८४ मा एमालेकाे बहुमत आउने गरी काम गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्देशन (भिडिओ) – Nepal Press

८४ मा एमालेकाे बहुमत आउने गरी काम गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्देशन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्याउनेगरी काममा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

आइतबार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्याउनेगरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । उनले नेकपा(एमाले) राष्ट्रिय शक्तिको रुपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताए । उनले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताए । उनले पार्टीलाई सुदृढ र मजबुत बनाउन नेतृत्वको आचरणहरुलाई पनि सुदृढ गर्नुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरु पब्लिक अडिटमा रहने भन्दै पब्लिक अडिटमा बेरुजु निस्किने छुट आफूहरुलाई नभएको बताए । उनले व्यक्तिगत आचरण राम्रो बनाउन पनि आग्रह गरे ।

यस्तो छ पोखरेलको भनाइः

नेकपा(एमाले) आफैँ एउटा राष्ट्रिय शक्ति हो । एमालेले राष्ट्रिय शक्तिको रुपमा भुमिका खेल्दैछ । तर निर्णायक रुपमा नेकपा(एमाले)रुपी राष्ट्रिय शक्ति निर्णायक बिन्दुमा पुग्नुपर्ने आवश्यकता छ । त्यसको लागि हामीले योजनावद्ध ढंगले आफूलाई अगाडी बढाउनु जरुरी छ । एमाले मात्रै होइन, अरु कतिपय त्यस्ता राष्ट्रिय शक्तिको पंक्तिमा पर्ने पक्षहरु पनि छन् ।

ति सबैलाई समेटेर लिएर जानुपर्ने दायित्व एमालेको काँधमा छ । म के आग्रह गर्न चाहन्छु भने कुल मिलाएर नेकपा(एमाले) बलियो भयो भने राष्ट्रिय शक्ति निर्णायक रुपमा बलियो हुनसक्छ । एमाले कमजोर भयो भने मुलुकको राष्ट्रिय शक्ति कमजोर हुनेछ ।

त्यसकारणले एमालेलाई बलियो बनाउने, सुदृढ गर्ने, विचारमा स्पष्ट, संगठनमा सुदृढ, जनतामा स्थापित भएको नेतृत्व एमालेले खोजेको चिज यही हो । यदि विचारमा लिरिबिरी गर्नेहरुको पंक्ति बढ्दै गयो भने एमाले कमजोर हुनेछ । संगठन सुदृढ भएन भने एमाले कमजोर हुनेछ । र जनतामा स्थापित भएको, लोकप्रियता प्राप्त गरेका व्यक्तिहरु नेतृत्वमा रहेनन् भने एमाले कमजोर हुनेछ ।

त्यसकारणले एमालेलाई सुदृढ गर्नु, मजबुत बनाउनु, विचार, संगठन, नेतृत्वमा उसका आचरणहरुमा सुदृढ गर्नु राष्ट्रिय शक्ति निर्माण गर्ने कुराको महत्वपूर्ण पक्ष हो । मिसन ०८४– एमालेलाई बहुमतमा पु¥याउने, त्यो भनेको एमालेरुपी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पुर्याउने काममा हामी सबै लाग्नुपर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर