साबिक विजेता नेपाल सेमिफाइनलबाट बाहिरियो, एसिया कप खेल्ने सम्भावना समाप्त – Nepal Press

साबिक विजेता नेपाल सेमिफाइनलबाट बाहिरियो, एसिया कप खेल्ने सम्भावना समाप्त

काठमाडौं। साबिक विजेता नेपाल ओमान जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो ।

हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।

अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे। नेपालले केवल एक सय २० रनको लक्ष्य दियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो।

नेपालका ८ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। सन्दीप जोराले सर्वाधिक ५० रन जोडे। गुल्सन झाले २० र करन केसीले १७ रन बनाए। इनिङ्सको पहिलो बलमै कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए। रोहित पौडेलले १८ बलमा ५ रन जोडे भने आसिफ शेखले ८ रन बनाए। कुशल मल्ल ३ र दीपेन्द्रसिंह ऐरी ५ रन जोडेर आउट भए।

यूएईका जुनैद खान, अलि नासिर र बासिल हमिदले २र२ तथा आयान अफजल खान, मुहम्मद फारुक र ओमिद सफि रहमानले एक एक विकेट लिए।

यूएईले १७।२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। ओपनर एलिसान सराफुले सर्वाधिक ५५ रन बनाए। विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए। १२ रन जोड्दा पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो।

गुल्सन झाले २ तथा ललित नारायण राजवंशी र सोमपाल कामीले एक एक विकेट लिए। प्रतियोगिताको विजेता एसिया कपका लागि छनोट हुने छ।

नेपालले गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको थियो। यस पटक नेपालले समूहगत चरणका सबै ४ खेल जितेर विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *