालीन समयमा साढे २ अर्बमा यो होटल किनेको विषय बाहिर आए पनि अध्यक्ष सुवेदीले सबै तिर्नुपर्ने रकम र राजस्व बुझाउँदा ४ अर्ब पुग्ने जनाएका थिए ।

लगानीको विषयमा पनि अहिलेसम्म कम्पनीले सबै विवरण सार्वजनिक गरेको छैन । यसका लगानीकर्ताको सबै विवरण पनि सार्वजनिक गरिएको छैन । अमेरिकाको डेलावेयरमा दर्ता भएको कम्पनीको नेपालमा सम्पत्ति छ भनेर किनबेच भएको सो होटलको नेपालको सम्पत्ति रोक्का छ ।

२०८० असार २९ गते कम्पनी रजिष्टारमा अमेरिकन नागरिक बुद्धिसागर सुवेदी, क्यानेडियन नागरिक दीपकदत्त गौतम र नेपाली नागरिक सञ्चितकृष्ण श्रेष्ठ सञ्चालक रहेको र साउन २९ मा प्रमाणित भएको छ । अहिले २०८१ साल बैशाख ३ गते विशेष साधारणसभा बसेर श्रेष्ठलाई हटाएर सुनिल जे रायमाझीलाई सञ्चालक बनाइएको छ ।

१६ विघा क्षेत्रफलमा रहेको यो होटलले २ बिघा सार्वजनिक जग्गा मिचेर संरचना बनाएको भन्दै स्थानीयले दायर गरेको मुद्दामा रुपन्देही जिल्ला अदालतले त्यो संरचना भत्काएर खाली गर्नुपर्ने आदेश गरे पनि अहिलेसम्म खाली गरिएको छैन । उल्टै उच्च अदालतमा मुद्दा दर्ता गरेर ढिलाइ गरिएको छ ।

कम्पनीका अध्यक्ष सुवेदीले १६ कठ्ठा जग्गा होटल परिसरभित्र सार्वजनिक परेको र सहमतिमा बाहिर अर्को जग्गा दिएर मिलाउने अघिल्लो व्यवस्थापनले जिम्मेवारी लिएको भन्दै सार्वजनिक जग्गा मिचेको विषय होटल खरिद गरिसकेपछिको पत्रकार सम्मेलनमा स्वीकार गरेका थिए । तर, त्यो जग्गा कहाँ दिएर मिलाइएको हो र नेपाल सरकारको जग्गा त्यसरी अर्को ठाउँमा दिएर कसरी मिलाउन सकिन्छ भन्ने विषयमा उनले केही जवाफ दिन सकेनन् । सार्वजनिक जग्गा मिचेको मुद्दा अहिले पनि उच्च अदालत तुलसीपुर बुटवल इजलासमा विचाराधीन छ ।

यता यो होटल खरिद-बिक्रीबारे छानबिन थालेको अख्तियारको कुनै विषय अहिलेसम्म सार्वजनिक भएको छैन । २०८० जेठ २२ गते नेपाल राष्ट्र बैंकलाई अख्तियारले पत्र पठाएर यसको छानबिन गर्न भनेको विषय नेपालप्रेसले सार्वजनिक गरेको थियो । अहिले यो होटलको सञ्चालक संस्थाको वैधानिकतामाथि नै प्रश्न उठाउन थालिएको छ ।

हङकङको सिल्भर हेरिटेज ग्रुप अस्टेलियाको स्टक एक्सचेन्जमा दर्ता भएको थियो । नेपालमा सिल्भर हेरिटेज नेपाल कम्पनी दर्ता भयो । जसको उद्देश्य अस्ट्रेलियन पब्लिक फण्ड उठाउने थियो । नेपालको सिल्भर हेरिटेज इन्भेस्टमेन्टअन्तर्गतको टाइगर वान रुपन्देही प्रालि, जसलाई टाइगर प्यालेस रिसोर्ट भनेर चिनिन्छ, त्यसमा क्यासिनो सञ्चालन भएको छ । उक्त क्यासिनो सञ्चालक कम्पनी सिल्भर हेरिटेज मेनेजमेन्ट कम्पनीका नेपाली साझेदार थिए सञ्चितकृष्ण श्रेष्ठ ।

 

सञ्चितकृष्ण श्रेष्ठ प्रतिनिधि भएको टाइगर काठमाडौं इन्भेस्टमेन्टको १० प्रतिशत शेयर (टाइगर काठमाडौंको कुल पूँजी १६ करोड)को कम्पनी प्राप्ति पोखरेलको नाममा बिक्री भएको छ । बीबीआई हङकङको कम्पनी अस्ट्रेलियामा टाट पल्टेपछि त्यसको मूल्यांकन कम्प्युटर र केही फर्निचरबाहेक केही थिएन । नेपालमा विदेशी लगानी भनिएको कम्पनीमा नेपाली बैंकहरुकै लगानी छ । अहिले पनि प्राइम बैंकको साढे २ अर्ब लगानी यहाँ रहेको र यो विषयमा पनि प्रश्न उठेको छ ।

उता यो होटलले सार्वजनिक जग्गा मिचेको मुद्दा फिर्ता लिन स्थानीयलाई कांग्रेस, माओवादी, नेकपा एसका शीर्ष नेताहरुको दबाब छ । यसअघि कुलो समितिका अध्यक्षसमेत रहेका स्थानीय कांग्रेस नेता थानेश्वर घिमिरेको अगुवाइमा दर्ता भएको मुद्दामा जिल्ला अदालतले खाली गराउन आदेश दिएको थियो । उनी पार्टीमा इतर समूहका नेता हुन् ।

अहिले उनी सियारी गाउँपालिका अध्यक्ष बनेपछि त्यो समितिको नेतृत्व छाडेका छन् । स्थानीयलाई यो मुद्दा फिर्ता लिन कांग्रेस नेताहरु पूर्ण खड्का, बालकृष्ण खाण, रामकृष्ण खाण निकटका नेताहरुले दबाब दिइरहेका छन् । मुद्दा फिर्ताको दबाब दिएपछि स्थानीयले उनीहरुको संलग्नतामाथि प्रश्न उठाएका छन् ।

नेपालभन्दा बाहिरै टाइगर प्यालेसको किनबेचमा पनि कांग्रेसका यी नेताहरु नै मध्यस्थकर्ता बनेका छन् । अहिले पनि तिलोत्तमाका मेयर रामकृष्ण खाणको बास टाइगर प्यालेसमै हुने गरेको छ ।

यो होटलको शेयर होल्डरको विषयमा अहिले पुनः विवाद सुरु भएको छ । अहिले नेपालको एउटै आधिकारिक पार्टनर प्राप्ति पोखरेलले टाइगर प्यालेसलगायत क्यासिनो व्यवस्थापनमा दाबी गरेकी छन् । बाहिर किनबेच गरेका मान्छेले नेपालको सम्पत्ति कर छली गरेको विषय पहिलेदेखि आए पनि यस विषयमा व्यवस्थापनले कुनै जवाफ दिएको छैन ।

‘प्राप्ति पोखरेलमात्र आधिकारिक पार्टनर भएर अहिले समस्या आउन थालेको छ, बाहिर किनबेच भएको कम्पनीका मान्छेहरुको लगत प्रमाणित भएको छैन, उता अदालतले रोक्का गरेकाले अर्को समस्या छ’, स्रोतले भन्यो ।

विदेशी कम्पनी सिल्भर हेरिटेजले सञ्चालन गरेको यो होटल अमेरिकामा रहेका एनआरएनहरुको कम्पनीले देश बाहिर खरिद गरेको विषय बाहिर आएपछि गत वर्ष नै सरकार र अख्तियारले यसको छानबिन थालेका थिए । सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेस्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट कम्पनी खरिद गरेको भनिएको छ ।

हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ । हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगरमा सरेको तयारी जवाफ कम्पनीले दिएको छ ।

विशेषगरी अवैध सुन प्रकरणमा हङकङमा बसेर नेपालीहरुले योजना बनाइरहेको विषय बाहिर आइरहेको बेला यो कारोबारसमेत उतै गरिएको विषयले सरकार र सम्बद्ध निकायलाई चिसो पसेको छ ।

हिमालयन टाइगरमा सुवेदी, गैरआवासीय नेपाली संघका एक जना वर्तमान अध्यक्ष कुल आचार्य, क्यानडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतम, डा. केशव पौडेललगायतको लगानी रहे पनि उनीहरुको नाम गोप्य राखिएको छ । अध्यक्ष सुवेदीले सोही बेला लगानीकर्ताको विषयमा प्रश्न गरेपछि घुमाउरो पाराले जवाफ दिएका थिए, ‘मलगायत क्यानडा, युरोप र अमेरिका बस्ने साथीहरुको समूह छ । सबै किन चाहियो र ?’

नेपालमा अदालतको आदेशलगायत केही जटिलताका कारण आफूहरुले हङकङमा खरिदबिक्री गरे पनि यहाँ तिर्नुपर्ने सबै दायित्व तिरेर कानूनी प्रक्रिया पूरा गर्ने सोही समयमा अध्यक्ष सुवेदीले बताएका थिए । तर, यसको शेयर लगतसमेत हस्तान्तरण नभई शक्ति केन्द्रको आडमा सुवेदीले सम्पत्ति शुद्धीकरणबाट सफाइ पाएको बताइन्छ ।

यसअघि नै ५ अर्ब लगानी गरेको होटलले प्राइम बैंकबाट २ अर्ब ५० करोड रूपैयाँ ऋण लिएको र अहिले किन्ने कम्पनीले त्यो ऋण सारेको जनाएको छ । सबै विवरण सार्वजनिक नगरिएकाले बैंकको लगानीसमेत शङ्कास्पद देखिएको, होटलको लगानीबारे विवाद चलिरहेकै बेला प्राइम बैंकले भने आँखा चिम्लिएर लगानी गरेको र कम्पनीले बैंकबाट लिएको रकम पनि दुरूपयोग गरेको आरोप लागेको थियो ।

यसअघि लामो समय क्यासिनो बन्द रहेको रिसोर्टमा २०८० चैत १६ गतेदेखि क्यासिनो सञ्चालनमा आएको छ । ‘टाइगर इज ब्याक’ नारासहित क्यासिनो पुनः सुरु गरिएको छ । तर, क्यासिनो एसएचएल कम्पनीको नाममा चलाइएको छ । यसअघि दक्षिण एसियामै क्यासिनो खेलका लागि आर्जन गरेको ख्यातिलाई कायम राख्ने गरी नयाँ व्यवस्थापनले क्यासिनोसँगै रिसोर्ट पूर्ण सञ्चालनमा ल्याएको लगानीकर्ताले दाबी गरेका छन् । आफ्नो कम्पनीले खरिद गरेपछि रिसोर्टका ९० प्रतिशत समस्या समाधान भइसकेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर