विदेश पठाउने एजेन्टलाई अपहरण गरी बाँधेर कुटपिट, प्रहरीमा बुझाउन पुग्दा बाबु-छोरा पक्राउ – Nepal Press

विदेश पठाउने एजेन्टलाई अपहरण गरी बाँधेर कुटपिट, प्रहरीमा बुझाउन पुग्दा बाबु-छोरा पक्राउ

जनकपुरधाम । सिरहामा विदेश पठाउन एजेन्टको काम गर्ने सप्तरीका एक व्यक्तिलाई अपहरण गरी बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

अपहरण तथा कुटपिट आरोपमा ईलाका प्रहरी कार्यालय मिर्चैयाले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ३ का सिरिया यादव र उनका छोरा रुपेश यादव छन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका १० थलहाका ईश्वरदेव मुखियालाई अपहरण गरी कुटपिट गरेको आरोपमा सिरिया र उनका छोरा रुपेशलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार मुखिया विदेश पठाउने एजेन्टको काम गर्छन् । विदेश जान रकम दिएको र फिर्ता नगरेको भन्दै उनलाई सिरियाले छोरा रुपेशको सहयोगमा अपहरण गरी कुटपिट गरेका हुन्।

पक्राउ परेका बाबु–छोरामाथि पीडित मुखियाले अपहरण तथा शरीर बन्धक शीर्षकमा शनिवार नै प्रहरीमा जाहेरी दिएका छन् । डीएसपी बस्नेतले आज मुद्दा दर्ता हुने बताए ।

यसरी गरियो अपहरण र कुटपिट

वैशाख ६ गते शुक्रवार मुखिया मिर्चैया नगरपालिका १२ सिक्रोन गएका थिए । उनी ससुराली आएको सुइँको सिरियाले पाएका थिए ।

सिरियाले उनलाई अपहरणको योजना बनाए । छोरा रुपेशलाई मोटरसाइकलमा लिएर मुखियालाई अपहरण गर्न सिक्रोन पुगे । मुखिया भेटेलगत्तै बाइकमा राखे र आफ्नो घर ल्याए ।

मुखियालाई घरमा बाँधेर सिरिया र उनका छोरा रुपेशले निर्ममता पूर्वक कुटपिट गरे । त्यसपछि घरबाट बाहिर निकाले । र, बाहिर स्थानीयको भीडबीच कुटपिट गरे, जुन भिडिओ सामाजिक संजालमा पनि सार्वजनिक भएको छ ।

मरनासन्न हुनेगरी कुटपिट गरेर सिरियाले छोरा रुपेशकै सहयोगमा मुखियालाई मोटरसाइकलमा राखेर प्रहरीमा बुझाइदिन्छ भनेर ईलाका प्रहरी कार्यालय मिर्चैया पुगेका थिए । कुटिएका मुखिया होसमा थिएनन् ।

मिर्चैया प्रहरीले सोधपुछ गर्दा पीडितले आफूलाई अपहरण गरी बाँधेर कुटपिट गरेको पीडा पोखे । त्यतिबेला नै प्रहरीले सिरिया र उनका छोरा मनोजलाई नियन्त्रणमा लिए । र, मुखिया प्रहरी कार्यालयबाट अपरणमुक्त भए ।

विदेश (खाडी मुलुक) पठाइदिनु भनेर रुपेश र उनकै गाउँका मनोज यादवले मुखियालाई ५०/५० हजार रुपैयाँ दिएका थिए । तर केहि दिनपछि अब विदेश नजाने भन्दै दुबैजना रुपैयाँ फिर्ता माग्न थाले ।

मुखियाले मनोजको बैंक खातामा ६० हजार र रुपेशको बैंक खातामा ४० हजार फिर्ता गरे । रुपेशले १० हजार रुपैयाँ मनोजबाट लिन भनेका थिए । तर पछि उनीहरु दुबैजना मुखियासँग ब्याज माग्न थाले ।

मुखियाका एक आफन्तले भने, ‘पैसा फिर्ता गरिसकेको छ । तर ब्याज दिनुपर्छ भनेर रुपेश र उनका बुवा सिरियाले लफडा गरे । उनीहरु अपराधी चरित्रका व्यक्ति हुन् । हामीलाई पटक पटक अनेक धम्की दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *