नेकपा स्थापना दिवसमा प्रधानमन्त्रीको अपील- वामपन्थी एकताको अभियानमा लामवद्ध हौं – Nepal Press

नेकपा स्थापना दिवसमा प्रधानमन्त्रीको अपील- वामपन्थी एकताको अभियानमा लामवद्ध हौं

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्दै बदलिँदो राजनीतिक समीकरणले सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउने विश्वास जनाएका छन् ।

वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा आफूहरू अग्रसर भइरहेको उनको भनाइ छ ।

कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको अभियानमा सहभागी हुन प्रचण्डको अपील छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै उनले आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न संकल्प गर्ने दिन भएको बताएका छन् ।

‘वर्गसंघर्ष र अन्तरसंघर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिस्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको छ । यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको छ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सकिने प्रचण्डले बताएका छन् । यो सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु सबैको जिम्मेवारी रहेको भन्दै सकारात्मक योगदानको अपेक्षा प्रधानमन्त्रीले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर