मकवानपुरमा टिपर आतंक : तीव्र गति र ओभरलोड, नियमनमा प्रशासनकाे किन छैन जाेड ? – Nepal Press

मकवानपुरमा टिपर आतंक : तीव्र गति र ओभरलोड, नियमनमा प्रशासनकाे किन छैन जाेड ?

हेटौंडा । तीनवटा सिमेन्ट उद्योगसहित तीन दर्जन बढी ढुङ्गा बालुवा उत्पादन गर्ने क्रसर संचालनमा रहेको मकवानपुरमा टिपर आतंकले स्थानीयहरु मारमा परेका छन् । अझ खानी क्षेत्रका बासिन्दाहरु त थप समस्यामा परेका छन् ।

जीर्ण सडक त्यसमाथि पनि तीव्र गति र ओभरलोडले भरिएको टिपरको कारण यहाँ प्रत्येक वर्ष दुर्घटना हुने गरेको छ । सिमेन्ट उद्योगको लागि प्रयोग हुने चुनढुंगा उत्खनन् क्षेत्र (खानी) बाट आवतजावत गर्ने टिपरले गाउँदेखि नगर क्षेत्रलाई आतंकित बनाएको भन्दै स्थानीयहरुले सरोकार समितिनै बनाएर पटक–पटक धर्ना, सडक बन्दको कार्यक्रम नै गर्ने गर्दछन् ।

तर स्थानीय प्रशासन र सरकारले नै समस्याको समाधानको प्रयास नगर्दा स्थानीयको माग सम्बोधन हुन सकेको छैन । व्यवसायीको राजनीतिक पावर र शक्तिको अगाडि नागरिकको मागको बेवास्ता हुने गरेको पीडित नागरिकहरुको गुनासो छ ।

हेटौंडा १ का सुमन गौतम भन्छन्, ‘सामरी पुलतिरबाट ओभरलोड टिपर आउँदा त्यसबाट ढुङ्गा खसेर लाग्छ कि भन्ने पीर हुन्छ, अझ घरका बालबच्चा रोड तिर निस्केको समयमा तीव्र गतिमा आएको टिपरले हान्देलाकी भनेर सधै चिन्ता लाग्छ ।’

टिपरको तीव्र गति र ओभरलोड नियन्त्रण गर्ने नियमनकारी निकाय नै व्यवसायीको संरक्षणमा रहेको आशंका यहाँका सर्वसाधारणले गरेका छन् । उनिहरु भन्छन्, ‘एउटा अटोमा थोरै सामान बढी भएको देख्ने ट्राफिक प्रहरीले प्रत्येक दिन ओभरलोड भएको टिपर किन देख्दैन ? यो सेटिङ नभए के हो त ?’

मकवानपुरको प्रहरी प्रशासनले बेलाबखत सडकमा टिपरमाथि जाँच गरेजस्तो गर्छ तर आतंक रोकिनको साटो अझ बढेकोमा आम नागरिक दुःखी छन् ।

मकवानपुर गढी –५ का राजिव फुयालले आफूहरुको गाउँमा टिपरले बस्न नसक्ने वातावरण बनाएको बताउँछन् । ढाला बन्दा निक्कै माथिसम्म कुनै सुरक्षा उपाए नगरी लोड भएर हुइकिने टिपरको ढुङ्गा खसेर लागेर कतिबेला मरिने ठेगान नहुने उनको भनाइ छ । कति पटक ढुङ्गा खसेर आफुहरु बालबाल बचेको उनले बताए ।

टिपरले ओभरलोड चुनढुंगा बोकेर हिँडेको गुनासो धेरै आएपछि करिब एक वर्ष अघि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । हेटौंडा–१ नम्बर वडा कार्यालयले पनि सो सम्बन्धमा ध्यानाकर्षण बुझाएको थियो । तर, उक्त पत्राचारप्रति नियमन गर्नेतर्फ प्रहरी गम्भीर नभएको हाल भइरहेको टिपरका आतड्ढले पुष्टि गर्दछ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले टिपर बारेको नियमित आउने गरेको स्वीकारे । उनले आफुहरुले समस्या समाधानको पहल गरिरहेको भन्दै यस्ताखाले टिपरलाई कानूनी दायरामा लाइने बताए ।

ओभरलोड बोकेको टिपरले आतड्ढ मच्चाएको भन्दै हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयले प्रहरी प्रशासनसमक्ष पत्राचार पनि गरेको तर, प्रहरीले टिपर नियन्त्रण गर्न छोडेर मुकदर्शक मात्रै बनेको वडाअध्यक्ष सविन न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेले सवारीको क्षमता अनुसारको लोड बोकेर बाटोको अवस्था हेरेर ठीक गतिमा नहिँडी यस्तै अटेर गरिरहे अब जनताको जीउज्यानको सुरक्षाको लागि सडकमा हेभी टिपर गुडाउन रोक्ने चेतावनी दिए ।

नेपालको सडकहरु १० मेट्रिक टन भारवहन गर्ने सवारीका लागि निर्माण गरिएको भएपनि ५० टनभन्दा बढी चुनढुंगा बोक्ने टिपरहरु निर्बाध चलिरहेका छन् । तर, प्रहरी प्रशासनको यसतर्फ कुनै ध्यान गएको छैन ।

नयाँ किन्दाको अवस्थाको टिपरको ढाला बराबरमात्रै चुनढुंगा बोक्न पाउने मापदण्ड भएपनि हाल ढाला थपेर त्यसमाथि पनि चुली लगाएर ढुंगा ओसारपसार गरिरहेका छन् ।

खानीबाट सामान ओसार्ने मकवानपुरमा टिपर आतंकबाट जिल्लाको मकवानपुरगढी गाउँपालिका, राक्सिराङ, मनहरी, हेटौंडाको वडा नम्बर १, ९, १०, १५, १६, १७ का बासिन्दा आक्रान्त छ्न । यस बाहेक क्रसरबाट उत्पादित सामग्री बोक्ने टिपरको कारण जिल्लाका अधिकाङ्श गाउँपालिका प्रताडित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर