महानगरमा सुधारिँदै सामुदायिक विद्यालयको छाप, निजी विद्यालय छोडेर आउनेको थामिनसक्ने चाप – Nepal Press
भिडिओ

महानगरमा सुधारिँदै सामुदायिक विद्यालयको छाप, निजी विद्यालय छोडेर आउनेको थामिनसक्ने चाप

काठमाडौं । सामान्यतया सामुदायिक विद्यालय भन्नासाथ, कमजोर पूर्वाधार, समय निरपेक्ष शैक्षिक पद्धति, अनियमित कक्षा सञ्चालन आदी भन्ने भाष्य नेपाली समाजमा अझै यथावत् छ । यही भाष्यको फाइदा उठाउँदै विभिन्न निजी विद्यालयले मनपरी शैक्षिक शुल्क उठाइरहेको पनि जगजाहेर छ ।

तर काठमाडौं महानगरपालिकामा भने सामुदायिक विद्यालयको छवि र गुणस्तरमा निरन्तर सकारात्मक परिवर्तन देखिन थालेको छ । फलस्वरुप शैक्षिक सत्र २०८१ का लागि काठमाडौं महानगरका सामुदायिक विद्यालयमा निजी विद्यालय छोडेर पठन पाठनका निमित्त आउने विद्यार्थीहरुको संख्यामा उल्लेख्य मात्रामा बढोत्तरी देखिएको छ ।

रत्न राज्य माध्यमिक विद्यालयका प्राध्यापक रामशिष यादवका अनुसार नयाँ ‘सेसन’ को लागि भर्ना हुन आउने विद्यार्थीहरु मध्य अधिकांश निजी विद्यालय छोडेर आएका छन् ।

‘मसँग सम्पर्कमा आउनुभएका विद्यार्थी तथा अभिभावकहरुलाई मध्यनजर गरेर भन्नुपर्दा यहाँ भर्ना हुन आउने विद्यार्थीहरू अन्य सामुदायिक विद्यालयबाट भन्दा बढी निजी विद्यालय छोडेर आउनेहरू छन्,’ उनले भने ।

यादवका अनुसार विद्यालयमा विद्यार्थीहरुको चाप बढेका कारण प्रवेश परीक्षा सञ्चालन गरेर छनौट भएका विद्यार्थीलाई मात्र आरआरमा भर्ना लिने गरिन्छ । विद्यालय र विद्यार्थीको क्षमता अनुरूप भर्ना लिने भएकाले आर आर मा पढ्न चाहने सम्पूर्ण विद्यार्थीहरुलाई भने पढाउन नसकिएको यादवको भनाई रहेको छ ।

यस बाहेक महानगरले हालै मात्र सुरु गरेको ९० घण्टे सीप विकाश तालिमले पनि विद्यार्थीहरुलाई निकै फाइदा पुगेको यादवको दाबी रहेको छ ।

‘महानगरले अहिले जुन यो ९० घण्टे सीप विकाश तालिमको प्रबन्ध गरेको छ, त्यो आज भन्दा दश वर्ष पहिला सुरु गरेको भए, १२ सकिएपछि विद्यार्थीहरूले खाडीमा भेटौला भनेर लेख्न पर्ने अवस्था सिर्जना हुने थिएन । यस किसिमको प्रबन्ध काठमाडौंमा मात्र हैन देशभरका सामुदायिक विद्यालयमा लागु गरिनु पर्छ भन्ने मेरो धारणा हो’ उनले भने ।

काठमाडौं महानगरपालिकामा हाल ८७ वटा सामुदायिक विद्यालयहरू सञ्चालनमा रहेका छन् । जसमध्ये अधिकांशमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको छ । यस बाहेक काठमाडौं महानगरपालिकाको पहलमा सुरु भएको कक्षा तथा विद्यालय पूर्वाधार स्तरोन्नति, प्रविधियुक्त शिक्षा, दिवा खाजामा थप अनुदान, शिक्षक र विद्यार्थीलाई मनोसामाजिक परामर्श, शिक्षक तालिम, बुक फ्री फ्राइडे लगायतका कार्यक्रमले पनि अभिभावक तथा विद्यार्थीहरुको सामुदायिक विद्यालय प्रतिको नकारात्मक धारणालाई हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

शिवपुरी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश सुबेदीका अनुसार केही समय अगाडि सामुदायिक विद्यालयमा अतिरिक्त कार्यक्रमको कमी हुने भन्ने गुनासो आउने गरेपनि हाल त्यस्तो अवस्था छैन ।

‘विद्यार्थीको समग्र विकासका लागि अतिरिक्त क्रियाकलापको गहनतम भूमिका हुन्छ । पहिलाको समयमा सामुदायिक विद्यालयहरूमा पर्याप्त अतिरिक्त क्रियाकलाप हुँदैनन् भन्ने जनगुनासा आउने गरेको सत्य हो यद्यपि हाल त्यस्तो अवस्था छैन । महानगरको पहलमा सुरु भएको ‘बुक फ्री फ्राइडे’ हरित विद्यालय, सिप विकाश तालिम आदीलाई मध्यनजर गर्दा हाल निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा अतिरिक्त कार्यक्रमहरू बढी सञ्चालन भइरहको मैले महसुस गरेको छु,’ उनले भने ।

कक्षा ६ सम्म निजी विद्यालय पढाएर हाल आरआरमा आफ्नो सन्तानलाई भर्ना गराउन आएका अभिभावकले नेपाल प्रेससँग कुराकानी गर्दै भने, ‘अहिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पनि सुध्रिएको छ । तल्लो कक्षामा निजी विद्यालय पढाए पनि अब त्यही पढाउन पर्छ भन्ने अवस्था नरहेकोले मैले यहाँ भर्ना गराउन ल्याएको हुँ। शिक्षाको गुणस्तर पनि राम्रो । निजीमा एक महिनामा तिर्ने शुल्कले यहाँ वर्षभरको खर्च पुग्ने रहेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर