यूएईलाई एक वर्षयता स्तब्ध बनाइरहेका गुल्सन झा – Nepal Press

यूएईलाई एक वर्षयता स्तब्ध बनाइरहेका गुल्सन झा

काठमाडौं। ओमान जारी एसिसि प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा शुक्रबार नेपालसँग भिडिरहँदा यूएईलाई सबैभन्दा बढी टाउको दुखाइ हुने खेलाडी को होलान् ?

यूएईविरुद्ध भएका पछिल्ला प्रदर्शनहरुले अलराउन्डर गुल्सन झाको नाम पहिलो नम्बरमा आउँछ। गुल्सन पछिल्ला करिब एक वर्षयता यूएईमाथि सशक्त प्रदर्शन गरिरहेका छन्।

विश्वकप लिग-२ अन्तर्गत यूएईमाथि जित हात पारेर नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाउँदा गुल्सनले उल्लेख्य प्रदर्शन गरेका थिए। सन् २०२३ को मार्च १२ तारिखमा कीर्तिपुर मैदानमा भएको त्यस खेलमा नेपालले २ सय ४९ रनको लक्ष्य दिँदा गुल्सनले ३७ रन जोडेका थिए। उनले छैटौं विकेटका लागि आरिफ शेखसँग ३० र सातौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ४८ रनको साझेदारी गरेका थिए।

त्यस खेलमा यूएईलाई ७१ रनमा अलआउट गर्दै नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता चार वर्षका लागि जोगाएको थियो। त्यसको चार दिनपछि नेपाल फेरी यूएईसँग भिडेको थियो, कीर्तिपुर मैदानमै। यो खेल जितेमा नेपालले विश्वस्तरको छनोटमा सोझै स्थान बनाउने थियो। ३ सय ११ रनको लक्ष्य पाएको नेपालले गुल्सनकै कारण खेल जित्ने आशा जगाएको थियो।

खराब प्रकाशका कारण खेल रोकिन सक्ने सम्भावनाबीच नेपाललाई डकवर्थमा अगाडि रहनुपर्ने दबाब भइरहेका बेला गुल्सनले आवश्यक इनिङ खेलेका थिए। नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको अवस्थामा खेल रोकियो भने यूएई डकवर्थमा ९ रनले पराजित भयो।

गुल्सनले ४२ औँ ओभरमा २० रन जोडेका थिए, कप्तान मुहम्मद वासिमको बलिङमा। यो खेलमा गुल्सन ५० रनमा अविजित रहे। उनले आरिफ शेखसँग छैटौँ विकेटका लागि ४४ र सातौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग अविजित ४४ रनको साझेदारी गरेका थिए।

त्यसको झन्डै डेढ महिनापछि नेपाल र यूएई कीर्तिपुर मैदानमै एसिसि प्रिमियर कपको फाइनलमा भिडेका थिए। यो खेल जित्ने टोली एसिया कपमा छनोट हुने थियो। पहिला ब्याटिङ गरेको यूएई एक सय १७ रनमा अलआउट भयो। नेपालले ३०।३ ओभरमा लक्ष्य पुरा गर्दै गुल्सन ६७ रनमा अविजित रहे।

उनले भीम सार्कीसँग चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरेका थिए। गत नोभेम्बरमा नेपाल र यूएई टी(२० विश्वकपको एसियाली छनोटको सेमिफाइनलमा भिडेका थिए मुलपानी क्रिकेट मैदानमा।

यो खेलमा यूएईले एक सय ३५ रनको लक्ष्य दिएको थियो। नेपालले १७ बल बाँकी रहँदै लक्ष्य पुरा गर्‍यो र विश्वकपमा स्थान बनायो। गुल्सनले २२ रन जोडेका थिए। उनले आसिफ शेखसँग दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर