खराब कर्जाको भूमरीमा बैंक तथा वित्तीय संस्था (सूची) – Nepal Press

खराब कर्जाको भूमरीमा बैंक तथा वित्तीय संस्था (सूची)

काठमाडौं । खराब कर्जाको भूमरीमा नेपालका बैंक तथा वित्तीय संस्था पर्न थालेका छन् । चालू आर्थिक वर्षको ९ महिनासम्म अधिकांश वाणिज्य बैंकको खराब कर्जा बढेको देखिन्छ । तेस्रो त्रैमाससम्म आइपुग्दा २० वटा वाणिज्य बैंकको खराब कर्जा औसतमा २.९८ प्रतिशत छ । गत वर्षको यसै अवधिमा बैंकहरुको औसत खराब कर्जा २.६ प्रतिशत थियो ।

बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा कम हुनुलाई सामान्य अवस्था मानिन्छ । तर, ५ प्रतिशतभन्दा माथि जानुले बैंकहरुको कर्जा लगानीको जोखिम उच्च देखाउँछ । नेपालमा अहिले लक्ष्मी सनराइज बैंकको खराब कर्जाले ५ प्रतिशतको सीमा नाघेको छ । तेस्रो त्रैमासमा यस बैंकको खराब कर्जा बढेर ५.४९ प्रतिशत पुगेको छ । जबकि गत वर्षको यसै अवधिमा लक्ष्मी सनराइजको खराब कर्जा १.८२ प्रतिशतमात्र थियो ।

यता हिमालयन र ग्लोबल आइएमई बैंकको खराब कर्जा पनि ५ प्रतिशत नजिक पुगेको छ । बैंकले नै प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा हिमालयनको ४.९६ र ग्लोबल आइएमईको ४.७४ प्रतिशत खराब कर्जा रहेको देखिन्छ । प्रभुको ४.८१, नेपाल बैंकको ४.८५, प्राइमको ४.२९ र राष्ट्रिय वाणिज्य बैंकको ४.३० प्रतिशत खराब कर्जा रहेको छ ।

बैंकिङविज्ञ भुवन दाहाल नेपाल राष्ट्र बैंकले बैंकहरुलाई पुनर्तालिकीकरण तथा पुनर्संरचनाको सुविधा दिएकाले वास्तविकभन्दा कम खराब कर्जा देखिएको बताउँछन् । बैंकहरुको वास्तविक खराब कर्जा १० प्रतिशतभन्दा माथि रहेको उनको अनुमान छ ।

उनी भन्छन्, ‘बैंकहरुलाई गाह्रो परेर राष्ट्र बैंकले पुनर्तालिकीकरणको सुविधा दिएको हो । त्यसले पनि बैंकहरुको वास्तविक खराब कर्जा बाहिर आएको छैन ।’

उसो त सन् २००१ मा नबिल बैंकको खराब कर्जा १६ प्रतिशत नाघेको थियो । तर, त्यो एक्कासि बढेको नभइ विस्तारै बढेर १६ प्रतिशतसम्म पुगेको विश्लेषकहरु बताउँछन् । त्यस्तो अवस्थाको नबिललाई त समस्या परेन भने अहिलेकै अवस्थामा आत्तिहाल्नु नपर्ने दाहालको धारणा छ ।

पछिल्लो समय देशभर व्याप्त आर्थिक शिथिलताको प्रतिविम्बको रुपमा खराब कर्जालाई लिइन्छ । तर, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल बैंकहरुको एकै पटकमा बढेको खराब कर्जा नभइ विस्तारै बढेको भएकाले यसलाई नकारात्मक टिप्पणी गर्न नमिल्ने बताए । उनका अनुसार नेपालका बैंक तथा वित्तीय संस्थामा दक्षिण एसियामै कम खराब कर्जा छ ।

केही समयअघि एउटा जमात नै बैंकविरुद्ध ऋण नतिर्ने भन्दै आन्दोलित थियो । जसका कारण समयमा ऋण नतिर्नेहरुलाई मलजल पुग्यो । समयमै ऋण नतिरे पनि उक्त ऋण खराब ऋणमा दर्ज भयो । अर्कोतर्फ वास्तवमै समस्यामा परेका ऋणीको राहतका लागि केही समय ऋणको पुनर्तालिकीकरण गर्ने समय राष्ट्र बैंकले दियो । यसले गर्दा अहिले बैंकहरुको वास्तविक खराब कर्जा बाहिर आएको छैन ।

बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा भनिन्छ । यसलाई नन-पर्फमिङ लोन (एनपीएल) पनि भनिन्छ ।

कुन बैंकको खराब कर्जा कति ?

 

८ वटा बैंकले बनायो लगानीकर्तालाई निराश

बैंकहरुमा लगानी गरेका लगानीकर्ताको शेयर आम्दानी पनि घटेको छ । बैंकको मुख्य मुख्य सूचक दबाबमा हुँदा प्रतिशेयर आम्दानीमा पनि दबाब परेको छ । एनआईसी एशिया बैंकको लगानीकर्ताको शेयर आम्दानी सबैभन्दा बढीले घटेको छ । गत वर्षको यसै अवधिमा ४६ रुपैयाँ ७६ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले १७ रुपैयाँ २९ पैसाले घटेको छ ।

यता नेपाल बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९९ पैसाले घटेको छ । प्रतिशेयर आम्दानीले कम्पनीले प्रत्येक शेयरबाट संकलित पूँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्छ । त्यसैले प्रतिशेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधार पनि हो । करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिशेयर आम्दानी भनिन्छ ।

कुन बैंकको प्रतिशेयर आम्दानी कति छ ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर