महिला हत्याको आरोपमा श्रीमान् र जेठाजु पक्राउ, घरभित्र शव पुरेर ७ महिनाअघि भारत भागेका थिए – Nepal Press

महिला हत्याको आरोपमा श्रीमान् र जेठाजु पक्राउ, घरभित्र शव पुरेर ७ महिनाअघि भारत भागेका थिए

गोदार (धनुषा) । धनुषामा एक महिलाको हत्या आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् । सात महिनाअघि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरी उनीहरू फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका-७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर छन् । सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

गत वर्ष कात्तिक १० गते रेखादेवी र सुदीपबीच विवाद भएको थियो । सुदीपले बञ्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो । भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए । उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको डीएसपी अवालेले बताए ।

‘घटनापछि दुवै दाजुभाइ भारतमा काम गर्न गएको खुलेको छ’, उनले भने । दुवैजना गत वर्ष कात्तिक ३० गते घर फर्किएका थिए । दाजुभाइले खाल्डोबाट शव निकाली बोरामा हालेर सहिदनगर-७ नेमुवाटोल नजिकै खोल्सामा फालेको खुलेको छ ।

हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोराले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको साथै घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ । शवको टुक्रा पनि भेटिएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर