आईपीएल : कोहली शीर्षस्थानमा, बैंगलोर पुछारमा – Nepal Press

आईपीएल : कोहली शीर्षस्थानमा, बैंगलोर पुछारमा

नयाँ दिल्ली। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर, कोलकत्ता नाइट राइडर्ससँग १ रनले स्तब्ध भयो।

२ सय २३ रनको लक्ष्य पाएको बैंगलोरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २ सय २१ रन मात्र जोड्न सक्यो।

प्रतियोगितामा बैंगलोरको यो लगातार छैटौँ हार हो। ८ खेल खेल्ने क्रममा केवल एक जित हात पारेको बैंगलोर तालिकाको पुछारमा छ।

बैंगलोरले ८ खेलबाट २ अंक जोडेको छ। जारी प्रतियोगितामा केवल एक खेल मात्र जित्ने बैंगलोर एक मात्र टोली हो। ब्याटिङ हेर्ने हो भने बैंगलोर त्यति खराब पनि देखिँदैन। बैंगलोरमा विराट कोहली, फाप डु प्लेसिस, दिनेश कार्तिक, मोहम्मद सिराजस्ता नाम चलेका खेलाडी छन्। विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल चल्न नसकेपछि आराम गरिरहेका छन्।

अघिल्लो खेलमा सनराइजर्स हैदराबादले आईपीएल इतिहासकै सर्वाधिक ठुलो २ सय ८८ लक्ष्य दिएको थियो र त्यति धेरै रनको लक्ष्य पाउने बैंगलोर नै बनेको थियो। यद्यपी बैंगलोरले २ सय ६२ रनसम्म पुर्‍याएको थियो।।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई एक सय ७४ रनको लक्ष्य दिएर पराजित भएको बैंगलोरले दोस्रो खेलमा पन्जाबले दिएको एक सय ७७ रनको लक्ष्य पुरा गरेर पहिलो जित हात पारेको थियो।

त्यसयता कोलकाता नाइट राइडर्सलाई एक सय ८३ रनको लक्ष्य दिएर ७ विकेटले पराजित भयो भने लखनउ सुपर जाइन्ट्ससँग एक सय ८२ रनको लक्ष्य पछ्याउँदा २८ रनले हार बेहोर्न पुगेको थियो।

राजस्थान रोयल्सलाई एक सय ८४ रनको लक्ष्य दिएर ६ विकेटले पराजित हुँदा अर्को खेलमा बैंगलोरले दिएको एक सय ९७ रनको लक्ष्य मुम्बई इन्डियन्सले पुरा गरेको थियो। भारतीय टोलीका पूर्व कप्तान विराट कोहली आईपीएलका सबै सिजन एकै टोलीबाट खेल्ने एक मात्र खेलाडी हुन्।

उनी पहिलो सिजनदेखि बैंगलोरका लागि खेलिरहेका छन्। बैंगलोरले हालसम्म यो प्रतियोगिता जित्न सकेको छैन। बैंगलोर तीनपटकसम्म फाइनल पुगेर पराजित भएको थियो। यो सिजन बैंगलोर तालिकाको पुछारमा रहे पनि कोहली सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा शीर्षस्थानमा छन्।

उनले ८ खेलमा एक शतक र २ अर्धशतकसहित ३ सय ७९ रन जोडेका छन्। दोस्रो स्थानमा रहेका सनराइजर्स हैदराबादका ट्राभिस हेडले ६ खेलमा एक शतक र २ अर्धशतकसहित ३ सय २४ रन बनाएका छन्। राजस्थान रोयल्सका रियान पराग ३ सय १८ रनसहित तेस्रोमा छन्।

कोहली आईपीएल इतिहासकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन्। उनले २ सय ४५ खेलमा ७ हजार ६ सय ४२ रन जोडेका छन् भने दोस्रो स्थानमा रहेका शिखर धवनको नाममा ६ हजार ७ सय ६९ रन रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर