माओवादी केन्द्रको रिटर्नी सेन्टरको अध्यक्षमा सम्वाहाङ्फे निर्वाचित, ९० सदस्यीय केन्द्रीय समिति – Nepal Press

माओवादी केन्द्रको रिटर्नी सेन्टरको अध्यक्षमा सम्वाहाङ्फे निर्वाचित, ९० सदस्यीय केन्द्रीय समिति

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको भातृ संगठन रिटर्नी सेन्टर नेपालको अध्यक्षमा देवेन्द्र सम्वाहाङ्फे निर्वाचित भएका छन । सेन्टरको प्रथम महाधिवेशनमा भएको निर्वाचनमा प्रतिस्पर्धी मेजरकुमार राईलाई १८ मतले पछि पार्दै सम्वाहाङ्फे अध्यक्ष निर्वाचित भएका हुन् । पाँचथरका सम्वाहाङ्फेले ४७ र उदयपुरका राईले २९ भोट प्राप्त गरेका हुन् ।

निर्वाचनबाट अध्यक्षमा सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन भएको छ । सेन्टरको वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा ४ जना उपाध्यक्षमा भिम रोकाय (मुस्कान), कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नविराज खान चयन भएका छन् । यसैगरी महासचिवमा घनश्याम भट्टराई तथा दुई जना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन भएका छन् । एकमात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका छन् ।

यसैगरी सातै प्रदेशबाट एक–एक जना गरी सात सचिवमध्ये चार सचिव चुनिएका छन् भने बाँकी तीन सचिवको भने चुनिन बाँकी नै छन् । कोशी प्रदेश सचिवमा राम सन्जेल, मधेश प्रदेश सचिवमा बुद्ध स्याङ्गबो, लुम्बिनी प्रदेश सचिवमा दिनेश भुषाल र कर्णाली प्रदेश सचिवमा जनक परियार चयन भएका छन् । बागमती, गण्डकी र सुदूरपश्चिम सचिवमा भने चुनिन बाँकी छन् ।

बागमती, गण्डकी र सुदूरपश्चिम सचिव प्रदेश कमिटीले निर्णय गर्ने जनाइएको छ । चितवनमा सम्पन्न प्रथम महाधिवेशनको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चैत आठ गते उद्घाटन गरेका थिए । महाधिवेशनबाट ९० सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । तर पदाधिकारीमा सहमति नजुटेपछि वैशाख ८ गते शनिबार काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा निर्वाचन प्रक्रियाबाट चयन गरिएको छ । निर्वाचन प्रक्रियामा ७८ जनाको सहभागिता रहेको थियो ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई संगठित गर्ने उद्देश्यले माओवादी केन्द्रले कान्छो भातृ संगठनका रुपमा रिटर्नी सेन्टर नेपाल गठन गरेको थियो । यसको पहिलो राष्ट्रिय भेला २०८० साल जेठ २६ गते काठमाडौंमा भएको थियो । ६० भन्दा बढी जिल्लामा संगठन विस्तार गरेको र १० महिनाको बीचमा पहिलो महाधिवेशन गरिएको सेन्टरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर