ओमानमा चुकेको नेपालः को जिम्मेवार ? – Nepal Press

ओमानमा चुकेको नेपालः को जिम्मेवार ?

भारतमा मामूली टीमसँग तयारी गराउँदाको प्रतिकूल असर टीममा परेको त होइन ?

काठमाडौं । ओमानमा आयोजित एसीसी प्रिमियर लिगमा निराशाजनक प्रदर्शन गर्दै नेपाल दोस्रोपटक एसीया कप खेल्नबाट वञ्चित भएको छ । नेपाल तेस्रो पनि हुन नसकेपछि एसीसी इमर्जिङ कपको दौडबाट पनि बाहिरियो ।

पहिले-पहिले नेपाली टीमले अन्तर्राष्ट्रिय प्रतियोगितामा खराब प्रदर्शन गर्दा खेलाडीभन्दा पनि क्रिकेट संघमाथि प्रश्न गर्ने गरिन्थ्यो । संघले राष्ट्रिय टीमका खेलाडीहरूलाई न्यूनतम सेवा सुविधा नदिएको तथा नियमित अभ्यासको वातावरण नबनाएको भनेर फ्यानहरूले क्यानको आलोचना गर्थे । तर, अहिले त्यो अवस्था छैन ।

क्यानले खेलाडीलाई दिने सेवा-सुविधा निरन्तर बढाइरहेको छ । उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याचहरू पनि नियमित खेल्न पाइरहेकै छन् । त्यसैले अब प्रश्न क्यान होइन, सीधै खेलाडीमाथि उब्जिन थालेको छ । आखिर किन उनीहरूले आफ्नो स्तर अनुसार खेल्न सकेनन् ? अथवा देशबाहिर खेल्दा नेपाली टीमको वास्तविक स्तर नै यही हो ?

एसीसी प्रिमियर कपको समूह चरणमा नेपाल अपराजित रहेको थियो । तर, नेपालले उत्कृष्ट प्रदर्शन गरेर सेमिफाइनलमा पुगेको भन्न सकिने अवस्था छैन । हङकङसँगको म्याचबाहेक कुनै पनि खेलमा नेपालले आफ्नो प्रभूत्व देखाउन सकेन । साउदीअरब, कतार र मलेसियाले पनि नेपाललाई कडा टक्कर दिएका थिए ।

पहिलो खेलमा मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याउन नेपालले अन्तिम ओभरसम्म संघर्ष गर्नुपरेको थियो । अग्रपंतिका ब्याट्सम्यानहरूले खुलेर खेल्न सकेका थिएनन् । दोस्रो खेलमा कतारविरुद्ध दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा ६ छक्का हानेर नेपालको स्कोर २ सयमाथि नपुर्‍याएको भए नतिजा के हुन्थ्यो भन्न सकिन्न । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याउँदै कतारले दोस्रो इनिङमा १७८ रन बनाउन सफल भएको थियो ।

तेस्रो खेलमा हङकङमाथि नेपाल पूर्णरूपमा हावी भएकै हो । नेपालका बलरले ११४ रनमा हङकङलाई अलआउट गरेपछि नेपालले १२.२ ओभरमा नै दुई विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । अन्तिम खेलमा कमजोर साउदीअरब विरुद्ध पनि नेपालको ब्याटिङ लड्खडाएको थियो । ८ ओभरमा झारिएको खेलमा साउदीअरबले दिएको ७४ रनको लक्ष्य भेट्न पनि नेपाललाई हम्मे हम्मे पर्‍यो ।

सेमिफाइनलमा यूएईसँग र तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग गरेको प्रदर्शन निराशाजनक थिए । दुवै खेलमा नेपालको ब्याटिङ चल्न सकेन भने बलिङले पनि कुनै चमत्कार गर्न सकेन । जबकि पछिल्लो समय यूएई र हङकङ दुवैमाथि नेपालले प्रभूत्व जमाउँदै आएको थियो । दुवै खेलमा पहिलो ब्याटिङ गरेको नेपालले यूएईविरुद्ध ११९ रन मात्रै जोड्न सक्यो । यूएईले सजिलै लक्ष्य भेट्टायो । हङकङविरुद्ध जेनतेन १३९ रन बनाउन सफल भए पनि यो पर्याप्त भएन ।

प्रतियोगितामा नेपालका दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा र गुल्शन झा बाहेक कसैले पनि आशातित प्रदर्शन गर्न सकेनन् । खासगरी, नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल ‘बिग फ्लप’ बने । उनी तीनवटा खेलमा शून्यमा आउट भएर लाजमर्दो रेकर्ड राखेका छन् । अर्का ओपनर आसिफ शेख पनि चलेनन् । कप्तान रोहित कुमार पौडेल र मध्यक्रमबा विष्फोटक कुशल मल्लबाट पनि अपेक्षित प्रदर्शन नहुँदा नेपालको समग्र ब्याटिङ खस्केको थियो ।

आखिर नेपालको ब्याटिङ के कारणले फ्लप भयो त ? नेपालले यो प्रतियोगिताको ठीक अगाडि भारतमा गएर ‘तयारी’ गरेको पनि हो । तर, अहिले आएर उक्त कथित तयारीमाथि प्रश्न उठिरहेको छ । तयारीका नाममा नेपालको राष्ट्रिय टीमलाई भारतको स्टेट टीमसँग भिडाइएको थियो । नेपालसँग खेलाइएको भारतीय टीममा राष्ट्रिय टीमबाट खेलेका त परै जावस, रणजी खेलेका खेलाडी समेत थिएनन् ।

क्यानले ठूलै उपलब्धीजसरी प्रचार गरेको ‘भारत भ्रमण’ को नकारात्मक प्रभाव टीममा परेको लक्षणहरू देखिएका छन् । एउटा देशको राष्ट्रिय टीमलाई अर्को देशको लोकल टीमसँग खेलाउँदा खेलाडीहरूको मनोवैज्ञानमा असर परेन होला भन्न सकिन्न । तयारी भनेको आफूभन्दा बलिया टीमसँग खेलाएर गरिन्छ, कमजोरसँग होइन । कमजोरसँग खेलाउँदा आफ्नै स्तर खस्किने जोखिम हुन्छ । नेपाली टीममा कतै त्यस्तै भएको त होइन ?

यद्यपि, यसैलाई कारण देखाएर खेलाडीले उन्मुक्ति पाउन भने सक्दैनन् । उनीहरूले जिम्मेवारी लिएर खेल्न नसकेकै हुन् । त्रिवि मैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको नेपालले विदेशी भूमिमा भने एकरूपको प्रदर्शन गर्न सकिरहेको छैन । अब टी-२० विश्वकप संघारमा आइसक्यो । यो हारको झट्काबाट छिटोभन्दा छिटो बाहिर निस्केर नेपाली टीममा नयाँ ऊर्जा भर्नुपर्ने आवश्यकता टड्कारो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर