गोर्खा भर्तीको इतिहास समेटिएको नरेश काङमाङको नयाँ कृति ‘पानी पतिया’ को विमोचन – Nepal Press

गोर्खा भर्तीको इतिहास समेटिएको नरेश काङमाङको नयाँ कृति ‘पानी पतिया’ को विमोचन

काठमाडौं । ‘युद्ध साहित्य’माथि निरन्तर कलम चलाइरहेका कवि तथा लेखक नरेश काङमाङ राईको नयाँ गैरआख्यान ‘पानी पतिया’ सार्वजनिक गरिएको छ । थापागाउँस्थित मण्डला थिएटरमा अध्येता भोगिराज चाम्लिङ, नेतृ मानुषी यमी भट्टराई, प्राध्यापक तथा समीक्षक गुरुङ शुसान्त र लेखक स्वयंले पुस्तकको विमोचन गरेका हुन् ।

आफ्ना अघिल्ला आधा दर्जन ज्यादा पुस्तकबाट युद्ध र युद्ध जनित पीडालाई मुख्य विषयवस्तु बनाएका काङमाङले यसपटक निबन्धात्मक शैलीमा गोर्खा सैनिकको इतिहासलाई समेटेका छन् ।

लाहुरे समुदायले गोर्खा भर्तीका क्रममा भोग्नु परेको विभेद र अन्यायलाई मुख्य विषय बनाएर पानी पतिया जस्तो सांस्कृतिक विभेदजन्य इतिहासमाथि ‘पानी पतिया’मा प्रकाश पार्ने कोसिस गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्येता चाम्लिङले ‘पानी पतिया’ लाहुरे आफैंले लेखेको भन्दा पनि ‘आउटसाइडर’ले लेखेको जस्तो पुस्तक भएको बताए । उनले लाहुरे भएर लाहुरेको भित्रिया कुरा समेत पुस्तकमा उल्लेख गरेको भए पुस्तक अझैं राम्रो हुने समेत बताए ।

तर, पुस्तकले लाहुरको इतिहास खोतल्न सक्षम रहेको बताए । उनले भने, ‘यो पुस्तक अध्ययन, अनुभव र अनुभूतिको त्रिवेणी हो । पुस्तकले गोर्खा भर्तीको इतिहास मात्रै नभई भर्ती भएर जानेहरुले व्यहोरेको दुःखबारे पनि जानकारी दिन्छ ।’

अर्का वक्ता भट्टराईले पुस्तक सरल भाषामा लेखिएकाले पठनीय भएको बताइन् । उनले भनिन्, ‘गोर्खा भर्तीको इतिहासमाथि धेरैवटा किताब पढ्नुभन्दा यी किताबले सबैथोक छर्लंगै बनाउने रहैछ । सामान्यतया विद्यार्थीलाई यो किताब पढ्न रिफर गर्दा धेरै राम्रो हुने रैछ । नत्र इतिहासको किताब ठूल्ठूला ठेलीमा हुन्छन्, भाषा बुझ्न पनि उस्तै गाह्रो हुन्छ । तर,यो किताब त्यस्तो छैन ।’

त्यस्तै गुरुङ सुशान्तले आदिवासी जनजातिलाई राज्यले लाहुरे बनाएर पहिचानको आन्दोलनलाई कमजोर मात्रै नबनाएर ‘पानी पतिया’को नाममा हिन्दुकरण गरेको इतिहास उल्लेख भएकाले किताब पठनयोग्य भएको बताए ।

अन्त्यमा लेखक काङमाङले वक्ताहरुबाट आएका सुझावलाई शीर फूल मानेर हिँड्ने बताउँदै भने, ‘पहिलो र दोस्रो विश्वयुद्धबाट जो फर्किएनन्, ती मानिस हराउनुको पीडा उनीहरुको परिवारलाई थाहा छ । ती मान्छेबारे न नेपाल सरकारले खोज्यो, न त बेलायतले नै जानकारी दियो । त्यसैले यो आन्दोलनले जन्मिएको किताब हो ।’

यसअघि काङमाङमा ‘अनुहारमा लुकाइएका चोटहरु’, (कविता संग्रह), ‘पप्पी फूल’ कवितासंग्रह), ‘युद्ध बोकेको सिताङ’ (उपन्यास), ‘एघार नोभेम्बर’ (कथासंग्रह), ‘तेप्लायु’ (कवितासंग्रह) प्रकाशित छन् । उनको ‘पानी पतिया’ फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *