सचिव बढुवाका लागि शर्मा र अधिकारीको एकल नाम सिफारिस – Nepal Press

सचिव बढुवाका लागि शर्मा र अधिकारीको एकल नाम सिफारिस

काठमाडौं । सचिव बढुवाका लागि दुई जना सहसचिवको नाम सिफारिस भएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवका लागि केदारनाथ शर्मा र लेखापरीक्षकतर्फ रिक्त एक सचिव (उपमहालेखापरीक्षक) वैकुण्ठबहादुर अधिकारीको एकल नाम बढुवाका लागि सिफारिस गरेको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम राया महालेखापरीक्षकमा नियुक्त भएसँगै रिक्त भएको सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका कायममुकायम प्रमुख सचिव शर्माको नाम एकल सिफारिस भएको हो ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कनबाट हुने ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस हुने व्यवस्था अनुसार वरिष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस भएको हो ।

यस्तै तत्कालीन कायममुकायम महालेखापरीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको विशिष्ट श्रेणी (उपमहालेखापरीक्षक) पदमा महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक एवं प्रवक्ता अधिकारीको नाम एकल सिफारिस भएको हो ।

सम्भाव्य उम्मेदवार नै अरू कोही नभएका कारण अधिकारीको नाम एकल सिफारिस भएको बढुवा सिफारिस समितिले जनाएको छ ।

बिहीबार दिउसो बस्ने मन्त्रिपरिषद् बैठकले शर्मा र अधिकारीलाई सचिवमा बढुवा गर्ने सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर