सुप्रिम सहकारीको एक अर्ब घोटला प्रकरण : ७ जनाको बयान सकियो – Nepal Press

सुप्रिम सहकारीको एक अर्ब घोटला प्रकरण : ७ जनाको बयान सकियो

रुपन्देही । बचतकर्ताको १ अर्ब रकम अपचलन भएको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूमध्ये ७ जनाको बयान सकिएको छ । मंगलबार र बिहीबार जिल्ला अदालत रुपन्देहीमा ७ जनाको बयान सकिएको हो ।

जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार यो मुद्दामा प्रतिवादी बनाइएकामध्ये ७ जनाको बयान सकिएको र १ जनाको बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ ।

१ नम्बर इजलाशमा मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको इजलासमा उनीहरुको बयान भएको हो । उनका अनुसार उक्त मुद्दा प्रतिवादी बनाएका २८ जनामध्ये निता थापा मगर, दीपक न्यौपाने, रोशनी गुरुङ र नवीन अछामीको बिहीबार बयान लिने काम भइरहेको छ । उनीहरूको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

अहिलेसम्म ओमप्रकाश गुरुङ, दिपेश पुन, रोशनी गुरुङ, निता थापा मगर, दुर्गा चापागाई पाण्डे, नविन अछामी, दीपक न्यौपानेको बयान सकिएको हो । अब ओमप्रकाश गुरुङको बयान बाँकी छ । उनको शुक्रबार बयान हुनेछ । थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायधिवक्ता मुक्तिराम सुवेदी र सहायक जिल्ला न्याधिवक्ता तेजप्रसाद पाण्डेले गरेका थिए ।

त्यसैगरी दिपेशकुमार पुनको तर्फबाट शिवप्रसाद गौडेल, रोशनी गुरुङको तर्फबाट अभिवक्ता कृष्णप्रसाद पोखरेल, निता थापाको तर्फबाट खेमबहादुर पुन, लालबहादुर बस्नेत, हेमराज शर्माले बहस गरेका थिए भने दुर्गा चापागाई पाण्डेको तर्फबाट शिव गौडेल, बाबुराम पाण्डे, जोखबहादुर खत्री तथा नविन अछामीको तर्फबाट होमराज पन्त, दिपक न्यौपाने, जोखबहादुर खत्रीले बहस गरेका थिए । शुक्रबार ओमप्रकाश गुरुङको बयान हुने र सरकारी वकिलले प्रतिउत्तर बहसपछि थुनछेक आदेश आउने जानकारी सूचना अधिकारी मरासिनीले दिए ।

सहकारीका पीडितहरुले सुप्रिम सहकारी पीडित संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका छन् । पीडितहरुले दुई दिनअघि बुटवलमा प्रदर्शनसमेत गरेका छन् । प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्नसमेत माग गरेका छन् ।

संघर्ष समितिका संयोजक विजयकुमार नेपालले आफूहरुले न्याय नपाएसम्म संघर्षलाई निरन्तरता दिने बताउँदै माग पूरा नभए काठमाडौँ गएर संसद घेराउ गर्नेसमेत चेतावनी दिएका छन् ।

प्रतिवादीहरू गितेन्द्रबाबु ९जीबी) राई, ओमप्रकाश गुरुङ, सागर केसी, भुपेन्द्र राई, देवेन्द्र राई र कुमार रम्तेलबाट एक करोड ५७ लाख ९६ हजार रुपैयाँ असुल गर्न माग दाबी गरिएको छ ।

यस्तै सहकारीमा संलग्न रहेका प्रतिवादीहरू दिनेश रोकाबाट तीन करोड ८० लाख, भविश्वर अर्यालबाट एकलाख ४० हजार, दुर्गा चापागाईं पाण्डेबाट १८ लाख, दिपक न्यौपानेबाट पाँच लाख ४५ हजार, हेमन्त अधिकारीबाट १३ लाख ५० हजार, कविता तामाङबाट एक लाख ५० हजार, नवीन अछामीबाट १० लाख, दिपेशकुमार पुनबाट तीन लाख, सुरज श्रेष्ठबाट दुई लाख ११ हजार माग दाबी गरिएको छ ।

यसैगरी, राज बरालबाट एक लाख ६६ हजार ९६३ रुपैयाँ, मझर मोहम्मदबाट ३४ हजार, असरफ अली सिद्धिकीबाट ३४ हजार, आशीष आनन्दबाट एक लाख ९५ हजार, बुद्धि गुरुङबाट १८ हजार ७००, भिरजकुमार दासबाट ६ लाख ३६ हजार रुपैयाँ गरी जम्मा चार करोड ६० लाख २७ हजार रुपैयाँ असुल गर्न माग दाबी गरिएको छ । यस्तै अन्य एक हजार २ जनालाई पक्राउ गरी ६ करोड एक लाख २३ हजार ७५४ असुल गर्न अभियोजनमार्फत माग दाबी गरिएको छ । समग्रमा एक अर्ब ७२ करोड ४३ लाख ४७ हजार ५०७ रुपैयाँ असुल गर्न माग दाबी गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर