मलामी बसलाई विराटनगर महानगरपालिकाले निःशुल्क इन्धन उपलब्ध गराउने – Nepal Press

मलामी बसलाई विराटनगर महानगरपालिकाले निःशुल्क इन्धन उपलब्ध गराउने

विराटनगर । मलामीका लागि निःशुल्क रूपमा सञ्चालित बसका लागि विराटनगर महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो ।

विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नं १० ले अन्सारी र ज्येष्ठ नागरिकको शनिबार सम्मान गरेको थियो । सो सम्मान कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मलामीका लागि सञ्चालित बसलाई मासिक इन्धन उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनले भने, “यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ । बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रूपमै उपलब्ध गराउनेछ ।”

ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई समाजले अनुशरण गर्नुपर्नेमा जोड दिँदै उनले भने ,“ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई अनुशरण नगरेकै कारण समाज पछाडि परेको छ, अनुभवसँगै ज्ञान, संस्कारसमेत ज्येष्ठ नागरिकबाट सिक्नु अहिलेको आवश्यकता हो ।” उनले महानगरपालिकाले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

महानगरले १९ वटै वडामा घरघर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गर्दै आएको छ । ज्येष्ठ नागरिकलाई सो अवसरमा कम्बल, छाता, हर्लिक्स, फलफूल प्रदान गरेर सम्मान गरिएको थियो । वडाभित्र बसोबास गर्ने एक सय जनालाई सम्मान गरिएको वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

कार्यक्रममा सम्मानित अन्सारीले ज्येष्ठ नागरिकलाई धार्मिकयात्रामा जानका लागि समेत निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *