एसीसी प्रिमियर कप: नेपालको निराशाबीच चम्केका तीन खेलाडी – Nepal Press

एसीसी प्रिमियर कप: नेपालको निराशाबीच चम्केका तीन खेलाडी

काठमाडौं । ओमानमा सम्पन्न एसीसी प्रिमियर लिगमा नेपालले निराशाजनक नतिजा निकाल्दा खेलाडीहरुको व्यक्तिगत प्रदर्शन पनि सन्तोषजनक रहन सकेन । महत्वपूर्ण म्याचमा प्रमुख खेलाडीहरु नचलेपछि नेपालले दोस्रो पटक एसिया कप खेल्ने सपनालाई थाँती राख्नुपर्‍यो ।

प्रतियोगिताको समूह चरणमा सबै म्याच जिते पनि नेपालको प्रदर्शन गर्व गर्न लायक थिएन । कमजोर टीमहरुले पनि नेपाललाई कडा टक्कर दिएका थिए । सबैभन्दा महत्वपूर्ण सेमिफाइनलमा नेपालले यूएईविरुद्ध सबैभन्दा कमजोर प्रदर्शन गर्‍यो । न ब्याटिङ चल्यो न त बलिङ । उपाधिको प्रबल दावेदार मानिएको नेपाल सेमिफाइनलबाट आउट भयो ।

कागजमा नेपालको ब्याटिङ पक्ष निकै मजबुत थियो । ९-१० नम्बरसम्म अलराउन्डर थिए, जसले बल र ब्याट दुवैबाट योगदान पुर्‍याउन सक्थे । टप अर्डर नचल्दा मिडल अडर र त्यो पनि नचल्दा लो अर्डरले समेत खेल जिताउने दुर्लभ सामर्थ्य भएको टीम हो नेपाल । तर, यो प्रतियोगितामा नेपालको कुनै पनि ब्याटिङ लाइनअपले त्यो सामर्थ्य प्रदर्शन गर्न सकेन । खासगरी टप अर्डरको प्रस्तुति दयनीय रह्यो ।

नेपालको भरपर्दो र अनुभवी ओपनिङ जोडी यस पटक फ्लप भयो । कुशल भुर्तेल र आसिफ शेख दुवै चलेनन् । कुशलले त लगातार ३ डक आउटको लाजमर्दो रेकर्डसमेत बनाए । आसिफले कतारविरुद्ध अर्धशतक बनाए पनि अन्य खेलहरुमा फिका नै भए । कप्तान रोहितकुमार पौडेलले ‘स्टार्ट’ लिए । तर, कन्भर्ट गर्न सकेनन् । विस्फोटक ब्याट्सम्यानको छवि बनाएका कुशल मल्लले पनि निराश बनाए । चाहिएको बेला उनको ब्याटबाट रन निस्किएन ।

नेपालको ब्याटिङमा मध्यक्रमका सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्शन झा भने राम्रो प्रदर्शन गर्न सफल भए । उनीहरु तीनै जनाले कठिन अवस्थामा आएर उत्कृष्ट ब्याटिङ गर्दै अग्रपंक्तिका ब्याट्सम्यानलाई पाठ सिकाए । यद्यपि, कन्डिसनका हिसाबले सुरुमा आउने ब्याट्सम्यानलाई भन्दा पछाडि आउनेलाई अलिकति सहज त थियो नै ।

दीपेन्द्र र गुल्शनले त ब्याटबाट विगतमा धेरै पटक नेपालको जीतमा योगदान दिँदै आएका हुन् । यो प्रतियोगिताबाट सन्दीप जोरा आफूलाई एउटा उम्दा ब्याट्सम्यानको रुपमा उभ्याउन सफल भए । उनी कम्तीमा टी-२० क्रिकेटमा नेपाली टीमका एक महत्वपूर्ण सदस्यका रुपमा रहने सम्भावना बढाएका छन् । साथै एक दिवसीयमा पनि मध्यक्रममा स्थान बनाउन सक्छन् । उनको टेक्निक र टेम्परमेन्ट दुवै राम्रो छ । सेमिफाइनलमा यूएईविरुद्ध अरु सबै ब्याट्सम्यानले ‘आत्मसमर्पण’ गर्दा सन्दीपले काउन्टर अट्याक गर्दै अर्धशतकीय पारी खेलेका थिए ।

जोराले ६ खेलमध्ये पाँच वटामा ब्याटिङ गर्दा २ पटक नटआउट रहँदै कुल ११० रन बटुले । नेपालबाट सर्वाधिक रन बनाउनेको सूचीमा उनी चौंथो स्थानमा छन् । तर, कठिन समयमा उनले बनाएका प्रत्येक रन बहुमूल्य थिए ।

दीपेन्द्रले भने उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे । उनी प्रतियोगितामा सबैभन्दा बढी रन बनाउनेमात्र नभएर सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीसमेत हुन् । दीपेन्द्रको फिल्डिङको पनि उत्तिकै चर्चा भयो । कतारविरुद्धको खेलमा अन्तिम ओभरमा ६ छक्का हान्दै उनले सनसनी मच्चाएका थिए । यस्तै हङकङविरुद्धको खेलमा पनि उनले नेपाललाई दयनीय स्कोरबाट जोगाए ।

प्रतियोगितामा दीपेन्द्रको स्ट्राइक रेट उत्कृष्ट रह्यो । उनले ५ इनिङमा १५० रन बटुल्दा १९२.३० को सनसनीपूर्ण स्ट्राइक रेट कायम गरेका थिए । प्रतियोगितामा दीपेन्द्रको औसत रन ५० को छ, जुन टी-२० क्रिकेटमा उत्कृष्ट हो । बलिङमा पनि उनले आफ्नो उत्कृष्टता प्रस्तुत गरे । उनले ५.३ को इकोनोमीमा किफायती बलिङ गर्नुका साथै ८ विकट आफ्नो पोल्टामा पारे । समग्रमा दीपेन्द्रबाट जे अपेक्षा गरिन्छ, त्यसलाई उनले पूरा गरे ।

अलराउन्डर गुल्शन झा केही समयदेखि नेपाली टीमको अभिन्न हिस्सा बनिरहेका छन् । उनले फेरि एक पटक आफूलाई सावित गरेर देखाए ओमान भ्रमणमा । मलेसिया र साउदी अरबविरुद्धको म्याचमा नेपालको इनिङ फँसिरहेको बेला गुल्शनले ठूला हिटहरु लगाएर जीत दिलाएका थिए । उनी नेपालका लागि ‘क्राइसिस म्यान’ का रुपमा देखापरेका छन् ।

अलराउन्डरको भूमिकामा न्याय गर्दै गुल्शनले बलिङबाट पनि योगदान दिए । उनको बलिङ केही महँगो भए पनि महत्वपूर्ण विकेट लिन सफल भएका थिए । गुल्शनले ५ खेलमा ९.२ ओभर बलिङ गर्दा ९२ रन खर्चिए भने चार जना ब्याट्सम्यानलाई आउट गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर