सुनकोशी मरिण डाइभर्सन: सुरुङ खन्न ११० मिटर बाँकी – Nepal Press

सुनकोशी मरिण डाइभर्सन: सुरुङ खन्न ११० मिटर बाँकी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब ११० मिटर मात्रै बाँकी रहेको छ ।

तराई-मधेशका विभिन्न जिल्लामा १२ महिना नै सिंचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३.१९० किलोमिटर निर्माण भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २६ गते सुरुङको ब्रेक थ्रु गर्ने कार्यक्रम छ । ब्रेक थ्रुको आवश्यक तयारी भइरहेको छ ।

‘प्रधानमन्त्रीको समय मिलाइसकिएको छ र अन्य आवश्यक तयारी पनि भइरहेको छ’, आयोजना प्रमुख मित्र बरालले भने ।

सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भए पनि त्यसलाई समाधान गरेर अगाडि बढेको जानकारी उनको भनाइ थियो । आयोजना प्रमुख बरालले भने, ‘ग्राउटिङलगायतका विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ, सुरुङ निर्माण निरन्तर रुपमा अगाडि बढेको छ ।’

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोशी मरिणमा पनि टीबीएम मेसिन प्रयोग गरिएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन नियमित निर्देशन दिएका छन् । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ ।

निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिंचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले यसअघि नै निर्देशन दिएको थियो ।

प्रधानमन्त्री दाहालले नियमित रुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि काम गर्न सहज भएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आयोजनाको नियमित अनुगमन भइराखेको छ ।

आयोजना प्रमुख बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भएको छ । तर, अन्य काममा भने सोहीअनुसार भएको छैन ।

बाँध तथा विद्युत गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बीपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई ९०० मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इञ्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

आगामी वर्षाअघिसम्म बाँध निर्माणलाई एउटा स्तरमा पुर्‍याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जल सतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै विद्युत गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण भइसकेको छ ।

राष्ट्रिय गौरवको आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ ।

यसअघि सुरुङ निर्माणमा भौगर्भिक रुपमा रहेको जटिलताका कारण पटक पटक समस्या देखिएको थियो । सुनकोशी गाउँपालिका- ७ कानढुङ्गीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका- २ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिंचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध र विद्युत गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । -रमेश लम्साल/रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर