नेपाल कम्युनिष्ट पार्टीको ७५ वर्ष पार- १६ वटा पार्टीका कति धार ? – Nepal Press

नेपाल कम्युनिष्ट पार्टीको ७५ वर्ष पार- १६ वटा पार्टीका कति धार ?

काठमाडौं । कोलकातामा स्थापना भएको भारतको सबैभन्दा पुरानो कम्युनिष्ट पार्टी भाकपाले पश्चिम बंगालमा करिब ३५ वर्ष जनमतबाट निर्वाचित भएर एकछत्र शासन गरेको थियो । सन् १९२५ मा स्थापना भएको उक्त पार्टी सन् १९७७ देखि २०११ सम्म सत्तामा रह्यो र अहिले त्यही बंगालमा पत्तासाफको अवस्था भोगिरहेको छ ।

एमएन रोयसहित ६ जनाले स्थापना गरेको कम्युनिष्ट पार्टी सत्तामा पुग्न ५० वर्ष लागेको थियो भने सत्ताच्युत भएको १४ वर्ष पुग्दा झनै कमजोर बनिरहेको छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले वैशाख १० गते हीरक जयन्ती मनाइरहँदा भाकपाको उदाहरण दिइनुको अर्थ छ ।

नेकपा स्थापनाको ४५ वर्षपछि पहिलो पटक सत्तामा गएको पार्टी भाकपा जस्तै करिब ३० वर्षदेखि निरन्तर सत्तामा छ । २०६४ र २०७४ सालमा करिब २ तिहाइ बहुमतमा पुगेका नेपालका कम्युनिष्ट पार्टी पछिल्लो पटक सामान्य बहुमतमा पनि छैनन् र यात्रा भाकपाको जस्तै ओरालोमा छ ।

भारतमा भाकपा मार्क्सवादी, भाकपा माले, फरवार्ड ब्लकलगायत थोरैमात्र पार्टी छन्, जसले चुनावमा भाग लिन्छन् । नक्सलाइटहरु युद्धमा छन् । नेपालमा भने अहिले कम्युनिष्टहरु युद्धमा छैनन् । तर, संसदभित्र र बाहिरको संख्या करिब डेढ दर्जन छ ।

नेपाल कम्युनिष्ट पार्टीको इतिहास र यसको विभाजनका बारेमा धेरै अध्ययन, अनुसन्धान र पुस्तकहरु प्रकाशन भएका छन् । सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेले नेकपाको हीरक जयन्ती मनाइरहँदा नेपालका विभाजित कम्युनिष्ट पार्टीहरुको संक्षिप्त चर्चा यहाँ गर्न खोजिएको छ ।

नेपालमा अहिले संसदभित्र र बाहिर गरेर १६ वटा कम्युनिष्ट पार्टीको नाम र साइनबोर्ड अस्तित्वमा छन् । कतिपय व्यक्तिले घरमै पनि साइनबोर्ड झुण्ड्याएर राखेका छन् । तीमध्ये एक तिहाइको मात्र संसदीय राजनीतिमा अस्तित्व छ ।

१) नेकपा एमाले : केपी शर्मा ओली
२) नेकपा माओवादी केन्द्र : प्रचण्ड
३) नेकपा एकीकृत समाजवादी : माधव नेपाल
४) नेमकिपा : नारायणमान बिजुक्छें
५) नेकपा मसाल : मोहनविक्रम सिंह
६) नेकपा : नेत्रविक्रम चन्द
७) क्रान्तिकारी कम्युनिष्ट पार्टी : मोहन वैद्य
८) नेकपा बहुमत : हेमन्तप्रकाश वली
९) नेकपा संयुक्त : चन्द्रदेव जोशी
१०) नेकपा माले : सीपी मैनाली
११) नेकपा मार्क्सवादी : लोकनारायण सुवेदी
१२) वैज्ञानिक समाजवादी पार्टी : विश्वभक्त दुलाल
१३) नेकपा माओवादी : गोपाल किराँती
१४) आम जनता पार्टी : प्रभु साह
१५) नेकपा एकता राष्ट्रिय अभियान : वामदेव गौतम
१६) नेपाल कम्युनिष्ट पार्टी : ऋषि कट्टेल

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी १५ वर्षपछि अर्थात २०१९ सालमा पहिलो पटक विभाजित भएको थियो । केशरजंग रायमाझी दरवारतिर लागेपछि तुलसीलाल अमात्यलाई महासचिव चयन गरेसँगै रायमाझीले अलग पार्टी बनाएका थिए ।
त्यसपछिको विभाजन पुष्पलालको नेतृत्वमा २०२७ सालमा भएको थियो । त्यही बेला झापामा सशस्त्र क्रान्तिसँगै हालको नेकपा एमालेको उदय भयो भने २०३१ सालमा पुष्पलालबाट फुटेर मोहनविक्रम सिंहहरुले चौथो महाधिवेशन गरेपछिको धार अहिलेको माओवादी केन्द्र हो ।

यो हिसाबले नेपालमा अस्तित्वमा रहेका कम्युनिष्ट पार्टीहरुमध्ये पुष्पलालपछिको झापा क्रान्तिको धारमा एमाले, नेकपा एस, सीपी मैनाली नेतृत्वको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेकपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको अस्तित्व छ । चौथो महाधिवेशन धार नै समय क्रममा प्रचण्ड नेतृत्वको माओवादी जनयुद्ध र मोहनविक्रम नेतृत्वको नेकपा मसाललगायत हुन् ।

नारायणमान बिजुक्छें नेतृत्वको नेपाल मजदुर किसान पार्टीको आफ्नै धार निरन्तर चलिरहेको छ भने नेकपा संयुक्त, नेकपा मार्क्सवादी जस्ता साइनबोर्डमात्र भएका कम्युनिष्ट पार्टीहरु केशरजंग रायमाझी धारबाट बाहिरिएर फरक धारको नेतृत्व गर्दै आएकाहरु हुन् ।

झापा क्रान्तिको धारः

  • नेकपा एमाले
  • नेकपा एकीकृत समाजवादी
  • नेकपा माले
  • नेकपा (ऋषि कट्टेल)
  • नेकपा एकता राष्ट्रिय अभियान

चौथो महाधिवेशन धार

  • नेकपा माओवादी केन्द्र
  • नेकपा मसाल
  • नेकपा –विप्लव सी
  • नेकपा बहुमत
  • क्रान्तिकारी कम्युनिष्ट पार्टी
  • नेकपा माओवादी
  • आम जनता पार्टी
  • वैज्ञानिक समाजवादी पार्टी

फरक धारा

  • नेपाल मजदुर किसान पार्टी
  • नेकपा संयुक्त
  • नेकपा मार्क्सवादी

नेकपा विभाजनको जस्तो श्रृंखला एकताको भने स्थायी छैन । २०४७ सालमा नेकपा माले र मार्क्सवादी मिलेर बनेको नेकपा एमाले मूलधारमा कायमै रहँदा दुई पटक विभाजित भइसकेको छ । यद्यपि विभाजनले पनि एमालेलाई राष्ट्रिय राजनीतिको मूलधारभन्दा बाहिर लैजान सकेको छैन ।

सबैभन्दा बढी विभाजन भएको धार चौम समूह नै हो । उक्त समूहबाट अघि बढेको माओवादी केन्द्रले जनयुद्धदेखि देशकै ठूलो पार्टी बन्ने संसदीय राजनीतिमा समेत निर्णायक प्रभाव राख्यो । अहिले आकारको हिसाबले सानो भए पनि उसले देशको शासनमा भने नेतृत्व पाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर