आयातमा नेपालबाट बाहिरिन्छ मासिक सवा खर्ब : शीर्ष १० देशसँग कस्तो छ नाफा-घाटा ? – Nepal Press

आयातमा नेपालबाट बाहिरिन्छ मासिक सवा खर्ब : शीर्ष १० देशसँग कस्तो छ नाफा-घाटा ?

पेट्रोलियम पदार्थको आयात बराबर पनि हुँदैन निर्यात

काठमाडौं । नेपालीहरुले महिनामै सवा एक खर्बभन्दा बढीको मालवस्तु प्रयोग गर्ने गरेको सरकारी तथ्यांकले देखाएको छ । नुनदेखि सुनसम्म अधिकांश वस्तुको प्रयोगमा नेपालीहरुको परनिर्भरता उच्च छ ।

देशबाट बाहिरिने र भित्रिने वस्तुको तथ्यांक राख्ने भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (२०८०/८१) को ९ महिनामा (साउन देखि चैतसम्म) मुलुकबाट ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको छ । यसलाई आधार मान्ने हो भने मासिक औसतमा १ खर्ब २९ अर्ब ७० करोड रुपैयाँ बाहिरिन्छ ।

तर, नेपाल भित्रिने रकम ९ महिनामा १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ मात्र रहेको छ । यो भनेको मासिक औसत १२ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । यद्यपि केही समय यता आयात र निर्यात दुवैमा कमी आइरहेको छ । तर पनि निर्यातको तुलनामा आयात निकै उच्च देखिन्छ ।

आयात र निर्यात दुवैमा कमी आउँदा यस वर्ष कूल वैदेशिक व्यापार र व्यापार घाटा दुवैमा कमी आएको छ ।

चैत मसान्तसम्म कूल वैििदशक व्यापारमा २.९२ प्रतिशतले कमी आइ १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख १५ हजार रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा (चैतसम्म) १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ वैदशिक व्यापार भएको थियो । चालू वर्ष आयातमा २.८४ प्रतिशतले कमी आएको छ भने निर्यातमा ३.६६ प्रतिशतले कमी आएको छ ।

नेपालमा उच्च आयात पेट्रोलियम पदार्थको भएको छ । पेट्रोलियम पदार्थ आयात साढे २ खर्ब पुगेको छ । यो भनेको नेपालले नौ महिनामा गरेको निर्यात भन्दा निकै बढी हो । यस्तै, आइरन र स्टिल आयात ९७ अर्ब २४ करोड पुगेको छ ।

योसँगै नेपालले आयातबाट ९ महिनामा ३ खर्ब ६ अर्ब ८० करोड १७ लाख ९५ हजार रुपैयाँ भन्सार राजस्व उठाएको छ ।

छिमेकी मुलुक भारतबाट मात्रै ७ खर्ब २९ अर्ब ६५ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ भने नेपालले सो समयमा ७७ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । अहिले नेपालको भारतसँगको व्यापार ६ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ घाटामा छ ।

नेपालको व्यापार घाटामा रहेको शीर्ष पाँच देश

भारतसँगः ६ खर्ब ५१ अर्ब ८० करोड घाटा

चिनसँगः २ खर्ब १४ अर्ब ६५ करोड ५० लाख घाटा

युनाइटेड अरब इमिरेट्ससँगः १८ अर्ब ५२ करोड २७ लाख

युक्रेनसँगः १४ अर्ब ९० करोड ८४ लाख रुपैयाँ घाटामा

मलेसियासँगः १४ अर्ब १६ करोड १० लाख रुपैयाँ घाटामा

नेपालको व्यापार नाफामा रहेका पाँच देश

डेनमार्कसँगः ३९ करोड ६ लाख नाफा

अफगानिस्तानसँगः १८ करोड ९ लाख ३७ हजार रुपैयाँ नाफामा

नर्वेसँगः १० करोड ८४ लाख नाफामा

सुडानसँगः ३ करोड ४३ लाख रुपैयाँ नाफामा

मौरिटानियासँगः ३ करोड १० लाख रुपैयाँ नाफामा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर