सत्ता समीकरण जोगाउन सुदूरपश्चिमको मुख्यमन्त्री छोड्यौं: रञ्जिता श्रेष्ठ – Nepal Press

सत्ता समीकरण जोगाउन सुदूरपश्चिमको मुख्यमन्त्री छोड्यौं: रञ्जिता श्रेष्ठ

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अहिलेको सत्ता समीकरण बचाउन आफ्नो दलले सुदूरपश्चिममा मुख्यमन्त्री पद छोडेको बताएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनमा असर नपारोस् भन्नको लागि र गठबन्धन बलियो बनाउन आफू एक कदम पछाडि हटेको बताइन ।

‘सत्ता समीकरण बचाउन र सम्भावित राजनैतिक दुर्घटना हुन नदिन म एक कदम पछि हटेको हुँ’, उनले भनिन्, ‘हामीले मुख्यमन्त्री पाउँदै थियौं । तर, अहिले हाम्रो एक जना भौतिक पूर्वाधार मन्त्रालयमा जानुभएको छ । अर्को सांसद पनि मन्त्रालय तोक्ने बित्तिकै सरकारमा जानुहुन्छ ।’

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष पक्षका दुई सांसद छन् । एक जनाले भौतिकमन्त्रीको शपथ ग्रहण गर्दा अर्की सांसद टीका थापाले भने शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेकी थिइन् ।

उनले सामाजिक सञ्जालमा वर्तमान सरकारलाई आफ्नो समर्थन रहेकोसमेत उल्लेख गरेकी थिइन् । आज अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्य थापाले फेसबुकमा लेखेको कुरालाई लिएर सरकारको समर्थन फिर्ता लिएको बुझ्न नहुने बताइन् ।

‘फेसबुकबाट राजनीति हुँदैन’, उनले भनिन्, ‘उहाँ टीका थापाले विनाविभागीयमन्त्री नखाने भन्नुभएको हो । विभाग तोकिएपछि शपथ लिनुहुन्छ ।’

अध्यक्ष श्रेष्ठ नेता कार्यकर्ताहरूसँगको भेटघाटपछि आजै काठमाडौं फर्किएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर