भतिजी पर्ने किशोरीलाई गर्भवती बनाएपछि हत्या, काका पक्राउ – Nepal Press

भतिजी पर्ने किशोरीलाई गर्भवती बनाएपछि हत्या, काका पक्राउ

डोटी । बैतडीमा भतिजी नाता पर्ने एक किशोरीमाथि पटकपटक जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पुर्चौडी नगरपालिकाकी १७ वर्षीया किशोरीलाई पटकपटक जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा उनका काका पर्ने ३० वर्षीय युवक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केसीले दिएको जानकारीअनुसार मृतक किशोरी चैत २८ गते जंगलमा मृत फेला परेकी थिइन् ।

तीन दिनदेखि बेपत्ता किशोरी मृत फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोजकुमार ठकुराठी नेतृत्वको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट काका नाता पर्ने ती युवकले ललाई फकाइ धाकधम्की दिइ किशोरीलाई पटकपटक बलात्कार गरेपछि किशोरी गर्भवती भएकी खुलेको थियो ।

घटनापछि मृतकका बुबाले हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका प्रहरी निरीक्षक केसीले जानकारी दिए । किटानी जाहेरीपछि आरोपी युवकलाई पक्राउ गरिएको उनले बताए । मृतक किशोरीको डडेल्धुरा अस्पतालमा गरिएको पोष्टमार्टबाट उनको पेटमा १८ हप्ताको गर्भ रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

गर्भवती रहेको थाहा पाएपछि  आरोपी युवकले किशोरीलाई गर्भपतन गर्न दबाब दिएका थिए । किशोरीले गर्भपतन गराउन नमानेपछि ति युवकले किशोरीलाई जंगलमा लगी ढुंगाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक प्रवक्ता केसीले बताए ।

अभियुक्तलाई हिरासतमा राखी थप अनुसन्धान गर्न जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर