बिहेको अघिल्लो रात विष्णु टुप्लुक्क एलिनाको घरमा पुगेपछि… – Nepal Press

बिहेको अघिल्लो रात विष्णु टुप्लुक्क एलिनाको घरमा पुगेपछि…

घरबाट दुलाहाको पहिरनमा सजिएर हिँडेका विष्णुले झापा पुगेर गाडीमै लुगा फेरे

काठमाडौं । गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छन् । बागलुङका विष्णु सापकोटासँग उनले झापास्थित आफ्नै घरमा लगनगाँठो कसेकी हुन् ।

एलिनालाई सिन्दूर हाल्न विष्णु हिजै बागलुङबाट जन्ती लिएर हिँडेका थिए । विष्णु आफ्नो बुवा र एक जना साथीसहित प्लेन चढेर काठमाडौंतिर आए । जन्ती चाहिँ गाडीमै झापा लाग्यो ।

काठमाडौंको विमानस्थलमा आएर विष्णुले झापाको टिकट काटे । भद्रपुर जाने प्लेनको टिकट पाउन निकै धौधौ परेको थियो । माथिको सोर्स लगाएर बल्लतल्ल तीन वटा टिकट मिलाइएको विष्णुले बताएका छन् ।

विष्णु प्लेनमा जानुको उद्देश्य थियो, एलिनालाई सरप्राइज दिने । एलिनाले विष्णु जन्ती लिएर घरबाट हिँडेको त थाहा पाएकी थिइन्, तर उनीहरू भोलिपल्ट बिहान मात्र आइपुग्ने भनिएको थियो । विष्णु भने अघिल्लो दिनै पुगेर एलिनालाई ट्वाँ पार्न चाहन्थे ।

काठमाडौंबाट उडेर भद्रपुर विमानस्थलमा पुग्दा झमक्कै साँझ पर्‍यो । सामाजिक सञ्जालमा विष्णु बिहेको अघिल्लो दिनै झापा पुगेको खबर भाइरल भइसकेको थियो । भद्रपुर विमानस्थलमा ओर्लिएपछि विष्णुलाई लिन बेहुलीपट्टिबाट एउटा कार पठाइएको थियो, जसको खबर एलिनालाई थिएन ।

घरबाट दुलाहाको पहिरनमा हिँडेका विष्णुले कारभित्रै ड्रेस चेञ्ज गरे । माला फुकालेर थन्क्याए । अनुहारमा मास्क लगाएर उनी बेहुलीको घरमा प्रवेश गरेका थिए ।

एलिनाको घरभित्र मेहन्दीको सुरसार भइरहेको थियो । राति ९ बजेतिर अनपेक्षितरुपमा विष्णुलाई घरभित्र देखेपछि एलिनाको खुशीको सीमा रहेन । विष्णुले फूलगुच्छा दिएर एलिनालाई थप मक्ख पारे । एक छिन हाँसी मजाक र दोहोरी पनि चल्यो । राति अबेरसम्म मेहन्दी समारोह चलेको थियो ।

त्यसपछि विष्णु आफ्नो बुवा र साथीलाई लिएर नजिकै बुक गरिएको होटलमा सुत्न गए । बागलुङबाट गएको जन्ती भने बिहान मात्रै पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *