भीमाको शव अस्पतालमै छाडेर फर्किए आफन्त, के भन्छन् डाक्टर ? – Nepal Press

भीमाको शव अस्पतालमै छाडेर फर्किए आफन्त, के भन्छन् डाक्टर ?

सुर्खेत । दैलेखको आठबीस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुगेकी थिइन् । उनी २८ गते बुधबार कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि पुगेकी हुन् । २९ गते बिहीबार बिहानै भीमा प्रदेश अस्पताल भर्ना भएकी थिइन् ।

पाठेघर सफा गर्दैगर्दा केही समयपछि अस्पतालले उनलाई एक्कासी मृत घोषणा गरेको भीमाका श्रीमान नवराज बलामीले जानकारी दिएका थिए । भीमाले स्थानीय क्लिनिकमा उपचार गर्दा पाठेघरमा समस्या देखाएको थियो । उक्त क्लिनिकले उनलाई प्रदेश अस्पताल रिफर गरेको थियो ।

पाठेघरको उपचार गर्न अस्पताल गएकी भीमाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले आन्दोलन गर्दै आएका थिए । परिवारलाई भेट्नै नदिई अचानक रगत अभाव भयो भन्दै रगत मगाउने गरेको र केही समयमै मृत घोषणा गरेको आफन्तले बताएका छन् ।

यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका थिए ।

आफन्तहरूले भीमाकी ८ महिनाकी छोरीको स्वास्थ, शिक्षा, परिवारका सदस्यमध्ये एक जनालाई रोजगारी, पालन पोषणको सबै जिम्मा लिनुपर्ने र घटनाबारे सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्नेलगायत माग राख्दै आएका थिए ।

तर, बुधबार भीमाको शव आफन्तहरुले अस्पतालमै छाडेर घर फर्किएका छन् । भीमाका आफन्तले राखेको माग अस्पतालले पूरा नगरेको भन्दै आफन्तहरुले भीमको शव प्रदेश अस्पतालको शव गृहमै छोडेर घर फर्किएका हुन् ।

बुधबार प्रेस विज्ञप्ति निकाल्दै भीमाका बुवा गोविन्दबहादुर गुरुङले शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता छलफल गर्दा पनि अस्पताल प्रशासनले यस विषयलाई गम्भिरतापूर्वक नलिएकाले शव नबुझेर घर फर्किएको जानकारी दिए ।

यता, प्रदेश अस्पतालका निर्देशक डाः डम्बर खड्काले बिरामीलाई बचाउलाई कोसिस गरेको र मृत्यु भइसकेपछि आफूहरुसँग यसको सरोकार नहुने बताएका छन् ।

हालसम्म सरकारी अस्पतालमा क्षतिपूर्ति दिने नगरेको डा. खड्काले जानकारी दिए ।

‘बिरामीलाई बचाउनका लागि हामीले प्रयास गर्ने हो’, डा. खड्काले भने, ‘यदि बिरामीको अन्तिम अवस्था छ, बाचेनन् भने त्यो पुलिस प्रशासन तिर जान्छ । सरकारी अस्पतालहरुमा क्षतिपूर्ति भन्ने हुँदैन । तर कारण पत्ता लगाउनका लागि पोष्टमार्टम गर्नु पछि त्यति शंका लाग्छ भने । अहिलेसम्म उहाँहरूले पोष्टमार्टम गर्नु भएको छैन । पोष्टमार्टम गरे पो पत्ता लाग्दा त यतिकै राखेर कसरी समस्याको समाधान होला ? हामीले त्यस्तो केही गल्ती देखेका छैनौं ।’

एम्बोलिजिम भएको बिरामीलाई बचाउन गाह्रो हुने डा. खड्काले बताए । शालको टुक्रा मुटुमा गएपछि बाँच्न असम्भव नै हुने बताए । भीमालाई पनि त्यस्तै भएको डा. खड्काको भनाइ छ ।

भीमालाई शालको ट्युमर भएको जानकारी दिए । ‘उक्त ट्युमर उछिट्टिएर कतिपयको मुटुमा गयो भने बिरामीको मृत्यु हुन्छ’, डा.खड्काले भने, ‘मुटुमा गएर फोक्सोमा पठाउँछ, फोक्सोमा बल्क भइदियो भने अक्सिजन सप्लाई नै बन्द हुन्छ ।’

भीमाको चार महिनाको गर्भ रहेको र ८ हप्तादेखि शालको ट्युमर बढेको डा.खड्काले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर